काठमाडौं । प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कूलले आयोजना गरेको ‘एनईबी स्टीम एक्जिबिसन’, ‘एनईबी फ्युचरप्रेनर्स फेयर’, र ‘एनईबी द भ्वाइस’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
एनईबी कार्यक्रमअन्तर्गत कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रम ललितपुरको खुमलटारस्थित स्कुलकै प्रांगणमा सम्पन्न भएको हाे । कार्यक्रममा विज्ञान संकायका विद्यार्थीहरूले ‘साइन्स स्टीम एक्जिबिसन’ अन्तर्गत विभिन्न प्रदर्शनी गरेका थिए। उनीहरूले रोबोटको प्रयोगबाट पानी कसरी सफा गर्न सकिन्छ भन्ने परियोजना प्रस्तुत गरे।
मोबाइल फोनबाट नियन्त्रण गर्न मिल्ने पानी शुद्धीकरण प्रणाली पनि विद्यार्थीहरूले प्रदर्शनमा राखेका थिए। त्यसैगरी, वातावरणमा पाइने वनस्पतिबाट लिप बाम र परफ्युम बनाएर पनि विद्यार्थीहरूले आफ्नो सिर्जना प्रस्तुत गरे।
‘एनईबी फ्युचरप्रेनर्स फेयर’ कार्यक्रममा व्यवस्थापन विषयका विद्यार्थीहरूले ‘म्यानेजमेन्ट स्टीम प्रिजेन्टेशन’ गरेका थिए। उनीहरूले नेपाली ब्राण्डहरूले बजारमा कसरी आफ्नो स्थान बनाएका छन् र यी ब्राण्डहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा कसरी स्थापित हुन सफल भएका छन् भन्ने विषयमा अध्ययन गरी त्यसलाई अझ कसरी राम्रो बनाउन सकिन्छ भन्ने सम्बन्धमा विज्ञापनहरू तयार पारेका थिए। विद्यार्थीहरूले ती ब्राण्डका प्रतिनिधिहरूलाई आफ्ना सल्लाह र सुझावहरू पनि दिएका थिए।

त्यसैगरी, ‘एनईबी द भ्वाइस’ कार्यक्रममा विद्यार्थीहरू स्वयंले लेखेका, डिजाइन गरेका र प्रकाशन गरेका म्यागजिनको विमोचन गरिएको थियो।
विद्यालयले पढाइ किताबी ज्ञानमा मात्र सीमित नभई व्यावहारिक पनि हुनुपर्ने कुरामा जोड दिँदै आएको छ। विद्यार्थीहरूले हासिल गरेको ज्ञानलाई समाजमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयलाई यस विद्यालयले प्राथमिकता दिँदै आएको छ।
कार्यक्रममा स्कुलकी एकेडेमिक डाइरेक्टर प्रविना थापाले विद्यार्थीहरूलाई केवल ज्ञान दिने मात्र नभई उनीहरूले सिकेको ज्ञानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा कसरी जोड्न सकिन्छ भन्ने विषयमा विद्यालयले विशेष ध्यान दिँदै आएको बताइन्।

त्यस्तै, स्कुलका एनईबी प्रोग्राम कोअर्डिनेटर अच्युत लम्सालले भने, ‘एनईबीको कोर्स भनेको विद्यार्थीलाई पाठ्यक्रममा आधारित भएर पढाउने, परीक्षा सञ्चालन गर्ने र उत्तीर्ण गराउने मात्र हो। तर प्रिमियर इन्टरनेशनलले आईबी पाठ्यक्रमलाई अनुसरण गरेकाले एनईबी कार्यक्रमलाई पनि आईबीकै ढाँचामा लैजान सकिन्छ भनेर हरेक वर्ष विद्यार्थीहरूको सहभागितामा साइन्स फेयर, म्यानेजमेन्ट फेयर सञ्चालन गर्दै आएका छौं।’

यस कार्यक्रमको आर्थिक व्यवस्थापन पनि विद्यार्थीहरूले नै गरेका थिए। कार्यक्रममा विज्ञान संकायबाट ५ वटा र व्यवस्थापन संकायबाट ४ वटा समूहको सहभागिता रहेको थियो।
































प्रतिक्रिया