सार्वजनिक भयो एमजी फोर : यस्ता छन् आकर्षक विशेषता, गेम चेन्जर बन्ने सम्भावना

सार्वजनिक भयो एमजी फोर : यस्ता छन् आकर्षक विशेषता, गेम चेन्जर बन्ने सम्भावना

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । अटो उद्योग अहिले ठूलो परिवर्तनको चरणमा छ। पेट्रोल र डिजेलका कारहरू बिस्तारै इतिहासतर्फ धकेलिँदै गर्दा इलेक्ट्रिक भेहिकल (ईभी) ले भविष्यको गतिशीलता तय गरिरहेको छ। यसैबीच ब्रिटिश मूलको ब्रान्ड मोरिस ग्यारेज (एमजी) ले चीनमा सुरु भएको ‘२०२५ छेन्दु अटो शो’ मा आफ्नो नयाँ मोडल एमजी फोर प्रस्तुत गर्दै बजारमा नयाँ तरंग ल्याएको छ।

नयाँ एमजी फोरको सबैभन्दा चर्चित विशेषता भनेकै अत्याधुनिक सेमी सोलिड स्टेट ब्याट्रीप्याक हो। यो ब्याट्री सुरक्षित, टिकाउ र लामो दायरासहित आउने भएकाले यसलाई आगामी पुस्ताको ब्याट्री मानिएको छ। कम्पनीले यसको मूल्य १४ हजार अमेरिकी डलर तोकेको छ र यो भेरियन्ट यसै वर्षको अन्त्यदेखि ग्राहकसम्म पुग्ने अपेक्षा गरिएको छ।

यसैसँगै, अन्य भेरियन्टमा भने लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ। ती भेरियन्टहरूको सुरूवाती मूल्य मात्र ९,५६० अमेरिकी डलर तोकिएको छ। यति आकर्षक मूल्यमा उपलब्ध भएकोले कम्प्याक्ट ईभी बजारमा यसले कडा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ।

ईथ्री प्योर ईभी प्लेटफर्ममा बनेको एमजी फोर आकारले कम्प्याक्ट भए पनि डिजाइन र परफर्मेन्समा निकै दमदार छ। यसको लम्बाइ ४,३९५ एमएम, चौडाइ १,८४२ एमएम र उचाइ १,५५१ एमएम छ भने ह्वीलबेस २,७५० एमएम रहेको छ। यसले ५३० किलोमिटर सीएलटीसी रेन्ज दिन्छ र ब्याट्रीलाई २० मिनेटमै ३०% देखि ८०% सम्म फास्ट चार्ज गर्न सकिन्छ।

क्याबिन भित्र पनि भविष्यको संसारको अनुभव लिन सकिन्छ। कारमा १०.२५ इन्चको डिजिटल क्लस्टर र १५.६ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन जडान गरिएको छ। यसमा ओप्पो एक्स स्मार्ट कनेक्टिभिटी र क्वालकम स्न्यापड्रागन ८१५५ चिप को शक्तिबाट कारलाई झनै स्मार्ट बनाइएको छ।

सुरक्षामा पनि एमजी फोर अग्रणी छ। यसमा १२ अल्ट्रासोनिक रडार, ४ वटा सराउण्ड भ्यू क्यामेरा र ८ मेगापिक्सेलका फ्रन्ट तथा रियर क्यामेरा रहेका छन्। साथै, लेन किपिङ असिस्ट, लेन क्रस असिस्ट र इन्टेलिजेन्ट पार्किङ सिस्टम जस्ता फिचरहरूले यात्रुलाई सहज र सुरक्षित बनाउँछन्।

पावरका हिसाबले पनि यो कार निकै प्रभावशाली छ। १२० किलोवाट सिक्स–इन–वन इलेक्ट्रीक मोटर जडान गरिएको यसले १६१ हर्सपावर र २५० एनएम टर्क उत्पादन गर्छ। यसको उच्चतम गति १६० किलोमिटर प्रतिघण्टा छ। ब्याट्री अप्सनमा दुईवटा विकल्प उपलब्ध छन्। ४२.८ किलोवाट आवर ब्याट्रीले ४३७ किलोमिटर रेन्ज दिन्छ भने ५३.९ किलोवाट आवर ब्याट्रीले ५३० किलोमिटर रेन्ज प्रदान गर्छ। दुवै ब्याट्रीले फास्ट चार्जिङ सपोर्ट गर्छ।

१० हजार अमेरिकी डलरभन्दा कमको सुरूवाती मूल्य, आकर्षक डिजाइन, स्मार्ट टेक्नोलोजी र नयाँ ब्याट्री प्रविधिले एमजी फोरलाई कम्प्याक्ट ईभी बजारमा गेम चेंजर बन्ने सम्भावना प्रबल देखिन्छ। नेपालमा हाल पारामाउन्ट मोटर्स मार्फत एमजी फोर बिक्री भइरहेको छ। चीनमा सार्वजनिक भएको यो नयाँ भेरियन्ट पनि चाँडै नेपाल आउने निश्चितजस्तै छ, जसले नेपाली ईभी प्रयोगकर्तालाई थप विकल्प दिनेछ।

Logo