झापा अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरुको भेलाले विद्यालयको सहयोगार्थ १० लाखको अक्षय कोष खडा गर्ने अभियान संचालन गरेका छन् ।
काठमाडौंमा बस्दै आएका पूर्वविद्यार्थीहरुको भेलाले देश विदेशमा रहेका विद्यालयका पूर्व विद्यार्थीहरुलाई यस अभियानमा जोडिएर अक्षय कोषलाई बलियो बनाउन सहयोगको अपिल गरिएको शनिश्चरे मावि पूर्वविद्यार्थी समूहका तदर्थ समितीका संयोजक विजय देवानले बताए ।
अभियान संचालनमा केन्द्रित भेलामा उक्त माविकि पूर्वविद्यार्थी उपसभामुख इन्दिरा रानामगरले शनिश्चरे माविको विद्यार्थी भएको हिसाबले आफूले उक्त शैक्षिक संस्थालाई सदैव सहयोग गर्ने बताउँदै अर्जुनधारा नगरक्षेत्रका अन्य सामुदायिक विद्यालयलाई पनि यो अभियानले सहयोग गर्नुपर्ने बताइन् । अहिले पनि धेरै विद्यार्थी भोक भोकै विद्यालय जान बाध्य छन् । विद्यालय शिक्षा लिने गरिबका छोराछोरीलाई खाजाको व्यवस्था हुनसके पुन्यको काम हुने उपसभामुख रानाको भनाई थियो ।
कार्यक्रममा अर्जुनधारा नगरका प्रमुख बलदेवसिंह गोम्देनले अर्जुनधारालाई नमुना नगर बनाउने अभियानमा पनि लाग्न सबैलाई आग्रह गरे । शिक्षामा मात्र होइन्, सबै क्षेत्रमा अर्जुनधारालाई अगाडि बढाउन विद्यालयका पूर्व विद्यार्थीहरुको सहयोगको खाँचो रहेको उनको भनाई थियो । शनिश्चरे विद्यालयबाट दिक्षित पूर्व विद्यार्थीहरु अहिले मुलुकका विभिन्न तह र क्षेत्रमा निर्णायक स्थानमा रहेकाले आफ्नो विद्यालय र भुगोलको लागि योगदान दिन उनको आग्रह थियो ।
यस्तै, विद्यालयका प्रधानाध्यापक विनोदकुमार गौतमले विद्यालयको आमुल परिवर्तनका निम्ति थुप्रै योजना बनाएको बताउँदै अहिलेको अवस्थामा प्रविधिमैत्री विद्यालय बनाउन सबैको सहयोग चाहिने बताए ।
‘१० हजार पूर्वविद्यार्थीमध्ये प्रति विद्यार्थी एक हजार रुपैयाँ मात्र सहयोग गर्दा करोडभन्दा बढि संकलन हुने भएकाले त्यसले विद्यालय सुधारको कार्यक्रमलाई ठोस सहयोग पुग्ने देखिन्छ ।’ उनले भने, ‘ऐतिहासिक विरासत बोकेको शनिश्चरे विद्यालयलाई एकपटक सम्झन सबै पूर्वविद्यार्थीहरुलाई आग्रह गर्दछु ।’
पूर्वविद्यार्थी समूह तदर्थ समितीका संयोजक देवानले आफूहरुले पिकनिक गरेर जोगाएको ६० हजार रुपैयाँबाट यो कोषको परिकल्पना गरेको र इच्छुक पूर्व विद्यार्थीले प्रति महिना मासिक १ सय रुपैयाँ विद्यालयलाई सहयोग गर्दै १० लाखको कोष बनाउन सकिने बताएका थिए । यो अभियान पारदर्शी ढंगले संचालन गरिने र कोषलाई अझै समृद्ध बनाएर शनिश्चरेको शैक्षिक सुधार अभियानलाई तिब्ररुपमा लैजाने देवानले थपे ।
शनिश्चरेबाट उत्तिर्ण पूर्व विद्यार्थीका सबै ब्याच सम्मिलित समिती बनाएर यो अभियानलाई तिब्रता दिन उनले आग्रह गरेका थिए ।































प्रतिक्रिया