आन्दोलनमा सँगै उत्रिएका शिक्षक र कर्मचारीबीच नै चर्काचर्की परेपछि…

आन्दोलनमा सँगै उत्रिएका शिक्षक र कर्मचारीबीच नै चर्काचर्की परेपछि…

केन्द्रबिन्दु
90
Shares

काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिप्रति नेपाल विद्यालय कर्मचारी परिषद्ले असहमति जनाएको छ ।

झण्डै एक महिना लामोसमय आन्दोलनमा उत्रिएपछि बुधबार शिक्षक महासंघले सरकारसँग नाैबुँदे सहमति गरेको थियो र आजबाट महासंघले आन्दोलन स्थगित भएको जानकारी गरायो । त्यसका लागि महासंघले आज मध्यबानेश्वरको रत्नराज्यलक्ष्मी माविमा समापन तथा शुभकामना कार्यक्रम राखेको थियो । तर, विद्यालय कर्मचारी परिषद्का कमर्चारी सहमतिप्रति असन्तुष्टि जनाएपछि कार्यक्रम स्थगित नै गर्नुपर्ने अवस्था आएको छ ।

सरकारसँगको सहमतिमा कर्मचारीका विषय नसमेटिएको उनीहरुको गुनासो छ । घर नफर्की चाँडै आन्दोलनका थप कार्यक्रम अघि बढाउने रणनीतिमा उनीहरु लागेका छन् ।

यी हुन् सरकार र शिक्षक महासं‌घबीच बुधबार भएकाे नाै बुँदे सहमति-

१) शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने।

२) अस्थायी प्रकृतिका शिक्षक – राहत,अस्थायी, साबिक उमावि, सिकाई अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त गर्ने।

३) प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोके बमोजिम व्यवस्था गर्ने।

४) आगामी आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकहरूको लागि निजामती सरह ग्रेड सङ्ख्या र रकम कायम गर्ने।

५) स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने।

६) सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने।

७) नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरूलाई समावेश गर्ने।

८) नेपाल शिक्षक महासङ्घको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, कर्मचारी तथा पत्रकारहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने।

९) निम्न माध्यमिक तह प्रथम श्रेणी का शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुनेगरी कायम गर्ने।

Logo