काठमाडौं विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीच चिकित्साशास्त्र अध्ययनमा सहकार्य गर्ने समझदारी भएको छ ।
सोमबार विश्वविद्यालयको केन्द्रीय परिसर, धुलिखेलमा आयोजित एक कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा तथा नेपाल प्रहरीका महानिरिक्षक बसन्त कुँवरले हस्ताक्षर गरे । समझदारी अनुसार दुवै पक्षले चिकित्सा तथा सम्बन्धित क्षेत्रमा शिक्षा, अनुसन्धान, तथा तालिम आयोजना गर्ने, विशेषज्ञ तथा प्राज्ञिक जनशक्ति आदान प्रदान गर्ने, शैक्षिक कार्यक्रम विकास गर्ने आदि कार्य गर्नेछन् ।
समझदारी पाँच वर्षका लागि मान्य हुनेछ ।
समझदारी हस्ताक्षर कार्यक्रममा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले काठमाडौं विश्वविद्यालय र नेपाल प्रहरीबीचको सहकार्यले नेपालको चिकित्साक्षेत्र सुदृढ बनाउनमा उल्लेखनीय सहयोग पुग्ने बताए । “नेपालमा २०७२ सालको भूकम्प र कोभिड महामरीका बेला स्वास्थ्यकर्मीको महङ्खव झन् उजागर भयो । अब प्रविधिको व्यापक प्रयोग गर्दे नेपालको चिकित्सा क्षेत्रलाई झनै चुस्त बनाउनुपर्ने आवश्यकता छ । त्यसतर्फ आजको सहकार्यले विशेष भूमिका खेल्नेछ,” उनले भने ।
विश्वविद्यालयका रजिष्ट्रार प्रा डा अच्युत वाग्लेले यो सहकार्य सबैका लागि सुखद् हुने बताए । “नेपालको चिकित्सा क्षेत्रमा झण्डै ५० प्रतिशत जनशक्ति काठमाडौं विश्वविद्यालयले उत्पादन गरेको छ, र यो जनशक्तिले नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरबाट पनि मान्यता पाएको छ,” उनले भने, “नेपाल प्रहरी अस्पतालसँगको अबको सहकार्य ऐतिहासिक हुनेछ ।”
नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले काठमाडौं विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीचको सहकार्य गौरवको विषय भएको बताए । “नेपाल प्रहरीको शैक्षिक सुधार एवं पाठ्यक्रम गुणस्तर वृद्धि, नेपाल प्रहरीका शिक्षकहरुको गुणस्तर र कार्य सम्पादनमा यसबाट सहयोग पुग्नेछ,” उनले भने । “यो सहकार्यले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजको रुपमा विस्तार गर्न, पोष्टग्राजुएट कक्षा शुरु गर्न र दुवै पक्षबीच रहेको ज्ञान, क्षमतालाई आपसी समझदारीमा विस्तार गर्दै जान मार्ग प्रशस्त भएको छ ।”
कार्यक्रममा विश्वविद्यालयका चिकित्सा शाष्त्र सङ्कायका डीन प्रा डा मनेज हुमागाईं तथा नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक डा. आशा शिंहको लगायत विश्वविद्यालयका विभिन्न सङ्कायका डीन, विभागीय प्रमुखहरु, तथा प्रहरीका उच्च अधिकारीको उपस्थिति थियो ।





























प्रतिक्रिया