विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र मात्र हैन, रोजगारीको पनि सुनिश्चितता हुनुपर्‍योः प्रिन्सिपल अवस्थी

विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र मात्र हैन, रोजगारीको पनि सुनिश्चितता हुनुपर्‍योः प्रिन्सिपल अवस्थी

केन्द्रबिन्दु
490
Shares

लिटल एन्जल्स कलेजका प्रिन्सिपल हुन्, कृष्णदत्त अवस्थी । थुप्रै शैक्षिक संस्थामा आबद्ध भई शैक्षिक क्षेत्रमा करिव चार दशकको यात्रा तय गरिसकेका अवस्थी विद्यार्थीको जीवन र भविष्यसँग जोडिएको शिक्षा सुधारका निमित्त सम्बन्धित सरकारी निकाय संघ, संस्था, निजी क्षेत्र लाग्नु पर्ने बताउँछन् । नेपालको शैक्षिक प्रणालीको सुधारका निमित्त कुनै कसुर बाँकी राख्न नहुने बताउने उनी गुणस्तर शिक्षामा फोकस भई लिटल एन्जल्स कलेजमा पठनपाठन भइरहेको स्मरण गराउँछन् । उनै अवस्थीसँग नेपालको वर्तमान शैक्षिक प्रणाली, उनी संवद्द कलेजमा पठनपाठन हुने संकाय, शिक्षा क्षेत्रमा देखिएका समस्या, अवसर लगायतका सन्दर्भमा केन्द्रबिन्दुकर्मी समीक्षा कट्टेलले लिएको अन्तर्वार्ताको सम्पादित अंशः

तपाईंको शैक्षिक क्षेत्रको यात्रा निकै लामो छ । अहिले लिटल एन्जल्स कलेजमा प्रिन्सिपलको भूमिका हुनुहुन्छ । खासमा लिटल एन्जल्स कस्तो शैक्षिक संस्था हो ? यो कलेजमा विद्यार्थीले किन पढ्ने ?

-शैक्षिक क्षेत्रसँगको मेरो यात्रा निकै लामो छ । यस क्षेत्रमा मैले करिव चार दशक भन्दा बढी समय बिताइसकेको छु । यो लामो अनुभव, अध्ययन र अध्यापनपछि अहिले मैले लिटल एन्जल्स कलेजको प्रिन्सिपलको नेतृत्व सम्हालिरहेको छु । झन्डै ४० वर्ष अगाडि स्थापना भएको यो संस्था ललितपुरको हात्तीवनमा अवस्थित छ । यस कलेजमा अहिले झन्डै आठ हजार विद्यार्थी अध्ययनरत छन् ।

आठ सय शिक्षक रहेको यस कलेजमा तीन सय रोपनी क्षेत्रफलमा फैलिएकाे छ । एकेडेमीक र नन् एकेडेमीक इसीए, सीसीए जस्ता क्रियाकलापमा सहभागी हुन इच्छुक विद्यार्थीका लागि आवश्यक विषयहरू यस संस्थाले उपलब्ध गराएको छ ।

हामी २०औं वर्षदेखि कक्षा ११ र १२ अध्ययन अध्यापन गराउने शैक्षिक संस्था मध्ये टप १० कलेजको रूपमा स्थापित भएका छौं । लिटल एन्जल्समा प्लस टु अध्ययन गरेका विद्यार्थीहरूले उत्कृष्ट मेडिकल कलेज र इन्जिनियरिङ् कलेजमा र अरू विभिन्न उच्च करियर विकास गर्ने ठाउँहरुमा नाम निकाल्न सफल भएका छन् । हामीले पठनपाठनका नयाँ प्रविधि र समय सापेक्षित विषयलाई अवलम्बन गरी शैक्षिक कार्यक्रमहरू समेटेको हुँदा लिटल एन्जल्स धेरै विद्यार्थीको रोजाइमा पर्न सफल छ ।

अहिलेको अवस्थामा लिटल एन्जल्समा कुन-कुन संकायहरु पढाइ हुँदै आएको छ ?

