काठमाडौं ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले उच्च शिक्षाका लागि अध्ययन गर्न जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनबाट ५८ जना विद्यार्थी फर्काइएको समाचारप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस विज्ञप्ति जारी गर्दै इक्यानले शिक्षा मन्त्रालयले जारी गरेको ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) गलत भएको आशंकामा ति विद्यार्थी फर्काइएको समाचार सार्वजनिक भएपछि इक्यानले शिक्षा मन्त्रालय र अध्यागमन विभागबीच आवश्यक समन्वय नभएको भन्दै सरकारी निकायको समन्वयात्मक व्यवस्थापन कमजोरीका कारण यात्रा गर्न नपाई मर्कामा परेका विद्यार्थीलाई पर्न गएको आर्थिक तथा मानसिक क्षतिपूर्ती उपलब्ध गराउन माग गरेको छ ।
इक्यानका अध्यक्ष प्रकाश पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘ईक्यानले नेपाल सरकार शिक्षा मन्त्रालय समक्ष बारम्बार यस सम्बन्धि आग्रह गर्दै आएपनि कतैबाट सुनुवाई नहुँदा निर्दोष विद्यार्थीले समस्या भोग्नु परेको छ । शिक्षा मन्त्रालयले ध्यान नदिँदा केही दलाल तथा बिचौलियाहरुले यसको फाइदा उठाउँदै नक्कली कागजात बनाएर सोझासाझा विद्यार्थीलाई फसाएको प्रष्ट हुन्छ । अतः यस्ता गलत क्रियाकलाप रोक्न शिक्षा मन्त्रालयबाट जारी हुने एनओसीलाई यथाशक्य अनलाइन प्रणालीमा लैजान र सम्बन्धित परामर्शदाता वा निवेदकको विवरण समेत समावेश गर्न इक्यानको माग छ ।’
इक्यानले एनओसी परीक्षणका लागि अध्यागमन विभाग समेतका सम्बन्धित नियमनकारी निकायहरुको सहज पहुँच हुन अनलाइन प्रणाली विकास गर्न समेत माग गरेको छ । विद्यार्थीले प्राप्त गरेको कागजात परीक्षण गर्ने सम्बन्धित सरकारी निकायको अव्यवस्थाका कारण मर्कामा पर्ने अवस्था जायज हुन नसक्ने भन्दै इक्यानले यसमा विद्यार्थीको कुनै दोष नदेखिने दावी गरेको छ ।
































प्रतिक्रिया