काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्राविधिकतर्फ तह तीन र तह चारको पदपूर्तिका लागि विज्ञापन नखुलाउने निर्णय गरेसँगै टिएसएलसी र इन्डस्ट्रीयल इलेक्ट्रिक अध्ययन गरेका विद्यार्थीहरू यतिवेला अन्योलमा छन् ।
प्राधिकरणको निर्णयले लाखौँ खर्च गरेर सीपमूलक शिक्षा हासिल लिई देशमै भविष्य बनाउने उद्देश्यले सिटिइभिटीबाट अध्ययन गरेका विद्यार्थीको भविष्य नै अन्योलमा परेको हो ।
‘शिक्षालाई सीपसँग, सीपलाई रोजगारीसँग’ जोड्ने हेतुले स्थापना भएको सिटिइभिटीले सिपयुक्त जनशक्ति उत्पादन गर्दै आएको छ । सैल्धान्तिक शिक्षाले मात्र रोजगारी पाइने सम्भावना न्यून भएको अवस्थामा सिटिइभिटीको कोर्ष पढेपछि बजारमा सजिलै रोजगारी पाइने, आफैँले उद्यम खोलेर आत्मनिर्भर हुन सकिने सम्भावना प्रबल भएकाले यसतर्फ विद्यार्थीको रोजाइमा पर्दै गएको छ ।
प्राविधिकरणको निर्णयले विद्यार्थीको भविष्य अन्योल
बुटवल टेक्निकल कलेजबाट इन्डस्ट्रीयल इलेक्ट्रिक अध्ययन गरेका विनोद अधिकारीको सपना थियो, प्राविधिक शिक्षा अध्ययन गरेर सरकारी सेवामा प्रवेश गर्ने । इन्डस्ट्रीयल इलेक्ट्रिक अध्ययन गरेका विद्यार्थीले सरकारी सेवामा प्रवेश गर्नका लागि नेपाल विद्युत् प्राधिकरणले प्राविधिकतर्फ तह तीन र तह चारमा विज्ञापन खुलाउनपर्छ । तर आर्थिक वर्ष २०८०–८१ को पदपूर्तिका लागि खुलाएको विज्ञापनमा पाचौँ तहदेखि मात्र माग गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले यसवर्षमा मात्र हैन, अबदेखि तह तीन र तह चारको विज्ञापन नै नखुलाउने निर्णय गरेको छ । प्राधिकरणको यो निर्णयसँगै विनोद दोधारमा छन् । उनी मात्र होइन, उनको परिवार समेत चिन्तित छ । उनी भन्छन् ‘ प्राविधिकरणको यो निर्णयले भविष्य नै अन्योल हुने अवस्था छ । यति धेरै लगानी गरेर, पढेर नेपालमै बसेर सेवा गर्ने सपना थियो । अब लगानी मात्र हैन, सपना नै धरापमा पर्ने अवस्था भयो ।’
उनले केन्द्रबिन्दुसँग कुरा गर्दै भने, ‘एकातिर सरकारले दक्ष जनशक्तिलाई देशमै राख्नुपर्छ भन्छ, अर्कोतिर देशमा युवा नबसून् भन्ने उद्देश्यले निर्णय गर्छ ।’ उनले प्राधिकरण, ऊर्जा मन्त्रालय र सिटिइभिटीसँग प्रश्न गरे, ‘हामीले अध्ययन गरेको विषयको विद्यार्थीले काम गर्ने भनेको विद्युत् प्राधिकरणमा हो, यदि प्राधिकरणले भ्याकेन्सी नखुलाउने हो भने हामी काम खोज्न कहा जाने ?’
त्यस्तै, सुशिला क्षेत्रीको कथा पनि उस्तै छ । सुर्खेतको देउती इन्जिनियरिङ कलेजबाट टिएसएलसी अध्ययन गरेकी उनको सपना पनि आफूले अध्ययन गरेको सिकाइ–सीपलाई उपयोग गर्न सरकारी सेवामा प्रवेश गर्नु थियो ।
तर नेपाल विद्युत् प्राधिकरणले तह तीन र तह चारका लागि भ्याकेन्सी नखुलाउने निर्णय लिएसँगै उनी दोधारमा छिन् । ‘अब के गर्ने ?’ उनी भन्छिन्, ‘विनासूचना नै यस्तो निर्णय लिँदा हामी अन्योलमा छौँ । कि त अगाडि नै अब हामी भ्याकेन्सी खुलाउदैनौँ भनेर सूचना दिएको भए हामी यो विषय नै पढ्ने थिएनौँ । यो भनेको त सरासर विद्यार्थीलाई हेपेको हो । तिमीहरू देशमा नबस, विदेश जाऊ भनेको हो कि के हो ?’
