वर्षमा ३ हजार ५ सय मोटरसाइकल बिक्री गर्न सुजुकीको ५८ डिलर

वर्षमा ३ हजार ५ सय मोटरसाइकल बिक्री गर्न सुजुकीको ५८ डिलर

केन्द्रबिन्दु
0
Shares

सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले अघिल्लो वर्ष अर्थात सन् २०२१ मा देशभर जम्मा ४ हजार हाराहारी मोटरसाइकल बिक्री गरेको छ । 

अतुल ब्रान्डको थ्री ह्विलरको समेत बिक्रेता रहेको यो कम्पनीले जम्मा ४ हजार ४ सय ५६ युनिट सवारीसाधन बिक्री गरेकोमा ४ सय ५६ युनिट थ्री ह्विलर बिक्री भएको अनुमान गर्दा मोटरसाइकलको संख्या यति हुने देखिएको हो ।
वर्षमा ४ हजार युनिट हाराहारी मोटरसाइकल बिक्री गर्न कम्पनीको देशभर ५८ वटा डिलर संचालनमा छन् । कम्पनी आफैले समेत ३ वटा शोरुम संचालन गरिरहेको छ । केयर रेटिङ नेपालका अनुसार कम्पनी आफैले ५ सय थान टु ह्विलर बिक्री गरेको रिपोर्ट सार्वजनिक हुँदै गर्दा वाँकी ३ हजार ५ सय युनिट डिलरमार्फत विक्री भएको देखिन्छ ।

५८ वटा डिलरले जम्मा ३ हजार ५ सय युनिट मोटरसाइकल र स्कुटर बिक्री गर्दा एउटा डिलरको भागमा वार्षिक औषत ६० थान मोटरसाइकल पर्ने देखिएको छ । यो भनेको एउटा डिलरले महिनामा जम्मा ५ युनिट मात्र बिक्री गर्ने गरेको प्रष्ट हुन्छ ।
महिनामा ५ युनिट मोटरसाइकल बिक्री गरेर ५८ वटा डिलर थेग्न कम्पनीमाथि दवाव सिर्जना भएको छ । एउटा डिलरले शोरुमको खर्च सहित कर्मचारी र अन्य शीर्षकमा गरी मासिक १ लाख भन्दा बढी खर्च हुने देखिन्छ । एउटा मोटरसाइकल बिक्री गर्दा डिलरले १५ हजार रुपैयाँ नाफा आर्जन गर्ने अनुमान लगाउने हो भनेपनि यी सवै डिलर नोक्सानमै चलिरहेको बिक्री आँकडाले पुष्टि गरेको छ ।
एक डिलर संचालकले सुजुकी मोटरसाइकलको बिक्री वढ्न नसकेका कारण डिलरसिप टिकाउन आफूहरुलाई हम्मेहम्मे परिरहेको बताए । उनका अनुसार यदि कम्पनीले बिक्री बढाउने रणनीति नल्याउने हो भने छिट्टै आधाभन्दा बढी डिलर बन्द हुने अबस्थामा रहेका छन् ।

उनले भने, ‘यो ब्रान्डको मोटरसाइकल तथा स्कुटरको माग बजारमा कम हुँदै गएका कारण कतिपय पुराना डिलर वन्द भैसकेका छन् भने नयाँ डिलरलाई समेत शोरुम धान्न हम्मेहम्मे परिरहेको छ । अहिले हामी नोक्सानमै चलिरहेका छौ । सोरुम र सर्भिस सेन्टर सहितको पूर्वाधार निर्माण गर्न ठूलो रकम खर्चनु परेको र उक्त रकम मोटरसाइकलको बिक्रीबाट उठ्ने स्थिति नदेखेका कारण अव के गर्ने भनेर सोचरहेका छौ । स्थिति यस्तै रहने हो भने नोक्सान वेहोरेरै भएपनि सोरुम वन्द गर्नुको अर्को विकल्प देखिँदैन ।’

नेपालमा मोटरसाइकलको डिलरसिप लिएर व्यवसाय गर्नुलाई कतिपय व्यपारीले ग्ल्यामरस विजनेशका रुपमा लिने गरेका छन् । जसका कारण कतिपयले आफ्नो स्टाटस मेन्टेन गर्नकै लागि भनेर पनि नोक्सानमै सोरुम चलाइरहेका छन् भने कतिपयले लगानी फसेको भन्दै भविष्यमा प्रतिफल आउने आशासहित जसोतसो शोरुम चलाइरहेका छन् । चल्तिका ब्रान्डको शोरुम चलाउन अधिकांश व्यवसायीले राम्रै मुनाफा समेत गरिरहेका छन् । बजारमा अहिले सुजुकीको जिक्सर १५०, जिक्सर एसएफ १५०, जिक्सर २५०, जिक्सर २५० एफ, हायते र इन्ट्रयुडर गरी कुल ६ वटा मोडलका मोटरसाइकल तथा एक्सेस १२५ र वर्गम्यान गरी कुल २ मोडलका स्कुटर उपलब्ध छन् । यीमध्ये सबैभन्दा बढी बिक्री हुने मोडलमा जिक्सर सिरिजका मोटरसाइकल पर्ने गरेका छन भने स्कुटरको कारोवारले खासै गति लिन सकिरहेको छैन ।

Logo