वृहत पुस्तक प्रदर्शनीबाट १६ लाखभन्दा बढी आम्दानी

वृहत पुस्तक प्रदर्शनीबाट १६ लाखभन्दा बढी आम्दानी


साझा प्रकाशनले गत पुस १७ गतेदेखि गरेको वृहत पुस्तक प्रदर्शनीबाट १६ लाख ३४ हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । 

साझा प्रकाशनले पुस १७ गतेदेखि साझा प्रकाशनको केन्द्रिय कार्यालय पुल्चोक र देशभरका साझा बिक्री कक्षहरुमा वृहत पुस्तक प्रदर्शनी गरिरहेको छ । सञ्चारकर्मीसँग कुराकानी गर्दै साझा प्रकाशनका सूचना अधिकारी भेषराज घिमिरेले प्रदर्शनीबाट २७ गते (हिजो) सम्ममा १६ लाख ३४ हजार ५८० रुपैयाँ आम्दानी गरेको जानकारी दिए । हालसम्म प्रदर्शनीमा करिव १ हजार जनाभन्दा बढी मानिसहरुले अवलोकन गरेको उनले बताए । उनले प्रदर्शनीबाट मुख्यगरी इतिहासका पुस्तकहरु धेरै बिक्री भइरहेको पनि बताए । 

प्रदर्शनीमा आफ्नो रुची अनुसारका पुस्तकहरु खोज्दै दैनिकहरुमा मानिसहरु आइरहेका सूचना अधिकारी घिमिरेको भनाई छ । 

पुस्तक प्रदर्शनीमा पुस्तक लिन पुगेकी पूर्णिमा गिरी आफूले हाल पुराना लेखकहरुको पुस्तक पढिरहेको र सोही अनुरुपका पुस्तकहरु लिनका लागि प्रदर्शनीमा आएको बताउँछिन् । उनले डिजिटल प्रविधिका कारण युवा पुस्ताहरुमा पठन संस्कृति कम हुँदै गएको सुनिएपनि भित्रि मनदेखि नै पढ्नुपर्छ भन्ने भावना बोकेकाहरुले पुस्तक पढ्ने गरेको धारणा राखिन् । 

त्यस्तै, पुस्तक प्रदर्शनीमा पुस्तक खरिदका लागि पुगेका सीताराम बडालले आफू प्रदर्शनीमा उपलब्ध भएका कितावहरुको आधारमा खरिद गर्ने पुस्तक छनौट गर्ने बताए । आफ्नो ज्ञानको क्षमता बढाउनका लागि पाठ्यक्रमभन्दा बाहिरका पुस्तकहरु पनि पढ्नुपर्नेमा उनले जोड दिए । 

उनले देशको कला , सस्कृति, साहित्य र इतिहासको बारेमा ज्ञान लिनु आवश्यक रहेको बताए । 

साझा प्रकाशनले गरेको पुस्तक प्रदर्शनी केन्द्रिय कार्यालय पुल्चोक र प्रदर्शनीमार्गसँगै धरान, बिर्तामोड, विराटनगर, जनकपुर, राजविराज, त्रिशुली, भरतपुर, पोखरा, बुटवल, दाङ र धनगढीका साझा प्रकाशनका बिक्री कक्षहरुमा पनि चलिरहेको छ । पुस्तक प्रदर्शनी पुस ३० गतेसम्म चल्नेछ ।

Logo