-लिटल एन्जल्समा प्लस टुमा विज्ञान र व्यवस्थापन संकाय अन्तर्गतका विषयलाई समेटेर अध्ययन अध्यापन गराउँदै आएका छौं । व्यवस्थापनमा चारवटा क्याटेगोरी राखेका छौं । उक्त क्याटेगोरीभित्र विद्यार्थीले कम्प्युटर, होटेल म्यानेजमेन्ट म्याथ स्पेसिफिक र बेसिक कोर्सको रूपमा ईकोनोमिक्स तथा बिजनेस स्टडिज लिएर पढ्न पाउँछन् । साइन्स स्ट्रिमअन्तर्गत बायोलोजी र अर्को इन्जिनियरिङ् ग्रुप छ । हामी संकाय थप्ने विषयमा प्रयासरत छौं । हाम्रो आगामी लक्ष्य भनेको प्लस टुमा मानविकी संकाय थप्नु पनि हो । हामीले केही वर्षअघि कानून संकाय थपेर अध्यापन गरायौं । तर, विद्यार्थीको संख्या न्यून भएका कारणले त्यसलाई ड्रप गर्याैं । भविष्यमा विद्यार्थी र अभिभावकको इच्छा आयो भने हामी कुनै पनि संकाय थपेर अध्यापन गराउन सक्ने अवस्थामा छौं ।

स्कुल तथा कलेज प्रायः सबैले आफ्नो शैक्षिक संस्था अब्बल भएको बताउँछन् । एसईईको नतिजा पनि आइसकेकाे छ । नतिजापश्चात् विद्यार्थीहरू राम्रो कलेजको खोजीको दौडानमा हुन्छन् । तपाईंले उनीहरूलाई कस्तो कलेजको रोज्ने सुझाव दिनु हुन्छ ?

-पहिलो विषय अभिभावकले आफ्नो छोराछोरीको कुन संकाय पढ्ने इच्छा छ त्यो बुझ्नु पर्छ । उसको क्षमताअनुसार कुन विषय पढ्न सक्छ, केमा आफ्नो करियर बनाउन चाहन्छ त्यो बुझि अभिभावकले कलेज खोजी दिन आवश्यक छ । विद्यार्थीहरूलाई साथीभाइको भरमा परेर कलेज नछान्नको लागि सल्लाह दिन्छु ।

विद्यार्थीहरूले प्लस टु पास प्रतिशत राम्रो भएका शैक्षिक संस्था रोज्दा उपयुक्त हुन्छ । आफ्नो बच्चाले खुसीसँग पढ्न सक्ने वातावरण छ कि छैन ? हावापानी कक्षाकोठाको बसाई कत्तिको उपयुक्त छ ? प्रयोगशाला कस्ता छन् ? राम्रो शिक्षा प्राप्त गर्न सक्ने अवस्था छ छैन ? संस्थाको म्यानेजमेन्ट कस्तो छ ? जस्ता विषयलाई राम्रो निहालेर कलेज छनोट गर्दा राम्रो हुन्छ भन्ने मेरो ठम्याइ हो ।

अहिलेका विद्यार्थीको समस्या के पाउनु भएको छ ? उनीहरु पढ्नमा कत्तिको इच्छुक देखिन्छन् ?

-अहिलेका विद्यार्थीको समस्या प्रविधि बन्दै गएको छ । इन्टरनेटको सुविधाले समस्या पनि निम्त्याइरहेको छ । मोबाइलमा बढी समय बिताउने, पढ्न खासै रुचि नराख्ने विद्यार्थीहरूमा देखिन्छ । किताबी, सैद्धान्तिक विषय पढ्ने, इन्टरनेट चलाए पनि त्यहाँ नयाँ विषय खोज्ने भन्दा पनि अनेकौं सामान्य विषयमा रमाइ समय बिताउने अहिलेका विद्यार्थीको मुख्य कमजोरी हो । आफ्नो करियर, प्रोफेसनल, भविष्यका बारेमा गम्भिरतापूर्वक उनीहरु सोच्दैनन् । जसका कारण परीक्षामा नतिजा खराब आएको यहाँहरूलाई थाहै छ ।

यी विविध समस्याहरूको समाधानका लागि शैक्षिक संस्था र तपाईंहरुको भूमिका के हुनसक्छ ?

