मकवानपुर । संघीय संसदका सांसदहरूले चित्लाङमा अवस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थलगत अवलोकन गरेका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापासहित देवेन्द्र पौडेल, छविलाल विश्वकर्मा, महेन्द्र कुमार राय, राम प्रकाश चौधरी, सरिता भुषाल, तथा ज्ञानु बस्नेत सुबेदीले विश्वविद्यालयको स्थलगत अवलोकन गरेका हुन् । यस अवसरमा सांसदहरूले विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरूसँग अन्तरक्रिया पनि गरे ।
भ्रमणका क्रममा सदस्यहरूले विश्वविद्यालयमा स्थापित डिजिटल प्रविधि, च्याउ, प्लान्ट प्याथोलोजी, जैविक तथा प्राकृतिक स्रोतसाधन, तथा दिगो तथा लचिलो पूर्वाधार सम्बन्धी अनुसन्धान प्रयोगशालाहरूको अवलोकन गरी सम्बन्धित विषयका अनुसन्धान गतिविधिबारे जानकारी लिए । संयोजकहरू डा. भुषण श्रेष्ठ, डा. सबिना श्रेष्ठ, डा. अनुपमा श्रेष्ठ, डा. सर्बेश दास डंगोल, डा. किशोर तिमल्सिना तथा डा. राजिब सुब्बाले आ-आफ्नो कार्यक्रम अन्तर्गत भइरहेको अनुसन्धानबारे जानकारी गराएका थिए ।
विश्वविद्यालयका उपाध्यक्ष पद्म सुन्दर जोशीले स्वागत मन्तव्य राख्दै निर्देशक डा. कीर्ति कुसुम जोशीले शैक्षिक कार्यक्रमका बारेमा जानकारी दिएका थिए । त्यसैगरी, उक्त कार्यक्रममा डिजिटल प्रविधि, अर्ग्यानिक कृषि, वनजन्य जैविक सामग्रीहरू, दिगो तथा लचिलो पूर्वाधार विषयमा अध्ययनरत विद्यावारिधि तथा स्नातकोत्तर तहका विद्यार्थीहरूले आफ्ना शोधसम्बन्धी जानकारी प्रस्तुत गरेका थिए।
विश्वविद्यालयका अध्यक्ष राजेन्द्र ध्वज जोशीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई विश्वस्तरीय बनाउन आवश्यक नीतिगत सहयोग शीर्षकमा प्रस्तुतीकरण गर्दै राजनीतिक क्षेत्र लगायत समाजका विभिन्न तह र तप्काबाट उक्त विश्वविद्यालयलाई आवश्यक सहयोगबारे जानकारी गराए । उनले यस हिमवत खण्डमा कुनै कालखण्डमा ठूला ठूला विश्वविद्यालय रहेको जानकारी दिँदै ज्ञान नै समृद्धिको आधार हो र अनुसन्धान नै राष्ट्रलाई विकास गर्ने आधार रहेको बताए ।
अध्यक्ष जोशीले अनुसन्धान अनुदानको अवधि ४-५ वर्ष हुनुपर्ने, अनुसन्धानका लागि खर्च १० वर्षभित्र कुल ग्राहस्थ उत्पादनको ०.४ प्रतिशत हुनुपर्ने साथै कुल ग्राहस्थ उत्पादनको ०.४ प्रतिशत उच्च शिक्षाको लागि विनियोजन गर्नुपर्नेमा जोड दिए । साधारणतया विश्वविद्यालयमा अनुसन्धान कार्य गर्ने भनेकै स्नातकोत्तर र विद्यावारिधि स्तरका विद्यार्थीहरूले गर्ने भएकाले उच्च शिक्षामा अनुसन्धान अपरिहार्य गरी अनुसन्धानमा संलग्न विद्यार्थीहरूलाई वित्तीय सहयोग आवश्यक पर्ने अध्यक्ष जोशीले बताए ।
हाल मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले आफ्ना विद्यार्थीहरूलाई मासिक वृत्ति रु. ३० हजार सम्म प्रदान गरिरहेको छ, जसले गर्दा विद्यार्थीहरूलाई आफ्नो अनुसन्धानमा दत्तचित्त रहन मद्दत गरेको छ। हालसम्म यो सार्वजनिक संस्थाले चन्दादाताहरूको सहयोगमा १ करोड पचास लाखसम्म प्रदान गरिसकेको जानकारी समेत दिए । १५ करोड भन्दा बढी वार्षिक कारोबार गर्ने संस्थाले आर्जन गरेको नाफाको कम्तिमा १ प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्वका लागि छुट्याउने व्यवस्था कानुनमै गर्नुपर्ने सुझाव सभासदहरूलाई दिइयो।
