विद्यार्थीहरुको आकर्षक गन्तव्य बन्दै अष्ट्रेलिया, कसरी जाने ? (भिडियोसहित)

विद्यार्थीहरुको आकर्षक गन्तव्य बन्दै अष्ट्रेलिया, कसरी जाने ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अष्ट्रेलिया अन्तर्राष्ट्रिय विद्यार्थीहरुको हब बन्दै गएको छ । केही वर्ष यता अष्ट्रेलिया नेपाली विद्यार्थीहरुका लागि पनि प्रमुख शैक्षिक गन्तव्य बनेको छ । विश्वव्यापी मान्यता प्राप्त शैक्षिक डिग्री, लगानीको सुरक्षा, सहज जीवनयापन र रोजगारीको राम्रो अवसरका कारण अष्ट्रेलियाप्रति नेपाली विद्यार्थीहरुको आकर्षक बढेको हो । यीनै कारणहरुले गर्दा प्रत्येक वर्ष हजारौं नेपाली विद्यार्थीहरुले शैक्षिक गन्तव्यको रुपमा अष्ट्रेलिया रोजिरहेका छन् । अहिले नर्सिङ, आइटी, इन्जिनियर, हस्पिटालिटी, विजनेश, पब्लिक हेल्थ, प्रोजेक्ट म्यानेजमेन्ट विषयमा अध्ययन गर्ने योजना गरिरहेका नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया पहिलो विकल्प बनिरहेको छ ।

यति मात्र होइन, पढाई सकेपछि पीआर भीसाका लागि समेत आवेदन दिन सकिने भएकोले अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको पहिलो शैक्षिक गन्तव्यमा पर्ने गरेको छ । सरकारले ल्याएको विदेशी विद्यार्थीमैत्री नीतिले पनि पढ्न जानेका लागि अष्ट्रेलिया उपयुक्त गन्तव्य बन्दै गएको हो ।

नेपाल शैक्षिक परामर्शसंघ ईक्यानसँग प्राप्त तथ्याङ्क अनुसार, गत वर्ष नेपालबाट वैदेशिक शिक्षाका लागि जाने विद्यार्थीहरु मध्ये सबैभन्दा धेरै अष्ट्रेलिया गएका छन् । गत वर्ष मात्र नेपालबाट दश हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनका लागि अष्ट्रेलिया उडेका छन् । नेपाली विद्यार्थीहरु अष्ट्रेलियाका विभिन्न शहरहरु सिड्नी, मेलबर्न, एडिलेड, पर्थ, ब्रिस्बेन शहरहरुमा जाने गरेका छन् ।

अष्ट्रेलिया नै किन ?

अष्ट्रेलिया उत्कृष्ट शैक्षिक सुविधाहरुसहितको विशिष्ट देश हो । अष्ट्रेलियामा एक गुणस्तरिय शिक्षा प्रणाली रहेको छ जुन विश्वव्यापीरुपमा परिचित छ । त्यसैले अष्ट्रेलिया शैक्षिक अवसरहरुको उच्चस्तरको लागि प्रसिद्ध छ । अष्ट्रेलियाले १ हजार १ सय भन्दा बढी विश्वविद्यालय प्रदान गरेको छ । यस्तै अष्ट्रेलियामा शिक्षण शुल्क र जीवन खर्च अमेरिका र बेलायत जस्ता देशहरु भन्दा तुलानात्मक रुपमा कम छ । यहाँ अध्ययन गर्न चाहने विद्यार्थीहरुले कलेजको होस्टेल अथवा आफैं कोठा लिएर बस्न सक्ने विकल्पहरु रोज्न सक्छन् । यस बाहेक अष्ट्रेलियाको शैक्षिक डिग्री विश्वव्यापीरुपमा उच्च मान्यता प्राप्त र गुणस्तरिय शिक्षा प्रणाली रहेको छ भने, अष्ट्रेलियाका विश्वविद्यालय र कलेजहरुलाई सरकारले उच्चस्तरको शिक्षा प्रदान गर्ने कुराको मूल्याङ्कन गर्छ ।

यस्तै कलेजहरुले आकर्षक छात्रवृत्ति तथा सेवा सुविधा समेत प्रदान गराइरहने कारण धेरै विद्यार्थीहरु अष्ट्रेलिया जान लालयित भएका छन् । नेपालको शिक्षा प्रणाली भन्दा भिन्न सैद्धान्तिक तथा प्रयोगात्मक दुवै प्रणालीले पढाई हुने भएकाले विद्यार्थीहरु अष्ट्रेलिया जान चाहने ड्रिमर अजुकेसन कन्सल्टटेन्सीका सिइओ भीमबहादुर थापा बताउँछन् ।

कसरी जान सकिन्छ अष्ट्रेलिया ? कस्ता विद्यार्थी जान पाउँछन् ?

