काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुले स्वास्थ्य उपचारमा एक लाख रुपैयाँसम्मको छुट पाउने व्यवस्था रहेको छ । यो व्यवस्था लागू भएको ८ वर्ष वितिसक्दा पनि कतिपय विद्यार्थीहरुलाई उक्त व्यवस्थाबारे जानकारी समेत छैन भने कतिपय विद्यार्थीहरुले प्रकृया झन्झटिलो भएको भन्दै सुविधा नै लिँदैनन् ।
उनीहरुलाई त्रिविमा अध्ययनरत विद्यार्थीहरुले स्वास्थ्य उपचारमा छुट पाउँछन् भन्दा अचम्ममा पर्छन् । त्रिविले आव २०७३–७४ देखि विद्यार्थीका स्वास्थ्य उपचार कोष खडा गरेर विद्यार्थीलाई उपचारमा सहयोग गर्दै आइरहेको छ । छुटको व्यवस्था गरे पनि निकै नै कम संख्यामा मात्र विद्यार्थीहरुले सेवा लिएको त्रिविकै स्वीकारोक्ति छ ।
रत्नराज्य लक्ष्मी क्याम्पसमा अध्ययन गरेका विद्यार्थी विशाल प्याकुरेललाई त्रिविका आंगिक क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुले स्वास्थ्य उपचारमा ९० प्रतिशत सम्म छुट पाउने व्यवस्था छनि भन्दा उनी छक्क परे, उल्टै यस्तो व्यवस्था पनि छ र ? भन्दै प्रतिप्रश्न गरे ।
स्वास्थ्य उपचार कोषको लागि भनेर विद्यार्थी भर्ना हुँदा नै क्याम्पसले हरेक विद्यार्थीबाट स्वास्थ्य शुल्कको रु पाँच सय लिएको हुन्छ ।
उनले भने – ‘मेरो पढाइ सकिसक्यो तर स्वास्थ्य उपचारमा छुट पाइन्छ भनेर मलाई अहिलेसम्म थाहै थिएन । यस विषयमा न क्याम्पसले केही जानकारी गरायो न त विद्यार्थी संगठनका दिदि दाईहरुले नै केही भने । भर्ना गर्दा बिलमा समेत स्वास्थ्य उपचारको लागी शुल्क तिरेको केही पनि उल्लेख गरिएको थिएन । अनि कसरी थाहा पाउनु ? ’
विद्यार्थीहरुले स्वास्थ्य उपचारमा छुट पाउनु पर्ने व्यवस्थाको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनुपर्छ भन्नेमा त्रिवि स्वयंले बेवास्ता गर्दै आएको सरोकारवालाहरु बताउँछन् । क्याम्पसहरुले समेत यस विषयमा जानकारी नगराउँदा विद्यार्थीहरु सुविधा लिनबाट वञ्चित छन् ।
सम्बन्धित निकायले चासो नदिँदा र विद्यार्थीहरु आाफैंले पनि के-के विषयमा शुल्क काटिएको हो भन्ने कुरामा जानकारी नलिँदा स्वास्थ्य उपचारमा पाउने छुट प्रभावकारी हुन नसकेको अनेरास्ववियु केन्द्रीय सम्पर्क विभागका सचिव जन्मराज उपाध्यायले बताए । उनले थपे – ‘हामीले विद्यार्थीहरुलाई यस विषयमा जानकारी गराउँदै आएका छौं । काठमाडौंमा रहेका विद्यार्थीहरुले टिचिङ् अस्पतालबाट उक्त सुविधा लिन सक्नुहुन्छ भन्दै आएका छौं । हिजाे पनि भनेका थियौं, आज पनि भन्दै छौं र भोलि पनि भन्ने छौं । धेरैभन्दा धेरै विद्यार्थीहरु यसको लाभ लिउन् भन्ने हाम्रो उदेश्य हो ।’
विद्यार्थीलाई दिइने सहुलियतका लागि अस्पतालमा सिफारिस गरिदिन अनुरोध गर्छ र निर्देशनालयले अस्पतालमा सिफारिस गरिदिने व्यवस्था छ ।
यसैगरी त्रिवि केन्द्रिय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाले विद्यार्थीहरुले लिन पाउने स्वास्थ्य उपचारको बारेमा सबै जानकारीहरु त्रिविको वेबसाइटमा राख्नुपर्छ, ताकी विद्यार्थीले सहजै यस विषयमा जानकारी पाउन् । कुन-कुन विद्यार्थीले सुविधा लिएको हो । त्यसको रिपोर्ट पनि वेबसाइटमा राखियोस् ताकी त्यसको डाटा अस्पतालले पनि हेर्न पाओस् । अनि अर्काे कुरा एक त प्रचारप्रसारको कमी छ त्यसमाथि सेवा पाउने प्रकृया नै झन्झटिलो भएकाले प्रभावकारी हुन सकेको छैन । ’
कुन-कुन अस्पतालबाट सुविधा लिन सकिन्छ ?
त्रिविले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पोखरा, धवलागिरी अञ्चल अस्पताल बागलुङ, प्रदेश अस्पताल सुर्खेत र भेरी अञ्चल अस्पताल नेपालगञ्जबाट विद्यार्थीहरुले स्वास्थ्य उपचारमा छुट पाउन सक्ने व्यबस्था रहेको छ । ती अस्पतालसँग उपचार खर्चका लागि एक लाख रुपैयाँसम्म खर्च गर्ने गरी सम्झौता गरेको त्रिविले जनाएको छ ।
कुन-कुन स्वास्थ्य समस्याको उपचारमा छुट पाइन्छ ?
