काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा कार्यरत उपप्राध्यापक, सहप्राध्यापक र प्राध्यापकले पूर्ण सेवा सुविधा लिएर ३ देखि ५ वर्ष अध्ययन बिदा लिन पाउने व्यबस्था रहेको छ ।
तर अध्ययन बिदा लिएका प्राध्यापकहरुले बिदाको दुरुपयोग गर्दै आएका छन् । करिब ५ सय प्राध्यापक र कर्मचारीहरु अध्ययन बिदा लिए पनि पढाइ पूरा नगर्ने पूरा गरे पनि विदेशमै लुकेर बस्ने गरेको पाइएको छ, जसका कारण विश्वविद्यालयले डेढ अर्बभन्दा बढी नोक्सानी बेहोर्नु परेको छ ।
अध्ययन बिदाको सुविधा उपयोग गर्ने ३ सय २० जनाभन्दा बढीले अध्ययन पूरा नगरेको र १ सय ८० जना अध्ययनका लागि विदेश गएपनि विश्वविद्यालय नफर्केको भेटिएको छ । स्रोतका अनुसार बिदा लिएर पढाइ पूरा नगर्ने अधिकांश उपप्राध्यापक, सहप्राध्यापक, प्राध्यापकले निजी कलेजमा पढाउने गरेको समेत पाइएको छ ।
अध्ययन बिदामा बस्दा प्रतिव्यक्ति ३० देखि ४० लाखसम्म तलब सुविधा लिने गरेका छन् । औसतमा एक जनाले मासिक ६० हजार सुविधा लिँदा वार्षिक ७ लाख ८० हजार विश्वविद्यालयले दिनुपर्ने हुन्छ ।
४ वर्षको हिसाबले एक जनाले ३१ लाख २० हजार तलब पाउँछन् । यसरी ५ सय जनाले अध्ययन बिदाको रकम दुरुपयोग गर्दा विश्वविद्यालयलाई कम्तीमा डेढ अर्बको क्षति हुने गरेको छ । अध्ययन बिदा लिएर फर्केपछि त्यति नै समय विश्वविद्यालयमा अध्यापन गराउने प्रावधान छ । तर अध्ययन बिदामा प्राध्यापक, कर्मचारीले उक्त व्यवस्था उल्लंघन मात्रै गरेको नभई आर्थिक अनियमिततासमेत गर्दै आएका छन् ।
त्रिवि सामान्य प्रशासन महाशाखाअनुसार आर्थिक वर्ष २०७१ – ७२ यता करिब १ हजार शिक्षक, कर्मचारीले अध्ययन बिदा लिएका छन् । तीमध्ये ५० प्रतिशतभन्दा बढीले अध्ययन नै पूरा नगरेको र पूरा गरे पनि विश्वविद्यालय नफर्की तलब सुविधा उपभोग गरेको भेटिएको हो ।
त्रिविका ६४ आंगिक क्याम्पस, विभाग र केन्द्रीय कार्यालयमा कार्यरत शिक्षक, कर्मचारीले अध्ययन बिदाको दुरुपयोग गर्दै आएका छन् । अध्ययन बिदा दिएकाहरुले बिदा सकेपछि विश्वविद्यालय नफर्केको सन्दर्भमा १० प्रतिशतको दरले फिर्ता गर्नुपर्ने हुन्छ ।
त्रिवि कार्यकारी परिषद्ले अध्ययन बिदा लिने शिक्षक तथा कर्मचारी खोजबिन गर्न समिति गठन गरेको थियो । समितीले तयार पारेको प्रतिवेदन बुझाउने तयारीका रहेको छ । उक्त समितीले गत फागुन ९ मा देशभरका त्रिविका निकायलाई अध्ययन बिदा उपयोग गरी नफर्कने र उक्त बिदा दुरुपयोग गर्ने शिक्षक, कर्मचारीको विवरण उपलब्ध गराउन पत्राचार गरेको थियो ।





























प्रतिक्रिया