काठमाडौं । चारैतिरबाट समस्याले झेलिएको मुलुककै पुरानो त्रिभुवन विश्वविद्यालयमा कहिले ताला लागिरहेको हुन्छ, कहिले कर्मचारीहरु आन्दोलित हुन्छन् त कहिले विद्यार्थी धर्नामा बसिरहेका हुन्छन् ।
त्रिविको अहिलेको ताजा अवस्था भने त्रिविका कर्मचारीहरु, कार्यालय सहयोगी, सवारी चालक र सम्पूर्ण करारका कर्मचारीलाई स्थायी गर्नुपर्नेमाग सहित आन्दोलनमा छन् । माओवादी, नेकपा एस लगायतका विद्यार्थी संगठनले प्रिन्सिपल कार्यालयसहित ४ ठाउँमा ताला लगाएका छन् । त्रिवि मैदानमा भइरहेको क्रिकेट प्रतियोगिताको पार्किङ शुल्कको विषयलाई लिएर विद्यार्थीहरूले गत मंसिर २५ मा ताला लगाएका हुन् ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालको कार्यकक्ष अगाडि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का सचिव सिद्धान्त भट्ट ३५ बुँदे माग राखेर धर्नामा छन् । त्रिविको सुधार, नीतीगत सुधार, नीतिमा भएको विषयवस्तुलाई कार्यान्वयन गर्नुपर्ने मागसहित गत मंसिर २६ गतेदेखि भट्ट धर्ना बसेका हुन् । उपकुलपतिको कार्यकक्षको ढोका अगाडि नै धर्ना बसेको आज १३ दिन भैसकेको छ । उनी २४ सै घण्टा धर्नामा छन् ।
भट्टले केन्द्रविन्दुसँग भने– ‘विश्वविद्यालय सुधारको बाटोमा जानुपर्छ अब दलभन्दा माथि उठेर विश्वविद्यालयका मुद्दाको एकजुट भएर आवाज उठाउनु पर्छ ।’
उनले थपे ‘म आफ्नो स्वार्थको लागी होइन, समग्र त्रिविको सुधारको लागी धर्ना बसेको हो । धर्ना बसेको दोस्रो दिन उपकुलपति बराल, रेक्टर खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद शर्मा गएका थिए । त्यसपछि उपकुलपति कार्यालय आउनु नै भएको छैन । हामीले कार्यालय नआउनु पनि भनेका हैनौं । आउनुहोस्, कुरा गरौं समस्याको समाधान गरौं भनेको हो तर उहाँ आउनुभएको छैन । रेक्टर, रजिष्टार, प्राध्यापकहरुले समेत फोन गरेर बोलाउँदा पनि उहाँ आउनुभएन ।’
त्रिविले धर्ना बसेको तेस्रो दिनमा सह–प्रध्यापक प्रमोद पौडेलको संयोजकत्वमा तिन सदस्यीय वार्ता टोली गठन गरेको थियो । उक्त वार्ता टोलीले मागलाई सम्बोधन गर्ने आधार केहि पनि नरहेको र निर्णय गर्ने अधिकार पनि प्राप्त नभएको पाइएपछि टोलीले हामी निर्णय गर्न सक्दैनौं भन्ने जवाफ दिएको थियो । हिजो मात्र प्राध्यापक ध्यानेन्द्रबहादुर राईको नेतृत्वमा वार्ता समिति बनेको छ । नयाँ बनेको समीति बाट मुद्दामा सामान्य छलफल मात्र भएको स्ववियु सचिवले बताए । माग सम्बोधन नभए सम्म धर्ना बस्ने उनले जिकीर गरे ।
प्रिन्सिपल कार्यालयमा ताला
अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल छैठौं, अखिल समाजवादी, नेपाल समाजवादी विद्यार्थी युनियनले पिन्सिपल कार्यालयमा गत मंसिरमा २५ मा ताला लगाएका थिए । उनीहरुले त्रिवि मैदानमा भएकोे क्रिकेट प्रतियोगिताको पार्किङ शुल्कको विषयलाई लिएर विद्यार्थी संगठनले ताला लगाएका हुन् । ताला लागेका कारण कार्यकक्षमा जाने वातावरण नहुँदा दैनिक कार्य गर्न नसकेको प्रिन्सिपलको कार्यालयले जनाएको छ । एनपीएल प्रतियोगिताको पहिलो दिन स्ववियुका पदाधिकारीको संलग्नतामा पार्किङ शुल्क उठाएको आरोप आन्दोलनरत विद्यार्थीहरूको छ ।
स्ववियु कार्यालयमा पनि ताला
त्रिविको क्रिकेट मैदानमा भएको एनपीएल चलिरहेको बेला त्रिविको प्रिन्सिपल कार्यालयले स्ववियुलाई पार्किङको शुल्क उठाउने जिम्मा दिएको भन्दै विद्यार्थी संगठन हरुले स्ववियु र विद्यार्थी संगठनको बदनाम हुने गरी पार्किङ शुल्क उठाएकाले छानविन हुनुपर्ने माग राख्दै ताला लगाएका हुन् ।
तालाबन्दीको मारमा भौतिकशास्त्र विभाग पनि
माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आइतबार भौतिकशास्त्र विभागमा पनि ताला लगाएको छ । विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई शोधपत्रमा सहभागी नगराई अनुसन्धानात्मक गतिविधिबाट वञ्चित गरेकाले विभागमा ताला लगाएको संगठनले जनाएको छ ।
कर्मचारी आन्दोलित
त्रिविमा कार्यरत कार्यालय सहयोगी, सवारी चालक र सम्पूर्ण करारका कर्मचारीलाई स्थायी गर्नुपर्ने मागसहित कर्मचारीहरु पुष १ गते देखि ५ गतेसम्म आन्दोलन गरे । नेपाल स्वास्थ्य सेवा ऐन अनुसार त्रिविमा कार्यरत नर्सिङ र प्राविधिक कर्मचारीको स्तरवृद्धि तुरुन्तै लागू गर्न कर्मचारीले माग गरेका छन् । रिक्त दरबन्दीमा विज्ञापन गर्नुपर्ने, लामो समयसम्म एउटै पदमा कार्यरत कर्मचारीको एक तह पदोन्नती सुनिश्चित गर्नुपर्ने माग कर्मचारीको छ ।
त्यसैगरी संचित विशेष तलबी बिदाको रकम सेवा निवृत्त हुँदा सम्पूर्ण कर्मचारीले पाउने व्यवस्था लागू गर्नुपर्ने र विगतमा खोसिएका सेवा सुविधा पुनः सुचारू गर्नुपर्ने माग कर्मचारीको छ ।





























प्रतिक्रिया