अष्ट्रेलिया विद्यार्थीहरुको शैक्षिक गन्तव्य भएपनि यहाँ अध्ययन गर्न जानका लागि शैक्षिकस्तर भने राम्रो हुनुपर्छ । पछिल्लो समय प्लसटुमा प्रथम श्रेणी नै चाहिने अवस्था छ, भने अंग्रेजी भाषामा दक्ष हुनुपर्छ । अष्ट्रेलिया जान चाहने विद्यार्थीको आर्थिक स्थिति पनि कम्तिमा शिक्षण शुल्क तिर्न सक्ने हुनुपर्छ । कलेज अनुसार शिक्षण शुल्क फरक फरक हुने तथा कलेजको ब्राण्ड, गुणस्तर जस्ता कुराले शुल्क फरक पर्न जान्छ । त्यसैले जान, अष्ट्रेलिया जानका लागि औसतमा १२ लाखदेखि २८ लाख रुपैंयाँसम्म खर्च लाग्ने परामर्शदाताहरू बताउँछन् । तर, विद्यार्थीले शुल्क तिरेर अष्ट्रेलियाको कुनै कलेजमा भर्ना भएपछि तिरेको पैसा डुब्ने सम्भावना भने हुँदैन । कलेज डुब्यो भने पनि सरकारले विद्यार्थीलाई न्याय दिलाउने काम गर्छ ।

कस्तो छ प्रक्रिया ?
शैक्षिक योग्यता
न्यूनतम कक्षा १२ पास गरेपछि मात्र उच्च शिक्षाको लागि अष्ट्रेलिया जान योग्य मानिन्छ । कक्षा ११ र १२ को अंक मिलाएर कुल ६० प्रतिशत वा सोभन्दा माथि ल्याएको हुनुपर्दछ । अथवा कतिपय कलेजले ५५ प्रतिशतसम्म अंक ल्याउनेलाई लिने गरेका छन् । यसका साथै विद्यार्थीले कक्षा १० को परिणाम पनि प्रस्तुत गर्नुपर्ने हुन्छ ।

आईईएलटीएस
आवश्यक शैक्षिक योग्यता पूरा भइसकेपछि विद्यार्थीले आईईएलटीएसको परीक्षा दिनुपर्ने हुन्छ । जसमा २ वर्षसम्म कायम रहन्छ । उक्त परीक्षामा विद्यार्थीले ६.० अंक ल्याउनु पर्नेछ । यदी कुनै विद्यार्थीले ५.५ अंक ल्याएको छ भने पनि उसले प्रक्रिया सुरु गर्न त पाउँछ तर, यस्तो अवस्थामा उसलाई कलेजले प्रस्ताव पत्र नदिने सम्भावना प्रवल रहन्छ ।

वित्तिय आवश्यकता
परिवारको आर्थिक स्रोत, घरजग्गाको वित्तिय मूल्यांकन सबै गरेर कम्तीमा ४० लाख सम्पत्ती देखाउनु पर्ने हुन्छ । यदि कलेजले मागे अनुरुपको शैक्षिक योग्यता र वित्तिय योग्यताको राम्रो मेल हुन सक्यो भने भिसा लाग्ने सम्भावना धेरै हुन्छ । जसमा एक वर्षको पढाइ शुल्क, त्यहाँ रहँदासम्मको स्वास्थ्य बीमा, एक वर्षको बसाई खर्च, १९ हजार ८ सय ३० अष्ट्रेलियन डलर, तथा रिटर्न टिकट (२ हजार अष्ट्रेलियन डलर) बुझाउनु पर्छ । साथै बैंकबाट लिएको लोन वा बैंक ब्यालेन्स वा आम्दानीको स्रोत देखाउनु पर्ने हुन्छ ।

प्रक्रिया
शैक्षिक योग्यता, वित्तिय आवश्यकता, अन्य आवश्यक कागजपत्रहरु तयार गरिसकेपछि एउटा भरपर्दो शैक्षिक परामर्श केन्द्रमा गएर काउन्सुलरको सल्लाह अनुसार प्रक्रिया अगाडि बढाउन सकिन्छ । अष्ट्रेलिया जाँदा परामर्श केन्द्रबाट नै सबै प्रक्रियाहरु गर्दा राम्रो हुन्छ । सबै कागजपत्रहरु तयार पारिसकेपछि आफूले छानेको कलेज र विषयमा आफू स्पष्ट हुनुपर्छ । उक्त कागजपत्रको आधारमा सबै कुराहरु पुष्टि भइसकेपछि कलेजले प्रस्ताव पत्र पठाउँछ । त्यसपछि सम्बन्धित कलेजले विद्यार्थीको वित्तिय प्रमाणिकरण माग्छ ।

प्रमाणिकरण पत्रलाई कलेजले स्वीकार गरिसकेपछि विद्यार्थीलाई ६ महिना वा एक वर्षसम्मको शुल्क तिर्नका लागि प्रस्ताव राख्छ । सामान्यतया विद्यार्थीहरुले १ वर्षको शुल्क बुझाउने गर्छन् । यी सबै कामहरु पूरा भइसकेपछि कलेजले सीओइ पत्र दिन्छ । सबै प्रक्रियाहरु पूरा भइसकेपछि अब भिसा मात्र बाँकी रहन्छ ।

