बृहत ईक्यान शैक्षिक मेला आजदेखि शुरु, अनलाइनमा कसरी हुने सहभागी ?

बृहत ईक्यान शैक्षिक मेला आजदेखि शुरु, अनलाइनमा कसरी हुने सहभागी ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)को यस वर्षको बृहत १४ औं शैक्षिक मेला आजदेखि शुरु भएको छ । मेला ५ गतेसम्म सञ्चालन हुनेछ । भर्चुअल माध्यमबाट आज इक्यानका अध्यक्ष प्रकाश पाण्डेले मेलाको उदघाटन गरेका हुन् ।

विगत वर्षमा राजधानीको भृकुटीमण्डपमा आयोजना हुँदै आएको मेला यसपटक भने अनलाइनमार्फत शुरु भएको हो । कोरोना भाइरसको महामारीका कारण भौतिकरुपमा उपस्थित हुने अवस्था नभएपछि ईक्यानले अनलाइनबाटै बृहत शैक्षिक मेला आयोजना गरेको ईक्यानका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।

मेलामा १०० भन्दा बढी नेपालमा सञ्चालनमा रहेका इक्यानका सदस्य शैक्षिक परामर्श दातृ संस्था सहभागी भएका छन् भने विदेशी विश्वविद्यालय तथा कलेजका प्रतिनिधि पनि सहभागी भएको ईक्यानले जानकारी दिएको छ । मेलामा विद्यार्थी तथा अभिभावकहरुले विदेशी विश्वविद्यालय तथा कलेजमा हुने उच्च शिक्षाबारे सम्पूर्ण जानकारी घरमै बसेर लिन सक्नेछन् ।

अनलाइन मेलामा विद्यार्थीहरुले आफू अध्ययनका लागि जान चाहेको देश, मन परेको कन्सलटेन्सी वा सम्बन्धि कोर्श, छात्रवृत्ति, भाषा शिक्षाका कक्षा लगायत करिअर काउन्सिलिङबारे जानकारी तथा परामर्श लिन सक्नेछन् । मेलाको व्यवस्थापन वन अप प्रालिले गरेको छ ।

विगतमा मेला भौतिकरुपमा हुने भएकाले मेला लागेकै स्थानसम्म पुग्नु पर्ने बाध्यता थियो तर यसपटक त्यस्तो छैन । मेलामा सहभागी हुनेहरुले जुनसुकै ठाउँबाट पनि सहभागीता जनाउन र आफ्नो जिज्ञाशा मेटाउन सक्नेछन् ।

यसपटकको मेलामा नेपालभर सञ्चालनमा रहेका इक्यानका सदस्य रहेका शैक्षिक परामर्श दातृ संस्थाहरुको सहभागीता रहने भएकाले विद्यार्थीहरुले आफ्नो जिल्ला वा प्रदेशमा रहेको कन्सलटेन्सीका प्रतिनिधिहरुसँग प्रत्यक्ष कुराकानी गर्न पाउनेछन् ।

कसरी हुने सहभागी ?

विगतका दिनमा भौतिकरुपमा सञ्चालन हुने मेलामा सहभागि भइ त्यहाँ रहेका कन्सलटेन्सी, विदेशी विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग साक्षात्कार गर्न पाइन्थ्यो भने यसपटकको अनलाइन मेलामा विद्यार्थी र अभिभावकले आफू भएकै ठाउँबाट मोबाइल, ल्यापटप लगायतका ग्याजेटबाट प्रत्यक्षरुपमा साक्षात्कार गर्न पाउनेछन् ।

कम्पनीका अनुसार यसका लागि मेलामा सहभागी हुन चाहनेहरुले मेलाको आधिकारिक वेवपोर्टल www.ecanfair.com मा गएर रजिष्ट्रेसन गर्नुपर्ने हुन्छ ।

जसमा उनीहरुले आफ्नो नाम, ठेगाना, इमेल, सम्पर्क नम्बर लगायतका जानकारी भरेपछि आफूले रोजेको देश तथा कन्सल्टेन्सी रोजेर उनीहरुका प्रतिनिधिहरुसँग प्रत्यक्षरुपमा साक्षात्कार गर्न सक्नेछन् । मेलामा सहभागी हुन चाहनेहरुले माघ २ गतेदेखि ५ गतेसम्म अर्थात् जनवरी १५ तारिखदेखि १८ तारिखसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको जुनसुकै समयमा पनि सहभागीता जनाउन सक्नेछन् ।

Logo