भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी जारी, पठन संस्कृति बचाइराख्ने अपेक्षा

भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी जारी, पठन संस्कृति बचाइराख्ने अपेक्षा

केन्द्रबिन्दु
153
Shares

काठमाडौँ । भृकुटीमण्डपमा दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०८१ जारी छ । पठन संस्कृतिको विकास र प्रवर्द्धन गरी देशमा शैक्षिक, बौद्धिक जनशक्ति उत्पादनको लक्ष्यसहित प्रदर्शनी सञ्चालन नगरिएको हो ।

‘चेतनाका लागि गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शैक्षिक सामग्री’ भन्ने उद्देश्यका साथ प्रदर्शनी सञ्चालन गरिएको छ । पुस्तक प्रदर्शनीमा नेपालसहित चीन र भारत लगायतका १५ वटा देशको सहभागिता रहेको छ ।

उक्त देशका प्रकाशक, उत्पादक तथा उत्पादकहरूको पुस्तक एकै स्थानमा जुटाउन प्रदर्शनीले महत्वपूर्ण भूमिका रहेको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अध्यक्ष शिवसागर शर्माले जानकारी दिए । प्रदर्शनीले दक्षिण एसियाली राष्ट्रहरुबीच शिक्षा, साहित्य, कला, संस्कृति र सञ्चारको आदानप्रदानको माध्यमबाट आपसी सम्बन्ध प्रगाढ बनाउन मद्दत पुर्‍याउने पनि शर्माले बताए ।

प्रदर्शनीमा साहित्यिक, आध्यात्मिक, लोकसेवा, चिकित्सा शिक्षा, बाल साहित्य, चिनियाँ भाषा, जस्ता विभिन्न विधाका पुस्तक, खेलकुद सामाग्री राखिएका छन् । प्रदर्शनीमा अवलोकन गर्न आउने विभिन्न पेसामा आबद्ध व्यक्तित्वहरूका साथै विद्यार्थीहरूको संख्या पनि बाक्लो रहेको छ ।

वर्षमा एक पटक आयोजना हुने यस्तो प्रदर्शनीले पठन संस्कृति बचाइराख्ने र एउटै स्थानमा विभिन्न थरिका पुस्तक छान्न सहयोग हुने पाठक डा. विश्वराज जोशीले बताए । यसै गरी प्रदर्शनी अवलोकन गर्न आएका विद्यार्थीहरूले विभिन्न देशका प्रकाशकहरूको पुस्तक अवलोकन गर्न पाएको साथै प्यानल डिस्कसनबाट धेरै कुरा सिक्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।

दोस्रो दक्षिण एसियाली अन्तर्राष्ट्रिय पुस्तकप्रदर्शनीमा १५० भन्दा बढी स्टलहरू राखिएका छन् । साथै देश तथा विदेशका एक सय पचास भन्दा बढी प्रकाशक तथा उत्पादकहरूको जमघट भएको अध्यक्ष शर्माले जानकारी दिए ।

प्रदर्शनीमा नेपाल तथा अन्य देशकासमेत शैक्षिक, आर्थिक, सामाजिक तथा विभिन्न विषय र क्षेत्रका विज्ञहरूबीच छलफल, बहस र अन्तरक्रिया गरिँदै आइएको छ । पौष १७ गतेबाट आयोजना भएको पुस्तक प्रदर्शनी २१ गतेसम्म सञ्चालन हुनेछ ।

Logo