अहिले नेपालकाे शिक्षा वास्तवमै निजी क्षेत्रले थेगेको छ -अध्यक्ष रमेश सिलवाल

अहिले नेपालकाे शिक्षा वास्तवमै निजी क्षेत्रले थेगेको छ -अध्यक्ष रमेश सिलवाल

'युवाहरुलाई नेपाल फर्क भनेर मात्र हुँदैन फर्केर यो गर भन्न सक्नुपर्छ'

केन्द्रबिन्दु
27
Shares

पछिल्लो समय स्नातक अध्ययन गरिरहेका विद्यार्थी हुन् अथवा प्लस टु अध्ययन गरेका विद्यार्थी । तिनीहरुमा वैदेशिक अध्ययनमा जाने लहड नै चलेको छ । यसरी विद्यार्थी पलायन भैरहँदा बर्षौदेखि नेपाललाई शैक्षिक हब बनाउने नारा फगत नारा मै सिमित हुने पो हाकी भन्ने आशंका पनि उब्जिरहेको छ । त्यसैगरी शैक्षिक सुधारका विषय पनि राजनीतिक पार्टीका चुनावी नारामै सिमित बन्दै गएको छ । यसै सन्दर्भको सेरोफेरोमा रहेर उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)का अध्यक्ष रमेश सिलवालसँग केन्द्रविन्दुका लागी सरीता चौधरीले गरेको कुराकानीका आधारमा तयार पारिएको अन्तर्वार्ता ।

रविन्द्रनाथ टैगोरले भनेका छन् । तिमीले प्राप्त गरेको ज्ञान मात्र आफ्नो बच्चालाई दिन नखोज, उनीहरु फरक समयमा जन्मिएका हुन् । यो भनाई अनुसार के हामी साँच्चिकै समय सान्दर्भिक शिक्षा दिरहेका छौं त ?

-शिक्षा क्षेत्रमा परिवर्तन नै आएको छैन भन्न मिल्दैन । तर परिवर्तन के मात्र भयो भने चक डस्टरको ठाउमा मार्कर आएको छ । हामी भनिरहेका छौं संसार परिवर्तनशिल छ । शिक्षा त झन् परिवर्तनशिल छ किनभने हरेक व्यक्तिको ज्ञान दोब्बर हुन्छ । तर हाम्रो ज्ञान त्यो अनुसारको वृद्धि भएको अवस्था छैन । यसको अर्थ केही उपलव्धी भएको छैन भन्नु होइन । शिक्षामा प्रविधि गाँसिएको छ । लर्निङ पेडागोगीमा सुधार भएको छ ।

हामीले तयार गर्ने विद्यार्थी भविष्यमा ४० वर्ष पछि पनि प्रतिष्पर्धामा आउन सक्ने हुनुपर्छ ।

यद्यपि विश्वविद्यालयको अवस्था हेने हो भने विश्वविद्यालयको अध्ययन भनेको विश्वमा नै मान्यता पाउने हुनुपर्छ त्यो सन्दर्भमा भने विकास हुन नसकेको अवस्था छ । अहिले पनि हाम्रा शिक्षण संस्था र प्राध्यापकहरु भूतगामी छन् तर विद्यार्थी वर्तमानमा छन् । त्यसैले हामीले तयार गर्ने विद्यार्थी भविष्यमा ४० वर्ष पछि पनि प्रतिष्पर्धामा आउन सक्ने हुनुपर्छ ।

तपाईंले भन्नुको तात्पर्य समय सान्दर्भिक शिक्षाका लागी शिक्षकहरुलाई तालिम प्रदान गर्नु पर्छ र शिक्षकहरु अपडेट भैरहनुपर्छ भन्ने हो ?

-शिक्षक भनेको अपडेट भैराख्नु अनिवार्य पर्छ । किनभने अहिलेसम्म हामीले बुझेको शिक्षा पढ्ने र सिकाउने हो, जुन सरासर गलत कुरा हो । सिकाई भनेको त विद्यार्थीको अन्तर्निहित क्षमतालाई प्रस्फुटन गर्नु हो । शिक्षकको भूमिका भनेको विद्यार्थीलाई अँध्यारोबाट उज्यालो तर्फ डोहोर्याउनु हो । के हाम्रो शिक्षा शिष्ट छ त ? क्षमतावान् छ त ? कर्तव्य निष्ट छ त ? हरेक शिक्षकले उक्त कसीमा आफूलाई दाँज्नुपर्छ, त्यो आवश्यक छ । त्यसको निम्ती सदैव प्रयत्नशिल हुन जरुरी छ ।

निजी क्षेत्रको शैक्षिक क्षेत्रमा कस्तो सहभागीता रहेको छ ?