-विद्यार्थीको भविष्य, पढ्ने तरिका, प्रविधिमा आएको परिवर्तन आदिको बारेमा विद्यार्थी र अभिभावकलाई बुझाउन अपरिआर्य छ, जस्तो मलाई लाग्छ । राम्ररी अध्ययन कसरी गर्ने ? कस्ता विषय पढ्यो वा कति समय अध्ययनलाई छुट्यायो भने उसले आफ्नो उद्देश्य हासिल गर्न सकिन्छ भन्ने कुरामा ध्यायन पुर्याउन आवश्यक छ । हाम्रो पनि कलेजले यसका लागि प्रयत्न गरिरहेको छ ।

कुनै विद्यार्थी कक्षा ११ मा भर्न भइसकेपछि कक्षा सुरु हुनु अगावै अभिभावक र विद्यार्थीलाई राखेर धेरै यस्ता विषयको बरेमा बताउँछौं । सोसल मिडियाका दुरुपयोगका कारण पर्ने समस्याहरू, यस्ता कुराहरूबाट कसरी बच्नु पर्छ ? यसबाट विद्यार्थीहरूलाई कसरी कानुनी रूपमा सैद्धान्तिक रूपमा समस्या आउन सक्छन् ? ती कुराहरूबाट कसरी बच्नुपर्छ ? लगायतका कुराहरूलाई समेटेर पनि हाम्रो कलेज विद्यार्थीहरूलाई सिकाउँदै आएको छ ।

सरकारले कक्षा १० सम्म पढाइ हुने विद्यालयहरूलाई कक्षा १२ सम्म कक्षा सञ्चालन गर्ने अनुमति दिएको छ, यसले नयाँ विद्यार्थी भर्नामा कत्तिको असर गर्ला ?

-यसले असर चाहिँ पुर्याउँछ । विद्यार्थी आफैंमा अब यो स्कुलमा दश वर्ष पढे, अब चाहिँ अन्त कतै पढ्न पाए हुन्थ्यो भन्ने चाहना राख्छन् । केही विद्यार्थीहरू साथीभाई कता पढ्न जान्छन् साथीभाइसँगै पढ्छु भन्ने सोच भएको पनि पाइन्छ । अहिले विद्यार्थीहरू एसईईमा आधा भन्दा बढी विद्यार्थीहरू अनुत्तीर्ण भएका छन् । यसबाट पनि विद्यार्थीको संख्या घट्ने सम्भावना छ ।

नेपालका शैक्षिक संस्था गुणस्तरीय शिक्षा प्रदान गर्नमा कतिको सक्षम छन् ?

-जुन शिक्षा सरकारले विद्यार्थीलाई दिइरहेको छ । त्यो शिक्षा पाइसकेपछि वा शैक्षिक प्रमाणपत्र प्राप्त गरिसकेपछि उक्त विद्यार्थीलाई रोजगारीको पनि सुनिश्चितता हुनु पर्यो । शिक्षालाई सिपसँग र सिपलाई रोजगारीसँग जोड्न सक्ने वातावरणको सृजना भयो भने त्यो विद्यार्थी भविष्यमा कुनै न कुनै फिल्डमा गएर अब्बल बन्न सक्छ । विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता विद्यार्थीमा विकास गर्न सक्ने सक्षम शैक्षिक संस्था नेपालमा छन् ।

लिटल एन्जल्सले शैक्षिक सुधारका निमित्त गरेका नमुना प्रयासहरू के-के रहेका छन् ?

-यसको लागि कलेजको तर्फबाट धेरै राम्रा प्रयास भएका छन् । यहाँ अध्ययनरत विद्यार्थी जुनै ठाउँमा गएर पनि अध्ययन वा काम गर्न सक्ने सामर्थ्य राख्ने बनाउनको लागि प्रयासरत छौं । विद्यार्थीहरूले यहाँ पढिसकेपछि राम्रो प्रतिशतमा हाम्रा विद्यार्थीहरू अब्बल भएर स्वदेश या विदेशमा गएर उत्कृष्ट ओहदामा बसेर काम गरिरहेका छन् ।

तपाईंले नेपालबाट विद्यार्थी विदेशीनुको कारण के पाउनु भएको छ ?

-यस विषयमा रहेर अनुसन्धान भइरहेको छ । अनुसन्धानबाट केही परिणाम पक्कै आउला । तर, यहाँ दिदी विदेश गएको छ भने भाइ पनि विदेशै जाने प्रवृद्धि बढ्यो । विदेश देखासिकी गरेर जाने ट्रेन्ड बढ्दै गएको पाइन्छ । कक्षा ११ र १२ को अध्ययन पश्चात् स्वतन्त्रता र अभिभावकसँगको सम्बन्ध, असमझदारीका कारण पनि विदेश जान खोजेको जस्तो लाग्छ ।

आर्थिक रूपमा खाजा, खाना खर्च, गेट टुगेदर जस्ता कुराहरूमा अभिभावक सामु प्रस्ताव गर्ने र ती विषयमा अभिभावकले अस्वीकार गरेपछि उनीहरूको इच्छा पूरा भएन । अनि पढाइ सँगसँगै पैसा कमाउने योजना बोकेर विद्यार्थी विदेशीन थाले । आत्मनिर्भर हुनका लागि भए पनि विद्यार्थी विदेशीए । पढ्नको लागि खोजेका विषयहरू पर्याप्त उपलब्ध नहुँदा पनि यो अवस्था आएको हो ।

याे सिकाइले विद्यार्थीको व्यवहारिक पक्षलाई सम्बोधन गर्न सकेको छ कि छैन ?

