सङ्खुवासभा ५३ औँ साक्षर जिल्ला घोषणा

सङ्खुवासभा ५३ औँ साक्षर जिल्ला घोषणा

केन्द्रबिन्दु
0
Shares

सङ्खुवासभा ।

सङ्खुवासभालाई ५३ औँ साक्षर जिल्ला घोषणा गरिएको छ । कूल १० स्थानीय तह रहेको सङ्खुवासभालाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले शुक्रबार आयोजित कार्यक्रममा साक्षर जिल्ला घोषणा गरेका हुन् ।

कार्यक्रममा मन्त्री पोखरेलले सामुदायिक विद्यालयलाई सुधार गर्न जरुरी भएको बताए । शिक्षालाई श्रम, सीपलाई उत्पादन र रोजगारीसँग, उत्पादन र रोजगारीलाई समृद्धिसँग जोड्नुपर्ने धारणा उनले राखेका थिए । मन्त्री पोखरेलले विद्यार्थीलाई शिक्षाको उज्यालो घामको ज्योतिबाट वञ्चित हुन नदिने प्रतिबद्धता गरे ।

उनले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन स्थानीय सरकारले पनि सहयोग र सहकार्यबाट अघि बढ्न जरुरी भएको बताए । अबको शिक्षा राष्ट्रिय शिक्षा नीतिभित्रै रहेर चल्ने उनको भनाई थियो । जिल्लामा १५ देखि ६० वर्ष उमेरका ९५ दशमलव ६३ प्रतिशत नागरिक साक्षर भएका कारणले जिल्लालाई साक्षर घोषणा गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख केशव भट्टराईले जानकारी दिए। अन्य चार प्रतिशतलाई पनि आगामी वर्ष साक्षर बनाइने उनको भनाइ थियो ।

साक्षरताका लागि तोकिएका १२ मापदण्डमध्ये न्यूनतम ७ मापदण्ड पूरा गरेकाले जिल्लाका १० वटै स्थानीय तहलाई साक्षर घोषणा गरिएको हो ।
रासस

Skip This
Skip This
Logo