-नेपालमा ३५ हजार हाराहारीमा विद्यालयहरु छन् । जसमा निजी क्षेत्रको ७ हजार ५ सय भन्दा बढि विद्यालयहरु छ । २०८० को एसइइको अवस्था हेर्ने हो भने २० देखि २२ प्रतिशत विद्यार्थीको सहभागिता नीजी विद्यालयका विद्यार्थीको थियो । तर विद्यालय तह र उच्च शिक्षामा विद्यार्थीको उपस्थिति हेर्ने हो भने २८ देखि ३२ प्रतिशत विद्यार्थीको संख्या रहेको छ । शिक्षाको पहुँच पुर्याउने सामुदायिक विद्यालयको भूमिका छ भने गुणस्तरिय शिक्षा प्रदान गर्नका लागी निजी विद्यालयको भूमिका छ ।
एसईईको नतिजा हर्ने हो भने पनि ४८ प्रतिशत सामुदायिक विद्यालयको छ भने ८० देखि ९५ प्रतिशत निजी विद्यालयको छ । यसरी हेर्दा, अहिलेको शिक्षा बास्तवमा निजी क्षेत्रले थेगेको अवस्था छ ।

त्यसो भए निजी शैक्षिक संस्थाहरुले मात्र गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छन् भन्ने हो ?

कतिपय सामुदायिक विद्यालयहरुले पनि राम्रो गर्दै आएका छन्, त्यसलाई नजरअन्दाज गर्न मिल्दैन । कतिपय अवस्थामा निजी संस्थाहरु पनि चुकेका होलान् । सार्वजनिक होस् वा निजी कुनै न कुनै स्थितीबाट गुणस्तरिय शिक्षा दिनबाट चुकेका छन् भने खवरदारी गर्नुपर्यो । राम्रो गरिरहेका छन् भने सम्मान गर्न पनि जान्नुपर्यो । २८ हजार सार्वजनिक विद्यालयमध्ये १५ हजारमा सय भन्दा कम विद्यार्थी छन् । एक सयमा मात्र २ हजार भन्दा बढि विद्यार्थी छन् । हामीले संख्यामा मात्र विद्यालय थप्ने काम गर्यौं, गुणस्तर हेरेनौं । अब यसको समाधान के छ त भन्दा थोरै विद्यार्थी भएको विद्यालयहरुलाई मर्ज गर्न सकिन्छ ।

एकातिर शिक्षा क्षेत्रमा निजी क्षेत्रको लगानी बढीरहेको छ अर्काेतिर वैदेशिक अध्ययनमा जाने विद्यार्थीको संख्या बढिरहेको छ । यस्तो अवस्था कसरी सिर्जना भयो ?

-यो अवस्था सिर्जना हुनु भनेको विश्वविद्यालयले शैक्षिक क्यालेन्डर नबनाउनु, बनाएको शैक्षिक क्यालेन्डर पनि लागू गर्न नसक्नु हुन् । तर केहि वर्ष यता उक्त समस्या केही हदमा कम पनि भएको छ । समयमा परीक्षा सञ्चालन हुन थालेको छ, समयमा नतिजा प्रकाशन हुन थालेको छ । ४ वर्षको कोर्ष पढ्नका लागी ६ वर्ष लाग्छ भने १८ महिनासम्म नतिजा कुर्नुपर्छ यस्तो अवस्थामा नेपालमा किन बस्ने भन्ने प्रवृति मौलाउदै गएको छ ।

कतिपय सामुदायिक विद्यालयहरुले पनि राम्रो गर्दै आएका छन्, त्यसलाई नजरअन्दाज गर्न मिल्दैन ।

पहिलो कुरा शैक्षिक क्यालेन्डर लागु गर्नुपर्यो । विश्वविद्यालयको पाठ्यक्रम विश्वबजारमा बिक्ने खालको निर्माण गर्नुपर्यो । गरिखाने शिक्षा दिन सकेनौ, रचनात्मक शिक्षा दिन सकेनौं त्यसमा अब ध्यान दिनुपर्छ । विद्यालय र विश्वविद्यालयलाई राजनीतिकरण र दलियकरणबाट टाढा राख्नुपर्छ । विदेशमा पढ्दै कमाउँदै गर्ने वातावरण भएकोले पनि विद्यार्थी विदेशिने क्रम बढेको हो ।

लामो समयदेखि शिक्षालाई सिपसँग सिपलाई रोजगारीँंग जोड्ने नारा जति घोके पनि व्यवहारमा लागु हुन सकेको अवस्था त छैन नि ?

