मुगुका स्थानीय तहमा भोटे र नेपाली भाषाका पाठ्यपुस्तक

मुगुका स्थानीय तहमा भोटे र नेपाली भाषाका पाठ्यपुस्तक

केन्द्रबिन्दु
24
Shares

मुगु । मुगुमा रहेको एक नगरपालिका र तीन गाउँपालिका गरी चार स्थानीय तह मध्य बौद्ध (भोटे) समुदायको बाक्लो बसोबासलाई मध्यनजर गर्दै स्थानीय विद्यालयहरूमा भोटे र नेपाली पाठ्यक्रम लागू गरिएको छ ।

नेपालको संविधानले स्थानीय पाठ्यक्रमको परिकल्पना गर्दै त्यसको निर्माण गर्ने जिम्मेवारी स्थानीय तहलाई जिम्मा दिएअनुसार मुगूम कार्मारोङ गाउँपालिकाले भोटे र नेपाली भाषामा पाठ्यपुस्तक निर्माण गरी पठनपाठनमा सञ्चालनमा ल्याएको हो ।

पालिकामा ९० प्रतिशत बौद्ध (लामा) धर्मावलम्बी र १० प्रतिशत हिन्दुहरूको बाहुल्यता रहेकाले १७ वटा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरूको पठनपाठनमा सहजताका लागि स्थानिय खस नेपाली भाषा र बौद्ध (लामा) भाषामा पाठ्यक्रम तयार गरेको हो । यसमध्ये कक्षा २ र ३ को पाठ्यपुस्तक निर्माणको तयारी भइरहेको छ । नेपाली भाषा पढ्न समस्या भएको सुनाउँदै स्थानीय विद्यार्थी छेन्डेल्मा लामाले भोटे भाषाका कारण हाललाई सहज भएको बताइन् ।

पालिकामा खसान र भोटेहरूको बसोबास भएकाले भोटे समुदायका बच्चाहरूलाई नेपाली भाषा पठनपाठनमा समस्या आउने गरेको स्थानीय अभिभावकहरूको भनाइ छ । हिन्दु र बौद्ध धर्मावलम्बीहरूको भूगोल, कला, संस्कृति, जडिबुटी, स्थानीय रैथाने अन्नबाली, वेशभूषा, इतिहास, भाषा, धर्म, स्वास्थ्य, सरसफाई, पर्यावरण, पेसा–व्यवसाय, विपद् व्यवस्थापन तथा जीवनउपयोगी सीप समेटेर हिन्दु र बौद्ध भाषामा पाठ्यक्रम निर्माण गरिएकाले पढ्न र लेख्न निकै सहज भएको अभिभावक ठिल्ले लामाले बताए ।

गाउँपालिका र करानी सामुदाय विकास केन्द्र नामक सस्थाको पहलमा कक्षा एकको स्थानीय नेपाली भाषा र बौद्ध भाषामा पाठ्यपुस्तक निर्माण गरी विद्यालयमा सञ्चालनमा आएपछि हिलो आज कक्षामा पढाउन र लेखाउन निकै सहज भएको शिक्षकहरू बताउँछन् ।

पालिकाभित्रका वेशभूषा, रीतिरिवाजलाई समेटेर निर्माण गरिएको स्थानीय पाठ्यपुस्तकले मुगूम कार्मारोङ गाउँपालिकाको शिक्षा सुधारमा निकै ठूलो सहयोग पुग्ने माध्यमिक विद्यालयका माग्रीका प्रधानाध्यापक लग्नसिंह सेजुवालले बताए ।

स्थानीय पाठ्यपुस्तक कक्षा १ देखि ८ कक्षासम्म सञ्चालन गर्ने नेपाल सरकारको नीति भए पनि पहिलो चरणमा कक्षा १ को पाठ्यपुस्तक निर्माण गरी सञ्चालनमा ल्याइएको र कक्षा २ र ३ को पुस्तक निर्माण अन्तिम चरणमा रहेको मुगूम कार्मारोङ गाउँपालिका शिक्षा शाखाका देवीसन्ना ठकुरीले बताइन् ।

Logo