देशमा कामको अभाव होइन, सही प्रणाली र मार्गदर्शनको खाँचो हो -अध्यक्ष शेषराज भट्टराई

देशमा कामको अभाव होइन, सही प्रणाली र मार्गदर्शनको खाँचो हो -अध्यक्ष शेषराज भट्टराई

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले नेपाली युवाको भविष्य निर्माणमा शैक्षिक परामर्श क्षेत्रले महत्वपूर्ण भूमिका खेलिरहेको बताएका छन्।

ईक्यान ललितपुरद्वारा आयोजित ‘एजुकेसन युथ समिट’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले आजको युवा पुस्तालाई ग्लोबल अवसर र अन्तर्राष्ट्रिय शिक्षा प्रणालीसँग जोड्ने काम शैक्षिक परामर्श क्षेत्रले गरिरहेको स्पष्ट पारे ।

उनकाअनुसार, हाल इक्यानसँग ६५० भन्दा बढी शैक्षिक परामर्श संस्था आबद्ध छन्। उनले भने, “हामी अब केवल एजुकेसन कन्सल्टेन्सी मात्र हैनौं, हामी ग्लोबल युथ एस्पिरेसन र ट्रान्सनेशनल एजुकेसनलाई जोड्ने एक इकोसिस्टम हौँ।”

नेपालका युवाले विदेशमा मात्र हैन, नेपालमै अन्तर्राष्ट्रिय शिक्षा पाउने वातावरण सिर्जना गर्न इक्यान प्रतिबद्ध रहेकाे उनकाे भनाइ छ ।

अध्यक्ष भट्टराईले आजको दिनमा शिक्षाको ढाँचा बदलिँदै गएको उल्लेख गर्दै भने, “अब कुरा केवल इन्टरनेशनल एजुकेसनको छैन, यो ट्रान्सनेशनल एजुकेसनको युग हो। हामी नेपालमा विदेशी विद्यार्थी ल्याउन सक्छौं, र नेपालबाट पनि विद्यार्थीलाई विश्वभर पठाउन सक्छौं।”

उनले नेपालका युवामा उच्च सम्भावना रहेको उल्लेख गर्दै भने, “आजको विश्वमा टेक्नोलोजीको कारणले युवाबीच कुनै भेद छैन। नेपाली युवाहरूले पनि विश्वभर प्रतिस्पर्धा गर्न सक्छन्।”

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उपस्थिति र योगदानको उल्लेख गर्दै भट्टराईले भने, “उहाँ गणतन्त्रको स्थापनामा मात्र नभई शैक्षिक क्षेत्रप्रति पनि सदैव सकारात्मक रहनुभएको छ। अहिले उहाँकै पार्टीका प्रतिनिधि शिक्षा समितिको सभापति हुनुहुन्छ, जसले शैक्षिक परामर्श क्षेत्रलाई विधिको दायरामा समेट्न सक्ने नीति निर्माणमा मार्गदर्शन दिनुपर्ने आवश्यकता छ।”

उनले शैक्षिक परामर्श क्षेत्रलाई शिक्षा ऐनमा स्पष्ट रूपमा समावेश गरी, व्यवसायिक परामर्शदातालाई राज्यका स्टेकहोल्डरको रूपमा मान्यता दिनुपर्ने माग गरे। “विद्यार्थीहरू विदेश जान चाहन्छन्, त्यो गलत होइन। तर प्रक्रियागत पारदर्शिता, सीप विकास र नेपाल फर्किएपछि योगदान गर्ने सोच आवश्यक छ,” अध्यक्ष भट्टराईले भने ।

उनले शिक्षा तथा रोजगारीका नाममा हुने गलत कार्यप्रणालीको विरुद्ध आवाज उठाउँदै, युवालाई निराश नभई आशावादी बन्न प्रेरित गरे।

Logo