काठमाडौं ।
सर्वसाधारणले दैनिक उपभोग गर्ने तरकारीको मूल्य पसलैपिच्छे फरक रहेको सरकारी अध्ययनले देखाएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बिहीबार उपत्यकाका विभिन्न ३३ वटा तरकारीका खुद्रा पसल निरीक्षण गर्दा यस्तो भेटिएको हो ।
एकै ठाउँका पसलमा प्रतिकिलो औसतमा १० देखि १५ रुपैयाँ फरक देखिएको छ । गोलभेंडामा भने ६० देखि १ सय २० रुपैयाँसम्म फरक देखिएको विभागले जनाएको छ ।
‘मूल्यसूची संकलन, तरकारी पसलको निरीक्षण गर्दा हामी नै छक्क पर्यौं । बालकुमारीमा प्रतिकिलो ७५ रुपैयाँमा बिक्री भइरहेको बोडी जोरपाटीमा एक सय ४० रुपैयाँमा बिक्री भएको देखियो,’ विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रले भने, ‘तरकारी पसल २ घण्टा मात्रै खुला हुँदा महँगो भयो । अर्को कारण बिचौलिया पनि हुन् ।’
विभागले टोखा क्षेत्रका सातवटा तरकारी पसलमा अनुगमन गरेको थियो । त्यस क्षेत्रमा पनि मूल्य फरकफरक देखिएको छ । लक्ष्मी तरकारी तथा फलफूल पसलले एक धार्नी आलुको १ सय ७० रुपैयाँ तोकेकोमा मुन्ना तरकारी फलफूलले १ सय ५०, गुरुङ तरकारीले १ सय ८०, चौकीपारि तरकारी पसलले १ सय ९०, मुन्नाको भाइ तरकारी पसलले १ सय ८०, एमके फ्रुट तरकारीले १ सय ७० र रोशन स्टोरलले १ सय ७० रुपैयाँमा बिक्री गर्दै आएको पाइएको थियो । प्याजको मूल्यमा पनि २० रुपैयाँ फरक पाइएको थियो । एमके फ्रुट तरकारीले प्रतिकिलो ४० रुपैयाँमा बिक्री गरेको प्याज लक्ष्मी तरकारी तथा फलफूलले ६० रुपैयाँमा बिक्री गरेको थियो ।
‘सस्तोमा बेच्थ्यौं तर खोल्न दिइएन’
खुद्रामा तरकारीको मूल्य अस्वाभाविक रूपमा बढिरहँदा डिपार्टमेन्टल स्टोरहरूले भने सस्तोमा दिने दाबी गरेका छन् । उनीहरूले किसानको बारीबाटै सिधै खरिद गर्ने दाबी गर्दै सस्तोमा दिन सक्ने मूल्यसूचीसमेत निकालेका छन् । प्रतिकिलो प्याज ३९ रुपैंयाँ, गोलभेडा ५० रुपैंयाँ, काउली १ सय १० रुपैंयाँ र सल्यानको आलु ५९ रुपैयाँमा दिन सक्ने भाटभटेनी सुपरमार्केटका चिफ अपरेटिङ अफिसर पानु पौडेलले बताए ।कान्तिपुरबाट





























प्रतिक्रिया