सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउन आवश्यक छः मन्त्री राई

सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउन आवश्यक छः मन्त्री राई

केन्द्रबिन्दु
0
Shares

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताएका छन् । 

शनिबार शिवपुरी माध्यामिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै मन्त्री राईले अर्थतन्त्र कमजोर अवस्थामा रहेको भन्दै आउने दिनमा शिक्षामा लगानीलाई अभिवृद्धि गर्न सरकारले सतर्कतापूर्वक र आवश्यकतालाई गम्भीरतापूर्वक आत्मासाथ गरेर अगाडि बढ्नुपर्ने बताएका हुन् । 

उनले भने, ‘शिक्षा आफैंमा विकास हो । सडक विजुली चाँहि विकासको पूर्वाधार र शिक्षा चाँहि आफै विकास पूर्वाधारको पनि पूर्वाधार । त्यसैले शिक्षामा गरिने लगानीलाई भएको बजेटबाट कति प्रोत्साहन गर्न सकिन्थ्यो होला तर हाम्रो अर्थतन्त्रको कमजोर अवस्था छ । आउने दिनमा शिक्षामा लगानीलाई अभिवृद्धि गर्न सरकारले सर्तकता पूर्वक आवश्यकतालाई गम्भीरतापूर्वक आत्मासाथ गरेर अगाडि बढ्नुपर्छ ।’

मन्त्री राईले अर्थतन्त्र सुदृढ भयो भने स्वतः शिक्षामा लगानी बढ्ने भन्दै अर्थतन्त्र सुदृढ गर्नुपर्ने बताए । उनले अहिले विज्ञान र प्रविधिको विकासले शिक्षाको भाष्य, शिक्षण प्रकृयाहरू परिवर्तन भएको उल्लेख गरे। 

‘अर्थतन्त्र सुदृढ भयो भने सरकारले शिक्षामा निश्चय रुपमा लगानी नगर्ने कुरा नै छैन् । अहिले विज्ञान र प्रविधिको विकासले प्रगतिले शिक्षाको भाष्य पनि फेरिने अवस्था भएको छ । शिक्षणको प्रकृया पनि फेरिदै गएको छ ।’ उनले भने, ‘शिक्षाका भाषा परिभाषाहरू मान्यताहरू धेरै फेरिएर आएछन् । पहिले पढ्न प्रोत्साहन हुँदैनथ्यो अहिले हलो जोत्नुपर्ने शिक्षाको अभिन्न विषयवस्तु रहेछ ।’

Logo