बुधबार आन्तरिक उडान नियमित गर्न प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच सहमति

बुधबार आन्तरिक उडान नियमित गर्न प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच सहमति

केन्द्रबिन्दु
0
Shares

मंगलबार मध्यराती सहमति भएपछि बुधबार आन्तरिक उडान नियमित हुने भएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच मध्यरातमा बुधबार आन्तरिक उडान नियमित हुने सहमति भएको हो । प्राधिकरणका महानिर्देशकसहित वायुसेवा सञ्चालक संघका अध्यक्ष, उपाध्यक्ष, प्रवक्ता, नियमित उडान र हेलिकप्टरका प्रतिनिधिसहितको वार्तामा उडान नियमित गर्ने सहमति भएको हो । 

राति ११ बजेसम्म चलेको वार्तामा वायुसेवाले आन्तरिक उडान बन्द नगर्ने र प्राधिकरणले पनि वायुसेवाका जायज माग सम्बोधन गर्ने भएपछि उडान नियमित गर्ने सहमति भएको हो । त्यसका लागि छलफल बुधवार मध्याह्न १२ बजे प्राधिकरण केन्द्रीय कार्यालयमा हुनेछ । वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलका अनुसार आन्तरिक उडान खुला राखेर वार्तालाई निरन्तरता दिइने छ । 

वायुसेवा सञ्चालक संघले मंगलबार पत्रकार सम्मेलन गरी बुधबारदेखि आन्तरिकतर्फका सबै उडान अनिश्चितकालका लागि ठप्प पार्ने घोषणा गरेको थियो । प्राधिकरणले पनि पत्रकार सम्मेलन गरी हवाइ उडान ठप्प पारे कारवाही गर्ने चेतावनी दिएको थियो ।

Logo