-सिकाइले विद्यार्थीको व्यवहारिक पक्षलाई सम्बोधन गर्न म चाहिँ सकेको छैन भन्छु । किनभने सरकारले बनाएको पाठ्यक्रम ठ्याक्कै विद्यार्थीको अभिभावकको रियल लाइफसँग जोड्ने गरी बनाइएको छैन । त्यसमा ठूलो ग्याप छ । दोस्रो कुरा भएका कर्मचारीलाई अपडेट गरेर करिकुलम अनुसार पढाउन सुरु गर्नु भएको छ छैन ? विद्यार्थीको अपेक्षा अनुसार र विद्यार्थीको आवश्यकता अनुसार शिक्षकहरूले सिकाउन सकेको छन् कि छैनन् ? यी सबै सिनारियोलाई हेर्दा धेरै हदसम्म सम्बोधन हुन सकेको छैन । अबको पाठ्यक्रम व्यवहारिक पक्षलाई पनि समेटिनु जरुरी छ ।

शिक्षाको रूपान्तरण कसरी सम्भव होला ?

-सरकारले शिक्षाको मात्र होइन, स्वास्थ्य, अन्तर्राष्ट्रिय नीति, उत्पादन मुलुक क्षेत्र, भौतिक पूर्वाधार, ऊर्जा आदि हरेक क्षेत्रमा विकास गर्न चाहने हो भने राष्ट्रिय स्तरमा विभिन्न पार्टीहरूबीच सहमति हुनुपर्यो । सबै राजनैतिक दलका विज्ञहरू बसेर अन्तर्राष्ट्रिय पोलिसिको बीच एउटा सहमति बन्नुपर्छ । हामीले हाम्रा विद्यार्थीहरूलाई एसियाकै टप लेभलका विद्यार्थी कसरी बनाउन सक्छौं ? शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी गर्ने कसरी बनाउन सक्छौ भनेर शिक्षाका विज्ञहरू बसेर नीति निर्माण गर्न आवश्यक देखिन्छ ।

हरेक पार्टीका आफ्नो आफ्नो अलग-अलग सिद्धान्त होलान् । तर, एकजुट भएर एकमतमा देशको अवस्था र आवश्यकता हेरेर नीति नियम बनायौं भने भोलिका दिनमा पनि सहज हुन्छ । विकासका लागि अब कस्तो जनशक्ति चाहिन्छ त्यो विषय पनि अध्ययन हुन आवश्यक छ । शिक्षाको सुलभ शुल्क निर्धारण गरी सीपलाई रोजगारीसँग जोड्ने नीति नियम बनाएर कार्यान्वयन गरे मात्र नेपालमा शैक्षिक रूपान्तरण सम्भव छ ।

उच्च शिक्षा अध्ययनका लागि देखिएका चुनौती के हुन् ?

-उच्च शिक्षामा सरकारको लगानी पुगेकाे छैन । शिक्षा क्षेत्रमा टेक्नोलोजीको विकास गर्नुपर्ने अवस्था रहेको देखिन्छ । विद्यार्थीलाई व्यवहारिक ज्ञान नदिएसम्म उच्च शिक्षामा चुनौतीहरू रहिरहन्छ । निजी क्षेत्र शिक्षामा लगानी गर्न तयार र गरिरहेको छ । तर हामी पनि पीडित छौं । लिटल एन्जल्स एजुकेसन ग्रुपले नेपालमा एभरेस्ट युनिभर्सिटी खोल्छु भनेर प्रपोजल तयार पारेको थियो । त्यो प्रस्ताव संसद् भवनसम्म पनि पुग्यो । तर, अहिलेसम्म त्यसको कुनै सुनुवाइ भएन । निजी क्षेत्रले लगानी गर्न चाहन्छ । निजी क्षेत्रसँग भएको पूँजी लगानी गरेर देशको शैक्षिक क्षेत्रको धेरै हदसम्म विकास गर्न सक्छ । तर, सरकारको नीति नियमै सबैभन्दा ठूलो बाधक बन्याे ।

Logo