अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएसँगै यसको सिधा असर लुव्रिकेन्ट्स बजारमा समेत देखिने भएको छ ।
कच्चा तेललाई प्रशोधन गरेर उत्पादन गरिने लुब्रिकेन्ट्सको मूल्य विश्व बजारमै वृद्धि हुन थालेपछि यसको सिधा असर नेपाली बजारमा समेत देखिन थालेको आयातकर्ता कम्पनीहरुले बताएका छन् । यसरी आयात गर्ने कतिपय कम्पनीले मूल्य वृद्धि गरिसकेका छन् भने कतिपयले भने यसअघिकै मूल्यमा पुरानो स्टक बिक्री गर्दै आइरहेका छन् ।
गल्फ ब्रान्डको लुब्रिकेन्ट्स उत्पादन गर्दै आइरहेको नेपाल ल्युब आयल लिमिटेडका महाप्रवन्धक गंगाराज भट्टराईले अन्तर्राष्ट्रिय बजारमै बेस आयल र फिनिस्ड गुड्सको मूल्य वृद्धि भैरहेका कारण यसको सिधा असर नेपाली बजारमा समेत पर्ने बताए ।
उनका अनुसार बजारमा अहिले कतिपय ब्रान्डले मूल्य वृद्धि गरिसकेका छन् भने कतिपयले पुरानो स्टकलाई यसअघिकै मूल्यमा बिक्री गरिरहेका छन् ।
‘ गल्फ लुब्रिकेन्ट्सको हकमा भन्नु पर्दा हामीले साउन १ गतेदेखि १० प्रतिशतको हाराहारीमा मूल्य वृद्धि गर्ने योजना बनाइसकेका छौ । कच्चा पदार्थमा भएको मूल्य वृद्धिलाई आधार मान्दा १० प्रतिशतले पनि नपुग्ने भएपनि कम्पनीको संचालक समितिले अन्य खर्च कटौती गरेर भएपनि मूल्य थोरै मात्राले बढाउने निर्णय गरेकाले तत्काललाई यतिमात्रै मूल्य बढाउने निर्णय लिएका हौ । ग्रिजको हकमा भने यसअघि नै ३० प्रतिशत भन्दा बढीले मूल्य वृद्धि भैसकेको छ’ उनले भने ।
नेपाली बजारमा एक सय भन्दा बढी ब्रान्डका लुब्रिकेन्टको कारोबार भइरहेको छ । नेपालमै उत्पादन हुने र अन्य देशबाट आयात गरिएका लुब्रिकेन्टको कडा प्रतिस्पर्धा छ । सवारी साधनको लागि ‘रक्तसञ्चार’ मानिने लुब्रिकेन्ट्सको बजार सवारी साधनको संख्या वृद्धि भए अनुसार नै बढ्दै आइरहेको छ ।































प्रतिक्रिया