-हो, त्यसमा हामी चुकेका छौं । शिक्षा दुई किसिमका हुन्छन् औपचारिक र अनौपचारिक । औपचारिक ज्ञानले मात्र जिवनयापनमा सघाउँदैन । त्यसैले यी दुईवटै शिक्षालाई जोड्न आवश्यक छ । पढ्दै, काम गर्दै, रमाउँदै सिद्धान्त विश्व बजारमा छ तर हामी त्यसो गर्न सकेका छैनौं । त्यसको लागी टेक्नीकल विषय पढेका विद्यार्थीले स्नातक तह उत्तीर्ण गरेपछि र अन्य विषय अध्ययन गरेका विद्यार्थीले स्नातकोत्तरपछि इन्टर्नसिप गर्ने व्यवस्था लागू गर्नसक्यौं भने युवा गाउँमुखी हुने सम्भावना पनि बढ्छ ।

विद्यार्थी पलायन हुने होड चलिरहँदा ज्ञान मात्र हैन सिप, युवा जनशक्तीसंगै उत्तीकै मात्रामा रकम पनि बाहिरिरहेको छ यसले भविस्यमा कस्तो असर पार्ला ?

-राष्ट्र बैकको तथ्यांक हेर्ने हो भने अघिल्लो वर्ष १ खर्व ४७ अर्व रुपैयाँ वैदेशिक अध्ययका लागी बाहिरिएको देखिन्छ । त्यो त राष्ट्रिय बैकसँग भएको तथ्यांक मात्र हो, कतिपय विद्यार्थीले आर्थिक स्रोत नै देखाउँदैनन् । त्यसको कुनै लेखाजोखा छैन । यो भनेको राजयलाई ठुलो घाटा हो । यदि ति युवाहरुलाई देशमै फर्काउने वातावरण निर्माण गर्न सक्यौं भने विदेशमा सिकेका ज्ञानलाई देशमै उपयोग गरी देश समृद्ध बनाउन सघाउ पुग्छ । त्यसका लागि युवाहरुलाई नेपाल फर्क भनेर मात्र हुँदैन नेपाल फर्केर यो गर भन्न सक्नुपर्छ ।

जब घरको व्यक्तिलाई घरमै रोक्न सकिँदैन भने बाहिरको व्यक्तिलाई घरमा ल्याउँछु भन्नु बेकार छ ।

हामीले जहिले पनि जे कुरामा पनि राज्यलाई मात्र आरोप लगाउने गरेका छौं । राज्यले वातावरण सिर्जना गरेन, राज्यले नीति राम्रो बनाएन भन्छौं तर आफै सम्भावना किन खाज्दैनौं ?

-राज्यको काम सहजकर्ताको भूमिका निर्वाह गर्नु हो । कानुनी झन्झट छ भने त्यसलाई हटाउनु हो । राम्रो काम गर्छु भन्नेको लागी सहुलियत कर्जाको व्यवस्था गरिदिने हो । बजारको सुनिश्चितता गरिदिनुपर्छ । तर हामीले के बुझ्छौ भने सबै राज्यले गरिदिनु पर्छ । त्यसैले यस विषयमा गम्भीरतापूर्वक सोच्नु पर्छ । भविष्य राम्रो बनाउन को चाहँदैन र ? तर कसैसँग प्लानिङ नै छैन कसैसंग प्लानिङ भिजन छ, लगानी गर्ने पैसा छैन भनेर रोकिएको छ । यदि यो सबै जुटाउने मान्छे छ भने उँंग आँट छैन । तिमी एक्लै छैनौ है तिम्रो साथमा हामी छौं भन्ने प्रत्याभुति राज्यले गराउन सक्नुपर्छ । तथापी गर्ने त व्यक्ति स्वयंले नै हो ।

अध्ययनका लागि स्थानान्तरण हुने परिपाटी जुन छ त्यो ग्रामीण क्षेत्रबाट नै सुरु भएको देखिन्छ । प्लस टु अध्ययन गरेका विद्यार्थी उच्च शिक्षाका लागी सहर छिर्नु अनिवार्य झैं ठानिरहेका छन् । यस्तो अवस्था किन आयाे ?

-ज्ञानको खोजीमा व्यक्ति एक ठाउँमा मात्र बस्दैन । यो आजको मात्र होइन, परापूर्वकालदेखि नै चलिआएको छ । जहाँको शिक्षा राम्रो छ त्यहीं जाने हो । हिजोको दिनमा नेपालीहरु अध्ययनका लागि बनारस जान्थे किन भने त्यहाँको शिक्षा राम्रो थियो । जहाँ अवसर राम्रो हुन्छ विद्यार्थी त्यहीं जाने हो । त्यसैले गाउँ बाट सहर, र सहर बाट विदेश जाने चलन चलेको हो । सिमानाले मान्छेलाई कहिल्यै रोक्दैन । यदि सिमानाले मान्छेलाई रोक्ने हो भने आशा जगाउन सक्नुपर्छ, सम्भावना जगाउन सक्नुपर्छ ।

युवाहरुलाई नेपाल फर्क भनेर मात्र हुँदैन नेपाल फर्केर यो गर भन्न सक्नुपर्छ ।

तपाईंहरुले नेपाललाई शैक्षिक हब बनाउन निजी क्षेत्र तयार छ भन्दै आउनुभएको छ । तर नेपाली विद्यार्थीहरु त बाहिरिरहेका छन् नि ? यस्तो अवस्थामा कसरी सम्भव होला ?

