काठमाडौं । १० वर्षे माओवादी द्वन्द्वका क्रममा विभिन्न कारणले जागिर छोडेका शिक्षकहरुले पुनर्बहालीको माग गरेका छन् । उनीहरुले चरणबद्ध आन्दोलनको समेत घोषणा गरेका छन् ।
द्वन्द्वपीडित शिक्षक केन्द्रीय संघर्ष समितिले राजनीतिक कारण विस्थापित भई जागिर छोडेका शिक्षकहरुको पुनर्बहालीको माग गरेको हो। समितिको दोस्रो राष्ट्रिय भेलाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। संघर्ष समितिका अध्यक्ष सर्पराज सिंहले सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन अनुसार द्वन्द्वपीडित शिक्षकलाई पुनर्बहाली गर्न अल्टिमेटम लिएका हुन् ।
अध्यक्ष सिंहले वि.सं. २०७३ सालमा द्वन्द्वपीडित शिक्षक तथा कर्मचारीहरुको पुनर्बहाली सम्बन्धमा गठित जाँचबुझ समितिले सिफारिस गरी पेश गरेका निर्णयहरु अनुसार क्षतिपूर्तिसहितको पुनर्बहाली गर्न माग गरेका हुन् ।
उनीहरुले पहिलो चरणको आन्दोलन अन्र्तगत भेटघाट, छलफल, डेलिगेसन, ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ । आइतबार नेकपाका नेता सुवासचन्द्र नेम्वाङसँग भेटेका संघर्ष समितिका पदाधिकारीहरुले सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्दै छन्।
माग पूरा नभए दोस्रो चरण पुस १ गतेदेखि माघ २५ गतेसम्म धर्ना बस्ने संघर्ष समितिले जनाएको छ। तेस्रो चरणमा फागुन १ गतेदेखि २५ गतेसम्म रिले अनशन गर्ने कार्यक्रम रहेको छ । चौंथो चरणसम्ममा पनि माग पूरा नभए चैत्र १ गतेदेखि अनिश्चितकालिन आमरण अनशन बस्ने घोषणा संघर्ष समितिले जनाएको छ।
राज्य र विद्रोही पक्षको दोहोरो चेपुवामा परेका २ सय ३५ जना स्थायी, २ सय ६४ जना अस्थायी, १८ जना स्थायी भएर पनि हाजिर हुन नपाएका र ४१ जना उमेरले हद नाघेका वा मृत्यु भएका शिक्षकहरुलाई सरकार गठन गरेको छानबिन समितिले ‘द्वन्द्वपीडित’ भनेको छ।





























प्रतिक्रिया