साथै, योगमाया विश्वविद्यालयलाई व्यवस्था गरिए जस्तै मदन भण्डारी विश्वविद्यालयलाई पनि विदेशी व्यक्तिले चन्दा दिँदा कर नलाग्ने व्यवस्था उपयुक्त हुने सुझाव पनि दिइयो। नेपालको हाल प्रचलित व्यवस्था र मूल्य मान्यताभित्र रही विश्वस्तरीय विश्वविद्यालय सम्भव नभएकोले यथास्थितिमा परिवर्तन हुनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय देबेन्द्र पौडेलले विश्वविद्यालयको स्थापनाको क्रममा उठेका विभिन्न टीका टिप्पणीलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाले “उद्देश्य के लिनु उडी छुनु चन्द्र एक” भने झैँ आज मदन भण्डारी विश्वविद्यालयको प्रगतिले सार्थकता प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै छोटो समयमा गरेको पूर्वाधार विकास र अनुसन्धान प्रगतिमा सन्तुष्टी व्यक्त गरे । उनले आगामी दिनहरूमा मदन भण्डारी विश्वविद्यालयले नेपाल सरकारको अनुसन्धान नीति बनाउनमा सहयोग गर्ने अपेक्षा समेत गरे । अनुसन्धान मार्फत ज्ञानलाई उत्पादनसँग जोडी नेपालका विभिन्न क्षेत्रमा योगदान गर्ने विद्यार्थी उत्पादन गर्न जोड दिए ।
चित्लाङ जस्तो रमणीय स्थानमा रहेको मदन भण्डारी विश्वविद्यालय नेपालका मात्र नभई छिमेकी राष्ट्रहरू लगायत अन्य राष्ट्रहरूबाट समेत विद्यार्थीहरू यहाँ आउने वातावरण बनोस् भन्ने शुभकामना दिए । उक्त प्रतिनिधि मण्डलका सदस्य माननीय छविलाल विश्वकर्माले मदन भण्डारी विश्वविद्यालय परिवारको प्रतिबद्धतालाई प्रशंसा गर्दै अनुसन्धानमा संलग्न रहेका अनुसन्धानकर्मीहरूलाई नेपाल सरकारले उत्प्रेरणा दिनुपर्ने धारणा राखे । नेपालमा पनि कुनै अनुसन्धान गर्ने अठोटलाई एउटा मिसनका रूपमा लिएर अगाडि बढेमा उद्देश्य प्राप्त गर्न सकिन्छ भन्ने देखेर प्रतिनिधि मण्डललाई प्रेरणा प्राप्त भएको जानकारी समेत दिए ।
प्राध्यापकहरूले मदन भण्डारी विश्वविद्यालय आउने चित्लाङ सडक “गणेश मान सिंह राजमार्ग” को दुरावस्थाको बारेमा अवगत गराउँदै माननीयहरूले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइ उक्त सडक समयमै सुरक्षित यात्राको लागि उपयुक्त हुने व्यवस्था गर्न अनुरोध गरे ।
कार्यक्रममा समितिका सभापति थापाले आफ्नो मन्तव्यको क्रममा विश्वविद्यालयले गरेको कामको प्रशंसा गर्दै विश्वविद्यालयले कृषिको उत्पादनमा आधुनिकीकरण कसरी गर्न सक्छ र सोको प्रत्यक्ष प्रभाव नागरिकसम्म पुर्याउन सक्नुपर्छ भन्ने कुरामा लाग्न अनुरोध गरे । मदन भण्डारी विश्वविद्यालयले अख्तियार गरेको नीति तथा कार्यक्रमहरू अरू विश्वविद्यालयका लागि पनि अनुकरणीय हुनेमा विश्वास व्यक्त गरे ।
अबका दिनहरूमा विद्यार्थीहरू खाडी मुलुक जाने होइन, आफ्नो ज्ञानको सदुपयोग गर्दै आफ्नो अनुसन्धानको परिणाम नागरिक स्तरसम्म लाने प्रयत्न गर्नुपर्ने सुझाव समेत दिए ।





























प्रतिक्रिया