स्वास्थ्य उपचार कोषसम्बन्धी कार्य व्यवस्थापन प्रणाली–२०७१ ले सबै खाले रोगको उपचारका लागि कोषबाट प्रत्येक शैक्षिक वर्षमा अधिकतम १ लाख बेहोर्ने व्यवस्था रहेको छ । अस्पतालमा भर्ना भएका बिरामीको लागि जेनेरल वार्डको बेड चार्ज मात्रै कोषले बेहोर्नेछ । तर उपचारका लागि आईसीयूमा राख्न आवश्यक भए अधिकतम एक लाख रकम आईसीयूको खर्च कोषले बेहोर्नेछ ।
सुत्केरी र गर्भवतीसम्बन्धी कुनै पनि खर्च सामान्य शरीर चेकजाँच, होलबडी चेकअप, अंग प्रत्यारोपण, कस्मेटिक उपचार तथा चस्मा र चस्माको लेन्स खर्च, कानमा लगाउने उपकरणको खर्च भने कोषबाट उपचार खर्च उपलब्ध नहुने सो कार्य व्यवस्था प्रणालीले स्पष्ट रहेको त्रिविले जनाएको छ ।
क्याम्पसहरुले समेत यस विषयमा जानकारी नगराउँदा विद्यार्थीहरु सुविधा लिनबाट वञ्चित छन् ।
कसरी लिन सकिन्छ सुविधा ?
स्वास्थ्य उपचार कोषको लागि भनेर विद्यार्थी भर्ना हुँदा नै क्याम्पसले हरेक विद्यार्थीबाट स्वास्थ्य शुल्कको रु पाँच सय लिएको हुन्छ । सुविधा लिनका लागि विद्यार्थीले आफ्नो क्याम्पसमा निवेदन दिनुपर्छ, क्याम्पसले त्रिवि निर्देशनालयमा विद्यार्थीलाई दिइने सहुलियतका लागि अस्पतालमा सिफारिस गरिदिन अनुरोध गर्छ र निर्देशनालयले अस्पतालमा सिफारिस गरिदिने व्यवस्था छ । निर्देशनालयको सिफारिसपछि उपचार गर्ने अस्पतालले सिफारिस स्वीकृत गरेपछि औषधि र खानाबाहेकको स्वास्थ्य उपचारमा ९० प्रतिशत छुट पाउने व्यवस्था छ ।
उपचारको क्रममा सिफारिसपत्र लिन नसकेका विद्यार्थीले अस्पतालबाट डिस्चार्ज भएको एक महिनाभित्र आवश्यक प्रक्रिया पुर्याएर निवेदन दिएमा सो सुविधा लिनसक्ने व्यवस्था छ ।
अहिलेसम्म कतिले लिए सुविधा ?
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५–७६ मा २१९ विद्यार्थीले स्वास्थ्य उपचार कोष बाट उपचार खर्च लिएका थिए । आर्थीक वर्ष २०७६–७७ मा १९५ जनाले उपचार खर्च लिएका थिए भने आर्थिक वर्ष २०७७–७८ मा १०२ जना विद्यार्थीले मात्र उपचार खर्च लिएको तथ्याङ्कले प्रष्ट्याएको छ ।
विद्यार्थीहरुलाई सूचना नहुँदा स्वास्थ्य उपचारमा छुट पाउने व्यवस्था प्रभावकारी ढंगले कार्यान्वयन हुन सकेको छैन ।
सबैभन्दा धेरै विद्यार्थी संख्या भार भएको विश्वविद्यालय हो, त्रिभुवन विश्वविद्यालय । विद्यार्थीको संख्याका आधारमा हेर्ने हो भने स्वास्थ्य उपचारको लाभ लिने विद्यार्थीको संख्या निकै नै न्युन देखिन्छ । त्यसैले स्वास्थ्य उपचारमा छुट पाउने व्यबस्थाको बारेमा प्रचार प्रसार गर्न आवस्यक देखिन्छ ।
त्रिविको विद्यार्थी स्वास्थ्य कोषबाट २०७७–७८ सम्म कति विद्यार्थीले स्वास्थ्य सुविधा लिए भन्ने मात्र छ । त्यो भन्दा पछि कति विद्यार्थीले स्वास्थ्य उपचारको सुविधा लिए त्यसको तथ्यांक विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयसँग उपलब्ध नै छैन ।
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको तथ्यांक हेर्ने हो भने वार्षिक रुपमा २० देखि ३० जना विद्यार्थीले मात्र सेवा लिएको देखिन्छ । विद्यार्थीहरुलाई सूचना नहुँदा स्वास्थ्य उपचारमा विद्यार्थीहरुले छुट पाउने व्यवस्था प्रभावकारी ढंगले कार्यान्वयन हुन सकेको छैन । स्वास्थ्य उपचारमा छुट पाउने व्यवस्थालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न त्रिभुवन विश्वविद्यालय, सम्वन्धित क्याम्पस, तथा सञ्चार माध्यमहरुले पनि प्रचार प्रसारलाई तिव्रता दिने पो होकी ?





























प्रतिक्रिया