-जब घरको व्यक्तिलाई घरमै रोक्न सकिँदैन भने बाहिरको व्यक्तिलाई घरमा ल्याउँछु भन्नु बेकार छ । जबसम्म नेपाली विद्यार्थीलाई देशमै बस्ने वातावरण बनाउन सकिँदैन तबसम्म विदेशबाट विद्यार्थी ल्याउन सकिँदैन । तर सम्भावना नै छैन भन्ने चाँही होइन । जस्तै मेडिकल शिक्षामा विद्यार्थी ल्याउन सकिन्छ । किनभने शुल्क तुलनात्मक रुपमा कम छ र प्रतिष्पर्धा पनि तुलनात्मक रुपमा न्युन छ । अर्को कुरा शिक्षा ऐन निजी क्षेत्रमैत्री हुनुपर्छ, निजी क्षेत्रले विदेशी विद्यार्थी ल्याउन सक्ने नीति ल्याइदिनुपर्यो । करोडौ लगानी गरेर भौतिक संरचना बनाएको छ तर सिट भने थोरै छ यस्तो हुनुभएन । हामी विदेशी विद्यार्थी ल्याउन तयार छौं भने त्यही अनुसार फ्यासिलिटी सरकारले दिनुपर्यो ।

कहाँबाट ल्याउन सकिन्छ त विदेशी विद्यार्थी ?

-टाढा जानै पर्दैन सर्वप्रथम एनआरएनका विद्यार्थीलाई टार्गेट गरौं, उनीहरु आफ्ना छोराछारीलाई नेपालमा पढाउन चाहन्छन् । विदेशी तर नेपालमा कार्यरत व्यक्तिहरुको छोराछारीलाई पढाउन सकिन्छ । त्यसैगरी नेपाली भाषा मिल्ने जस्तै देश दार्जिलिङ देहरादुन, वर्मा, थाइल्याण्ड जस्ता देशका विद्यार्थी ल्याउन सके अन्य देशका विद्यार्थी स्वतः आउन थाल्छन् ।

अर्काे कुरा नेपाललाई हिन्दु र बुद्धिष्टको केन्द्र बनााउन सकिन्छ, माउन्टेन इन्जिनियरिङ पढाउन सकिन्छ, खेलकुद, संस्कृति, समाजशास्त्र र मानवशास्त्र, जस्ता विषयवस्तु अध्यापन गराउन सके विदेशी विद्यार्थी आउने प्रवल सम्भावना छ ।

यस भनाईको अर्थ नेपाललाई शैक्षिक गन्तव्य बनाउने सम्भावना छ तर राज्यले नीति खुकुलो बनाउनु पर्याे भन्ने हो ?

-हो, मुख्य कुरा त शैक्षिक क्यालेन्डर लागु गर्न सक्नुपर्छ । विदेशको विश्वविद्यालयलाई हेर्ने हो भने महिनौं अगाडि यो मितिमा तपाईको छोराछोरीको दिक्षान्त समारोह छ, त्यो समय बचाइराख्नु होला भन्नेर म्यासेज आउँछ । तर हाम्रो देशको अवस्था त्यस्तो छैन । परिक्षाको टुंगो छैन, नतिजा कहिले आउने हो त्यसको पनि टुंगो छैन ।

अहिले तपाईं आफैंले पनि गोल्डेन गेट कलेज सम्हालिरहनु भएको छ । यहाँ कस्ता शैक्षिक गतिविधि कसरी सञ्चालन भैरहेका छन् ? विद्यार्थीको रोजाईमा पर्नुको कारण के ?

-अहिले गोल्डेन गेट कलेजमा स्नातक तहमा १८ वटा, स्नातकोत्तरमा ७ वटा, प्लस टु मा तीन वटा, कार्यक्रम सञ्चालन भैरहेका छन् । हामी विद्यार्थीलाई उत्कृष्ट शिक्षा दिने प्रयास गरिरहेका छौं । नेपालको सन्दर्भमा हेर्ने हो भने अन्य शैक्षिक संस्थाले दिएको शिक्षा भन्दा हामीले उत्कृष्ट शिक्षा दिइरहेका छौं । कसरी बाँच्ने देखि लिएर कसरी मर्ने सम्मको शिक्षा हामीले प्रदान गरिरहेका छौं । हाम्रो लक्ष्य के हो भने ‘बेस्ट एजुकेशन इन बेस्ट इन्फ्रास्ट्रक्चर ।’

Skip This
Skip This
Logo