सुर्खेत । विश्वविद्यालयबीच अनुसन्धान, विद्यार्थी र शिक्षक आदानप्रदान तथा अन्तर विषयात्मक कार्यक्रमहरू मार्फत उच्च शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्यमा पाँच विश्वविद्यालय एकमत भएका छन् ।
पाँच विश्वविद्यालयहरूले शैक्षिक सहकार्य र अनुसन्धान साझेदारीलाई प्रवर्द्धन गर्न आपसी समझदारी पत्रमा शनिबार हस्ताक्षर गरेका हुन् । सम्झौता पत्रमा सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्त, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुव कुमार गौतम, नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा. डा. शिलु मानन्धर, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजुकुमार थपलिया र लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा. डा. विनोदप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार, विश्वविद्यालयहरू पोस्ट ग्र्याजुएट तहका अनुसन्धान परियोजनाहरू, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको आदानप्रदान कार्यक्रम र संयुक्त शैक्षिक कार्यक्रमहरूको विकासमा सहकार्य गर्नेछन् । साथै, संयुक्त रूपमा सेमिनार, सम्मेलन र अनुसन्धान परियोजनाहरू आयोजना गर्नुका साथै शैक्षिक स्रोत र प्रकाशनहरू आदानप्रदान गर्नेछन् ।
सुदूरपश्चिम विश्वविद्यालयमा सञ्चालित अन्तर्राष्ट्रिय सम्मेलनमा भएको उक्त सम्झौताको अवधि पाँच वर्षको रहेको छ भने प्रत्येक पाँच वर्षमा स्वतः नवीकरण हुने प्रावधान उल्लेख गरिएको छ । यदि कुनै विश्वविद्यालयले सम्झौताबाट बाहिरिन चाहेमा कम्तीमा छ महिनाअघि सूचना दिनुपर्नेछ ।
विश्वविद्यालय पदाधिकारीका अनुसार, यस साझेदारीले नेपालमा शैक्षिक तथा अनुसन्धानको क्षेत्रमा नयाँ आयाम थप्नेछ साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सहकार्यलाई प्रवर्द्धन गर्नेछ भने विद्यार्थी तथा शिक्षकहरूका लागि सिकाइ र नवीनताको अवसर बढाउने अपेक्षा गरिएको छ ।































प्रतिक्रिया