अमेरिकी कम्पनी ट्राइटनले हाइड्रोजन फ्युल सेलबाट चल्ने २ पाङ्ग्रे र ३ पाङ्ग्रे सवारी साधन भारतमा लन्च गर्ने घोषणा गरेको छ ।
कम्पनीले सो सवारी साधन भारतमा बिक्री गर्नुका साथै अमेरिका, युरोप र दक्षिण-पूर्वी एसियामा निर्यात गर्नेछ । हाल ट्राइटनले इलेक्ट्रिक कार, ट्रक र विशेष प्रयोजनका सवारीसाधन उत्पादन गरिरहेको छ । सवारी साधन निर्माता कम्पनी ट्राइटनले यस वर्ष मार्चमा गुजरातको भुजमा ६०० एकड जमिनमा आफ्नो पहिलो प्लान्टको निर्माण सुरु गरेको थियो ।
साे प्लान्टबाट कम्पनीले इलेक्ट्रिक र हाइड्रोजन फ्युल सेल गाडी उत्पादन गर्नेछ । कम्पनीले गुजरातको अहमदाबादमा अनुसन्धान र विकास केन्द्र पनि स्थापना गरेको छ । ट्राइटनले गत वर्ष भारतमा आफ्नो ८ सिटर एसयूभी ट्राइटन मोडल एच सार्वजनिक गरेको थियो । भारतीय बजारमा यो कम्पनीको पहिलो कार हुनेछ ।
कम्पनीले सो एसयूभीलाई निकै मस्कुलर डिजाइन दिइएको छ । यसको लम्बाई ५६९० एमएम, उचाइ २०५७ एमएम, चौडाइ १८८० एमएम र ह्विलबेस ३३०२ एमएम छ । सो एसयूभीमा ८ जनासम्म बस्न सकिन्छ । यसमा ५६६३ लिटरसम्म लगेज स्पेस दिइएको कम्पनीको दाबी छ । सो एसयूभीले करिब ७ टनको भार बोक्न सक्छ ।
ट्राइटन मोडल एच एसयूभीमा २०० केडब्ल्युएच क्षमताको ब्याट्री प्याक छ । सो ब्याट्री २ घण्टामा पूर्ण चार्ज हुने कम्पनीको दाबी छ । फुल चार्जमा, यो एसयूभीले १२०० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज दिन सक्षम रहेको कम्पनीले जनाएको छ ।





























प्रतिक्रिया