काठमाडौं । व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लकडाउन र निषेधाज्ञा खुकुलो बनाउन आग्रह गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री ओली र व्यवसायीहरु बीच भएको भेटमा व्यवसायीहरुले लकडाउन र निषेधाज्ञा खुकुलो बनाउन आग्रह गरेको बताएका हुन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरेको जानकारी दिए । व्यापार नगर्ने, कर्मचारीलाई तलब खुवाउनु नपर्ने र खुरुखुरु तलब आइरहनेहरुले मात्रै लकडाउन गर्नुपर्ने वकालत गरिरहेकोमा प्रधानमन्त्री ओली पनि सहमत भएको श्रेष्ठले बताए ।
त्यस्तै अबको दिनमा आर्थिक क्षेत्र चलायमान नभए कोरोनाले नभई भोकमरीले मृत्यु हुने स्थिति आउन सक्ने धारणा सबै व्यवसायीहरुले राखेको श्रेष्ठले बताए । अहिले नयाँ युवापुस्ता व्यवसायमा लागेकाले उनीहरु निरुत्साहित हुने स्थिति आइसकेकोले सकारले छिट्टै नै पुर्नउत्थान गर्नुपर्नेमा जोड दिइएको बताए । व्यवसायीले राजश्व, ब्याज, घरभाडा, अफिस भाडा, कर्मचारी र श्रमिकको तलब तिर्नुपर्ने तर आम्दानी शुन्य हुनेस्थिति आएकाले आफूहरु समस्यामा परेको कुरा स्पष्टसँग राखेको श्रेष्ठको भनाइ छ ।
सरकारले गत जेठ महिनासम्मको स्थितिलाई हेरेर बजेट मार्फत ५० अर्बको स्टिमुलस प्याकेज ल्याएकोमा अहिले लकडाउन लम्बिदै जाँदा त्यसले नपुग्ने भएकाले २ खर्बको प्याकेज ल्याउन सुझाव दिएको पनि श्रेष्ठले जानकारी दिए । सरकारले पूँजीगत खर्च गर्न नसकेको रकम स्टिमुलस प्याकेजमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउन सहजिकरण गर्नुपर्नेमा श्रेष्ठको जोड छ । त्यस्तै नेपाल राष्ट्र बैंकले ल्याएको पुर्नकर्जा कोषलाई पुर्नसंरचना गर्नुपर्ने र अन्य व्यक्तिगत एवं साधारण कर्जालाई पनि पुर्नसंरचना गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको उनले बताए ।
व्यवसायीहरु आफ्नो व्यवसायलाई निरन्तरता दिन पाए जस्तो सुकै परिस्थितिमा पनि सरकारलाई राजश्व र कर तिर्न तत्पर रहेको कुरा समेत प्रधानमन्त्री ओलीलाई बताएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले व्यवसायीहरुसँग अर्थतन्त्रलाई खस्किन नदिने प्रतिवद्धता जनाएको पनि श्रेष्ठले बताए । व्यवसायी र प्रधानमन्त्री ओली बीचको भेटमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा समेत उपस्थित भएका थिए ।





























प्रतिक्रिया