विद्यार्थीले सबै कागजपत्रहरुलाई भिसा कार्यालयमा पठाउनु पर्छ जुन भारतमा छ । अन्तमा भिसा अधिकारीले सबै कुरा चेकजाँच गरेर सबै कागजपत्रहरु सत्य र विश्वसनीय भएमा भिसा प्रदान गर्छ । यदि कुनै विद्यार्थीप्रति कुनै कुराको शंका लाग्यो भने उनीहरुले फोन तथा स्काइपको माध्यमबाट सामान्य अन्तर्वार्ता समेत लिन सक्छन । भिसाका लागि अप्लाई गरेको १५ दिनदेखि १ महिनाभित्रमा सामान्यतयाः भिसा आइसक्छ ।

विगत केही वर्षदेखि विद्यार्थी भिसा र डिपेण्डेण्ट भिसामा अष्ट्रेलिया जानेको संख्या पनि बढेको छ । अन्य देशको तुलनामा अष्ट्रेलिया जान सहज, आवश्यक कागजपत्रको तयारी, विषय छनोट र डिपेण्डेण्ट भिसामा जान केही खुकुलो नियम भएकाले विद्यार्थीको आकर्षण त्यसतर्फ बढेको हो ।

डिपेण्डेण्ट भिसामा कसरी जाने अष्ट्रेलिया ?
अष्ट्रेलियामा जाने नेपाली विद्यार्थीमध्ये ३० प्रतिशत ‘डिपेण्डेण्ट भिसा’ मा रहेको अनुमान छ । ‘डेपेण्डेण्ट भिसा’ अर्थात विद्यार्थी सपरिवार बसेका छन् । अष्ट्रेलियाको कानुनी परिभाषा अनुसार परिवारभित्र पति, पत्नी र छोराछोरी पर्छन् । अध्ययनमा गएका विवाहित नेपाली पुरुष या महिलाले पाउने अतिरिक्त सुविधा हो ‘डेपेण्डेण्ट भिसा’ । एक वर्षभन्दा बढी समयका निम्ति ब्याचलर डिग्री, ब्याचलर अनर्स, मास्टर्स, मास्टर्स रिसर्च वा पीएचडी गर्न जाने विद्यार्थीले यो सुविधा पाउने गरेका छन् ।

विवाहित पत्नी होस् या पति जो पहिले अष्ट्रेलिया गएको छ या सँगै जान सक्छन् । अथवा पछि विवाह गरेर जान पनि सक्छन् । परिवारका सदस्य मात्रले विद्यार्थीसँगै वा पछि छुट्टै आवेदन दिन सक्छन् । यदि कुनै विद्यार्थी एक वर्षभन्दा लामो समयको कोर्श पढ्न जाँदैछ भने आफ्नो परिवारबाट टाढा रहन नपरोस् भनेर दिइएको सहुलियत भिसा हो यो । भिसा प्रक्रियाको सुरुमै विभिन्न प्रमाणित कागजागतहरू पेस गर्नुपर्ने हुन्छ । जसमा विवाह दर्ता प्रमाणपत्र, जन्मदर्ता, नाता प्रमाणित, विवाहको फोटो, घरजग्गाको आधार, संयुक्त बैंक खाता, विभिन्न चाडबाडसँगै मनाएको भिडियो, सीडी, भीसीडी, फोटो आदि पर्छन् । त्यसैगरी पति र पत्नीबीच हुने सम्बन्धजन्य फोन, इमेल, स्काइप, कुराकानी, विवाह वाषिर्कोत्सवको मिति जस्ता सम्बन्ध कायम रहेको प्रमाणहरू आवश्यक रहन्छ ।

सबै प्रमाण पुर्याएपछि डिपेन्डेन्ट व्यक्तिको भिसा प्रक्रिया सुरु हुन्छ । आफ्नो बालबच्चा रहेमा उसको समेत सबै कागजात रुजु हुनुपर्छ । भिसा शुल्क, स्वास्थ्य परीक्षण प्रमाणपत्र सबै जुटाउनु पर्ने हुन्छ । विद्यार्थीले मास्टर्स या त्योभन्दा माथिको कोर्स पढ्दै गरेको भएमा डिपेण्डेण्ट भिसामा अष्ट्रेलिया गएका परिवारका सदस्यले पूर्णकालीन काम गर्न पाउँछन् । मास्टर्सभन्दा तल्लो तहको अध्ययन गरेको भएमा परिवारका सदस्यले सातामा २० घण्टाको दरले काम गर्न पाउँछन् । यसैगरी विद्यार्थीले सातामा २० घन्टा काम गर्न पाउँछन् । छुट्टीको समयमा पूरै काम गर्न पाउँछन् ।

Logo