लामो समयपछि शिक्षक लाईसेन्सको विज्ञापन खुल्यो

लामो समयपछि शिक्षक लाईसेन्सको विज्ञापन खुल्यो

केन्द्रबिन्दु
0
Shares

भक्तपुर । लामो समयदेखि रोकिएको शिक्षक लाईसेन्सको विज्ञापन खुलेको छ । शिक्षक सेवा आयोगले माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन खोलेको हो ।

प्रावि र निमाविमा तालिम प्राप्त हुनुपर्ने तर माविको हकमा तालिम प्राप्त सँगै अप्राप्तले पनि लाईसेन्सको परीक्षामा सहभागिता जनाउन सक्ने आयोगका प्रशाशकीय प्रमुख डा. तुलसी थपलियाले जानकारी दिए ।

कुनै खास विषयमा हुने शिक्षक अभाव हटाउन शिक्षा ऐनमा भएको व्यवस्थाका आधारमा मावि तहका निश्चित विषयमा शिक्षक हुन चाहने विद्यार्थीलाई तालिम नभए पनि हुने व्यवस्था कार्यान्वयन गर्न पहिलो पटक यस्तो व्यवस्था गरिएको थपलियाको भनाई छ । आयोगले साविकका उच्च मावि तहका शिक्षकहरुका लागि पनि आवश्यक लाईसेन्सको परीक्षा व्यवस्था गरेको हो ।

जस अनुसार माध्यमिक तहको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ३ सय पूर्णाङ्क सहित आयोगबाट स्वीकृत भएका पाठ्यक्रमहरु मध्ये कुनै एक विषय (नेपाली, सामाजिक, विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, वाली विज्ञान र पशु विज्ञान) मा स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकको हैसियतले अस्थायी अध्यापन अनुमतिपत्र लिइसकेका शिक्षकहरूका लागि मात्र उक्त विज्ञापन गरिएको हो ।

यस्तै माध्यमिक तहकै अर्को विज्ञापनका लागि तालिम नभए पनि हुने व्यवस्था गरिएको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, कृषि (बाली) विज्ञान र पशु विज्ञान मध्ये कुनै एक विषयमा कम्तीमा ३ सय पूर्णाङ्क सहित स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले यस परीक्षामा सहभागिता जनाउन सक्ने छन् ।

त्यस्तै प्राथमिक तहको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम वा ४ सय पूर्णाङ्कको शिक्षा विषय लिई माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेको, र निम्न माध्यमिक तहको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा २ सय पूर्णाङ्कसहित परीक्षा दिन चाहेको कुनै एक विषय (नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक) मा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम लिएको हुनु पर्नेछ ।

लाईसेन्सका लागि असार २२ गते सम्म फारम भर्न सकिने आयोगले जनाएको छ । दोब्बर दस्तुर तिरी असार २९ गते सम्म फाराम भर्न सकिनेछ । पछिल्लो पटक मावि र निमाविको लाईसेन्स २०७२ सालमा र प्राविको लाईसेन्स २०६८ सालमा खोलिएको थियो ।

[pdf-embedder url=”https://kendrabindu.com/wp-content/uploads/2023/12/001_लाइसेन्सको-विज्ञापन_kendrabindu.pdf& title=”001_लाइसेन्सको विज्ञापन_kendrabindu”]

 

Logo