सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा

केन्द्रबिन्दु
70
Shares

गोरखा : गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा गरेको छ।

विद्यालय भर्ना अभियान सञ्चालन भइरहेका बेला नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिकाको आकर्षण बढाउन परिवारका सदस्यको रु एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए।

“नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा शैक्षिकसत्र २०८१ का लागि कक्षा १ मा छोराछोरीलाई भर्ना गराउने अभिभावकलाई नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको छ”, उनले भने, “यसले बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ भन्ने चेतनाको विकास पनि गर्न सकोस् भन्ने पनि चाहाना हो।”

सामुदायिक विद्यालयमा घट्दो क्रममा रहेको विद्यार्थी संख्यालाई बढाउन नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमाको नयाँ नीति ल्याएको नगरप्रमुख रानामगरको भनाइ छ। “पछिल्लो समय कमजोर आर्थिक अवस्था भएका अभिभावकले मात्र छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने अवस्था छ”, उनले भने, “यसले आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग पनि पुग्ने र सरकारी विद्यालयमा बालबालिका पढाउनुपर्छ भन्ने भावना जागृत गराउन पनि मद्दत पुग्छ भन्ने विश्वास छ।”

कार्यक्रम कार्यान्वयन गर्न चालु आर्थिक वर्षका लागि नगरपालिकाले रु १० लाख बजेट विनियोजन गरेको छ। विनियोजित बजेट अपुग भए थप गर्न सकिने उनले बताए। विनियोजित बजेटअनुसार विद्यार्थी भर्नासँगै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम हुँदा नगरपालिकाभित्रका दुई सय ८५ परिवार लाभान्वित हुनेछन्।

आगामी आर्थिक वर्षदेखि अन्य कक्षामा पनि सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने योजना नगरपालिकाले बनाएको नगरप्रमुख रानामगरले जानकारी दिए। यो कार्यक्रमले सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाको स्वास्थ्य र शिक्षा दुवै निःशुल्क हुने उनको भनाइ छ।

Logo