काभ्रेमा २०५ विद्यालय भवन हस्तान्तरण

काभ्रेमा २०५ विद्यालय भवन हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) काभ्रेले विद्यालय भवन निर्माणलाई तीव्रता दिनका साथै निर्माण सम्पन्न भएका भूकम्प प्रतिरोधी विद्यालय भवन हस्तान्तरण कार्यलाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको छ ।

चौथो ‘राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापना दिवस २०७६’ सम्म आइपुग्दा काभ्रेमा ०७२ को भूकम्प पश्चात भइरहेको विद्यालय भवन पुनःनिर्माणको क्रममा विद्यालय व्यवस्थापन समितिबाट निर्माण भइरहेका २१९ विद्यालय भवनमध्ये सम्पन्न भएर १७७ हस्तान्तरण गरिसकेको जिल्ला आयोजना कार्यान्वनय एकाइ (शिक्षा) काभ्रेका प्रमुख द्वारिका पोखरेलले जानकारी दिए । अरु बाँकी भवन प्रायः निर्माणको अन्तिम चरणमा रहेको र अब छिट्टै हस्तान्तरण गर्ने अभियानमा जुटिरहेको उनको भनाइ छ ।

त्यस्तै एशियाली विकास बैंक (एडिबी) को सहयोगमा जिल्लामा ४७ विद्यालय भवन निर्माण गर्ने जिम्मा पाएकामा अहिलेसम्ममा २८ निर्माण सम्पन्नपश्चात हस्तान्तरण गरिसकेको र बाँकी १९ निर्माणाधीन अवस्थामा रहेको जनाएको छ ।

एकाइ (शिक्षा) का इञ्जिनीयर सोभित श्रेष्ठका अनुसार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापना दिवस २०७६ को अवसर पारेर जिल्लामा भूकम्पपछि पुनःनिर्माण गरिएका विद्यालय भवन व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुका साथै बाँकी निर्माणाधीन भवन सम्झौता अनुसार तोकिएको समायमै निर्माणकार्य सम्पन्न गरी हस्तान्तरणको प्रक्रियामा लान आवश्यक निर्देशन दिइएको छ । स्थापना दिवसलाई अभियानकै रुपमा लिएर सम्पन्न भइसकेका विद्यालय भवन हस्तान्तरण गर्ने कामलाई उत्तिकै महत्वका साथ अगाडि बढाएको श्रेष्ठले बताए ।

भारतीय दूतावासले निर्माण गर्ने भनिएको १० विद्यालय भने अझै निर्माणकार्य शुरु भएको छैन । जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का अनुसार ती विद्यालय भवनका लागि ठेक्का आह्वान भइसकेको र केही हप्तापछि निर्माण कम्पनी छनोट भएर कार्यान्वयनमा अगाडि बढ्ने जनाएको छ ।
रासस

Skip This
Skip This
Logo