काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को भौतिकशास्त्र विभागमा प्रथम सेमस्टरमा अनुत्तीर्ण भएका विद्यार्थीले पनि अबदेखि सोधपत्र गर्न पाउने भएका छन् । विभागीय प्रमुख र अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनबीच सहमति भएपछि सबै विद्यार्थीले सोधपत्र गर्न पाउने भएका हुन् ।
त्रिविले प्रथम सेमेस्टरमा अनुत्तीर्ण भएको तथा बि ग्रेडभन्दा कम आएका विद्यार्थीलाई सोधपत्र गर्नबाट वञ्चित गराउँदै आएको थियो ।
अखिल क्रान्तिकारीका विद्यार्थी संगठनले कुनै एक विषयमा अनुत्तीर्ण भएको भन्दै अनुसन्धानबाट विद्यार्थीलाई वञ्चित गराउन नहुने भन्दै विभागीय प्रमुखको कार्यालयमा पुष ९ गतेदेखि ताला लगाएका थिए ।
विद्यार्थी संगठनले विभागीय प्रमुखको कार्यालय र प्रशासनमा ताला लगाए पनि तत्कालिन विभागीय प्रमुख प्राध्यापक डा. ओमप्रकाश निरौलाले बेवास्ता गर्दै आएका थिए । विभागीय प्रमुखका रुपमा नवनियुक्त प्रा.डा. नारायणप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले उक्त माग सम्बोधन गरिएको हो ।
प्रथम सेमेस्टरमा अनुतिर्ण भएका विद्यार्थीलाई सोधपत्रबाट वञ्चित गराउनु हुँदैन भन्ने मागको सम्बन्धमा त्रिविको भौतिक विभाग र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बीच सहमति भएको हो ।
उपरोक्त विषयलाई नयाँ विषय समिति गठन गरी आउँदो माघ २८ गते पूर्ण बैठक बोलाई सकारात्मक रुपमा अगाडि बढ्ने र कार्यान्वयन गर्ने विभागीय प्रमुखले प्रतिवद्धता व्यक्त गरेका छन् । दुई पक्षबीच सहमति भएपछि विभागीय प्रमुअको कार्यालय र प्रशासनका लागेको ताला विद्यार्थी संगठनले खोल्ने भएको छ ।





























प्रतिक्रिया