उनले थपिन्, ‘हामी यति मात्र चाहन्छौँ कि पढिसेको विद्यार्थीहरूलाई यति वर्षभित्र लोकसेवा आयोग पास गरिसक्नुपर्छ अबदेखि हामी भ्याकेन्सी खुलाउदैनौँ भनेर भन्नुपर्यो, नभए हामीले पनि परीक्षा दिन पाउनुपर्छ ।’
प्राविधिकरण भन्छ – हामी भ्याकेन्सी खुलाउदैनौँ, सेवा करार लिन्छौँ
नेपाल विद्युत् प्राधिकरणले अबदेखि तह तीन र तह चारको पदपूर्तिका लागि भ्याकेन्सी नखुलाउने भनेको छ । स्थायी कर्मचारी नियुक्त नगरी करारमा जनशक्ति लिने प्राधिकरणले जनाएको छ । प्राविधिकरणले यसको जिम्मेवारी हामी लिँदैनौँ भनेर विद्यार्थीहरूलाई जवाफसमेत दिएको छ ।
प्राधिकरणले भ्याकेन्सी नखुलाउँदा विद्यार्थीहरू सरकारी सेवामा प्रवेश गर्न नपाउने भए नि ? भन्ने प्रश्नमा नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोष भन्छन्, ‘तह तीन र चारको स्कोप पनि त्यति राम्रो छैन, प्राधिकरणको सहायकस्तरको सेवासुविधा पनि त्यति राम्रो नभएको गुनासो पनि आइरहेको छ । त्यसैले यो निर्णय भएको हो । तर उहाँहरूले रोजगारी नै पाउनुहुन्न भन्ने होइन, सेवा प्रदायक संघसँग आवद्ध भएर जागीर गर्न सक्नुहुन्छ ।’
विद्यार्थीको भविष्यको वास्ता छैन, धमाधम कक्षा सञ्चालन गर्दै सिटिइभिटी
प्रि डिप्लोमा सरहको टिएसएलसी र इन्डस्ट्रीयल इलेक्ट्रिक अध्ययन गर्ने विद्यार्थीहरू अबदेखि सरकारी सेवामा प्रवेश गर्न नपाउने सम्भावना देखिएको छ । तर सिटिइभिटीले भने विद्यार्थीहरूलाई कुनै किसिमको जानकारी नै नगराइ टिएसएलसी र इन्डस्ट्रियल इलेक्ट्रिकमा धमाधम भर्ना गरी कक्षा सञ्चालन गरिरहेको छ ।
सिटिइभिटीलाई विद्यार्थीको भविष्यभन्दा पनि आर्थिक लाभको चासो रहेको विद्यार्थीहरूले आरोप लगाएका छन् । यस विषयमा सिटिइभिटी तथा सम्बन्धित शिक्षालययले जानकारी गराउने हो । तर विद्यार्थीहरू अनभिज्ञ हुँदा उनीहरूको भविष्य अन्योल हुने निश्चित देखिन्छ ।
न्यायको खोजीमा विद्यार्थी
अबदेखि नेपाल विद्युत् प्राधिकरणले तह तीन र चारका लागि भ्याकेसन नखुलाउने भएपछि लोकसेवा परीक्षा दिन पाउनुपर्छ भन्दै विद्यार्थीहरू न्यायको ढोका ढकढक्याउने तयारीमा छन् । जानकारीविना नै सिटिइभिटीबाट लेवल टुको स्किल सटिर्फिकेट प्राप्त गरेका विद्यार्थीले प्रशासन र प्राविधिकतर्फको तह तीन र चारको लोकसेवा परीक्षा दिन नपाउने भएपछि विद्यार्थीहरू न्यायको तयारीमा लागेका हुन् ।
देशमै भविष्य बनाउने भनेर अध्ययन गरेका विद्यार्थीहरूलाई सरकारी सेवामा प्रवेश गर्न निःशेध गर्दा यसको जिम्मेवार को हुने हो ? एकातिर युवा जनशक्तिलाई देशमै रोजगारी दिने उद्देश्यले जनशक्ति उत्पादन गर्छौँँ भन्ने अर्कोतर्फ युवाहरूलाई विदेशिन बाध्य बनाउने यस कार्यमा जवाफदेही को हुने हो ?





























प्रतिक्रिया