कक्षा १२ को नतिजा आज, बिहान १० बजे बोर्ड बैठक बस्दै

कक्षा १२ को नतिजा आज, बिहान १० बजे बोर्ड बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्जजनिक गर्ने भएको छ । त्यसका लागि सोमबार बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले केही समस्या नदेखिए सोमबार नतिजा सार्वजनिक हुने बताए । ‘आज (आइतबार) नतिजाको प्रक्रिया हेरेका छौँ, अहिलेसम्म ठीक छ, केही समस्या नदेखिए सोमबार नतिजा सार्वजनिक हुन्छ,’ उनले भने । आइतबार बसेको बोर्ड बैठकले नतिजाको ‘डमी’ हेरेको छ ।

बोर्डले यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णांकको मात्र परीक्षा लिएको थियो । ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकन गरिएको छ । परीक्षामा देशभरबाट चार लाख ३३ हजार दुई सय परीक्षार्थीले सहभागी हुन आवेदन दिएका थिए ।

बोर्डले गत पुस मध्यसम्ममा कक्षा १२ को नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको थियो । तर, परीक्षा भद्रगोल भएकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । होम सेन्टरमा परीक्षा चलेको र उत्तरपुस्तिकासमेत विद्यालयमै परीक्षण भएर बोर्डमा आएका थिए । ती व्यवस्थित नहुँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक हुन सकेको थिएन ।

देशभरका चार हजार एक सय पाँच परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । कोभिड– १९ का कारण यस वर्षको परीक्षामा पूर्णांक र समय घटाएर राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन गरेको थियो । कक्षा १२ को परीक्षामा सहभागी हुने सबै विद्यालयमा होमसेन्टर कायम गरिएको थियो ।

राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले ८ वैशाखबाट परीक्षा सञ्चालन गर्ने गरी मिति तय गरेका थिए । पछि कोभिड–१९ का कारण स्थगित गरिएको परीक्षा ९ मंसिरदेखि सञ्चालन गरिएको थियो । कोभिड संक्रमणको जोखिम हुने भएकाले भौतिक दूरी कायम गर्दै स्वास्थ्य सम्बन्धी मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गरिएको थियो ।नयाँ पत्रिकाबाट

Logo