बैंकहरुले आज भदौ १ देखि लागू हुने गरी आफूले प्रदान गर्ने ब्याज दरका साथै बैंकले ऋण प्रदान गर्दा लिने ब्याज दर सार्वजनिक गरेका छन् । यससँगै धेरैजसो बैंकहरुले आफूले दिने अटो लोन र यसको दर पनि सार्वजनिक गरेका छन् ।
सामान्यतः प्रतिवर्ष १५ प्रतिशत सम्मको अटो लोन दिने गरी ब्याज दर सार्वजनिक गरेका बैंकहरुले निजी र कमर्सियल सवारी साधनका लागि छुट्टाछुट्टै दर लिने गरेको छ । बैंकहरुले कर्जा स्थिर हुने र परिवर्तन हुने गरी दुई प्रकारले अटो लोन दिँदै आएका छन् ।
धेरै बैंकहरुले आफ्नो बेस रेट र त्यसमा थप गरेर ब्याज दर तोक्ने गरेका छन् । यस्तै स्थिर ब्याज दरमा निश्चित प्रतिशत नै ब्याज दर तोक्ने गरेका छन् ।
राष्ट्रिय वाणिज्य बैंकले यसरी गाडी कर्जा प्रदान गर्दा बेस रेट हालको ७.८६ प्रतिशतमा ५ प्रतिशत सम्म थप गरेर ब्याज लिने दर सार्वजनिक गरेको छ । यसका आधारमा बैंकले गाडी कर्जाका लागि १२.८६ प्रतिशत सम्म ब्याज लिनेछ । त्यसैगरी स्थिर ब्याज दर अन्तर्गत ७ वर्ष सम्मका लागि १३.५० प्रतिशत दर तोकेको छ ।
लक्ष्मी बैंकले बेस रेटमा ६ प्रतिशत सम्म जोडेर ब्याज दर तोकेको छ। हाल यसको बेस रेट ९.९९ प्रतिशत भएकाले १५.९९ प्रतिशत सम्म ब्याज दर हुनेछ । बैंकले स्थिर ब्याज दरमा भने १३.९९ देखि १५.९९ प्रतिशत सम्म ब्याज दर लिने बताएको छ ।
यसैगरी अन्य बैंकहरुले समेत निकालेको ब्याज दर हेर्दा सामान्यतः १५ प्रतिशतको हाराहारीमा अटो लोन उपलब्ध हुनेछ । केही वर्ष पहिले सम्म करिव ८ प्रतिशतकै हाराहारीमा रहेको अटो लोनको ब्याज दर हाल निकै बढेको छ ।





























प्रतिक्रिया