काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) दिनका लागि अब विद्यार्थीको उमेर १४ वर्ष पूरा भएको हुनुपर्नेछ । राष्ट्रिय परीक्षा बोर्डले २०८२ मा एसइई दिने विद्यार्थीको हकमा उक्त नियम लागू गर्ने गरि निर्णय गरेको हो ।
बोर्डको यस निर्णयले हजारौं विद्यार्थी परीक्षाबाट वञ्चीत हुने देखिएको छ । कतिपय विद्यार्थी परीक्षामा सामेल हुन नपाउने भएका छन् त अधिकांश विद्यार्थी दुई चार दिनको फरक भएका कारण परीक्षा छुट्ने अवस्था सिर्जना भएको छ । जसका कारण विद्यार्थी र अभिभावक चिन्तित बनेका छन् ।
विद्यार्थीको १० वर्ष लगानी खेर जाने त भएको छ नै त्यसमाथि विद्यार्थीमा नकारात्मक प्रभाव पनि पर्ने पक्का छ । तर यस विषयमा विद्यालय, शिक्षक, शिक्षा मन्त्रालय, प्याब्सन, एनप्याब्सन, अभिभावक महासंघ पनि मौन देखिन्छ ।
४ वर्ष अगाडि हटाइएको थियो उमेरहद
वि. सं २०७८ भन्दा अगाडि एसइई दिनका लागि विद्यार्थीको उमेर १४ वर्ष पुरा भएको हुनुपथ्र्याे तर २०७८ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइई दिनका लागि १४ वर्ष पूरा हुनुपर्ने बाध्यात्मक व्यवस्था खारेज गरेको थियो । २०७८ चैत २ गते बसेको मन्त्रिस्तरीय निणर्यबाट एसईई दिने विद्यार्थी १४ वर्ष उमेर पुग्नुपर्ने थ्रेसहोल्ड खारेज गरिएको थियो तर फेरि उक्त निर्णयलाई पुनः लागू गर्ने बोर्डले निर्णय गरेको छ ।
यो नियम लागू भएसँगै २०६८ चैत मसान्त सम्मको जन्ममिती भएका विद्यार्थी मात्र परीक्षामा सामेल हुन पाउने छन् । उमेर नपुगेको हकमा कक्षा १० मा रजिष्ट्रेशन फाराम भर्नका लागि विद्यार्थीले २०६८ चैत मसान्तसम्मको जन्म मिति उल्लेख गरेर भर्न पाइने बोर्डले जनाएको छ । संसदमा रहेको शिक्षा सम्बन्धि कानूनलाई एकीकरण तथा संशोधन गर्न बनेको विधेयक पारित भएपछि एक पटकका लागि जन्म दर्ता सच्याउन सकिनेछ । त्यसबेला रजिष्ट्रेशन फारामअनुसार जन्म मिति सच्याउन सकिने बताइएको छ ।
चार वर्षअघि हटाइएको प्रावधान पुनः लागू गरिएपछि विद्यार्थीसँगै अभिभावक पनि के गर्ने के/नगर्ने दोधारमा छन् ।
के छ नियमावलीमा ?
शिक्षा नियमावलीको दफा ७८ को उपदफा ६ मा १४ वर्ष पूरा नभएका विद्यार्थीलाई एसइईमा समावेश हुन नपाउने उल्लेख छ । तर माध्यमिक शिक्षा कक्षा १२ सम्म भएकाले २०७८मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइईमा सहभागी हुने उमेरको सिमा हटाएको थियो । त्यतिबेला कक्षा १२ को परीक्षामा सहभागी हुनका लागि मात्रै १४ वर्ष पूरा भएको हुनुपर्ने तर एसइईमा जति वर्षका विद्यार्थी पनि सहभागी हुन पाउने व्यवस्था लागू गरिएको थियो ।
राष्ट्रिय परीक्षा बोर्डले अहिले कक्षा १० को रजिस्ट्रेसन फाराम खुल्ला गरेको छ । फाराम भर्ने समय जेठ मसान्तसम्म निर्धारण गरिएको छ । तर फाराम भर्ने क्रममा धेरै विद्यार्थीको उमेर १४ वर्ष पार नगरेको देखिएको छ ।





























प्रतिक्रिया