काठमाडौं । मोडल इन्टिच्युट अफ टेक्नोलोजी (एमआइटी)ले आयोजना गरेको १७ औं अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
अनुसन्धानमा अन्तर्राष्ट्रिय पहुँच, संस्थागत संलग्नता, र नवप्रवर्तनात्मक सोचको प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको सम्मेलन एमआइटीको प्राङ्गणमा सम्पन्न भएको हो ।
सम्मेलन आयोजनामा एमआइटीसँगै नोबेल एकेडेमी र स्वामी शुकदेवानन्द(पीजी) कलेजकाे पनि सहकार्य रहेकाे थियाे । सम्मेलनमा विज्ञान, व्यवस्थापन, मानविकी, वाणिज्य लगायतका क्षेत्रहरूमा नवप्रवर्तनको प्रभावबारे अनुसन्धानात्मक निष्कर्ष, केस स्टडी, तथा व्यवहारिक दृष्टिकोण प्रस्तुत गरिएको थियो ।
त्यसैगरी स्नातक, स्नातकोत्तर, पीएचडी धारक, प्राध्यापक, तथा प्रतिष्ठित विद्वानहरूले वाणिज्य, व्यवस्थापन, मानविकी, तथा अन्तर्विषयगत अनुसन्धानका विषयहरूमा आफ्नो अनुसन्धान प्रस्तुत समेत गरेका थिए ।
सम्मेलनमा प्रतिनिधी सभाकी उपसभामुख इन्दिरा रानामगरले विश्वविद्यालय र संस्थाबीचको सहकार्यले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रियस्तरको शिक्षा यहीँ नेपालमै दिन सकिने बताइन् । ‘‘विद्यार्थीहरु भारत वा अन्य देश जानै पर्छ भन्ने होइन, यहाँ नै गुणस्तरीय शिक्षा उपलब्ध गराउन सकिन्छ । तर, विद्यार्थीको अवस्था, संस्कार र सामाजिक सन्दर्भ पनि बुझ्नुपर्छ ।’’ उपसभामुख राणाले भनिन् ।
त्यसैगरी उपसभामुख रानाले नेपालका दुर्गम ठाउँहरूमा अझैपनि अवस्था शाैचालयको व्यवस्था नहुँदा विशेषगरी छात्राहरुले समस्या भोग्नुपरेको यथार्थको उजागर गर्दै भनिन्, ‘‘मैले दुई विद्यालयमा शौचालय बनाउन सहयोग गरे । अझैपनि धेरै ठाउँमा आधारभुत आवश्यकता पुरा भएको छैन । यो सम्मेलन विश्वविद्यालयबीचको सहकार्य हो, तर प्रविधिको प्रयोगले ती स्थानमा पुग्न सकिन्छ र सहयोग गर्न सकिन्छ ।’’
केएमसीका प्रिन्सिपल सुरेन्द्र सुवेदीले यो सम्मेलन नेपाल र भारतबीचको शैक्षिक सहकार्यका लागि एक महत्वपूर्ण प्रतीकको रुपमा सावित भएको बताए । उनले भने, ‘‘नेपाल र भारत विचको साझा इतिहास, संस्कृति र शैक्षिक सम्बन्धद्वारा मजबुत पारिएको यो सम्बन्धले अनुसन्धान र नवप्रवर्तनलाई अझ उचाइमा पुर्याइरहेको छ । यसरी दुई मुलुकबीचको शैक्षिक आदानप्रदानले आपसी समझदारी, नवप्रवर्तन र क्षेत्रीय शैक्षिक उत्कृष्टतालाई प्रवद्र्धन गरिरहेको छ ।’’

हाल यो सम्मेलन विभिन्न संकरणमा सञ्चालन भैरहेको छ । १५औं संस्करण भुटानमा, १६औं संस्करण पोखरास्थित नोबेल एकेडेमीमा र १७ औं संस्करण एमआइटीमा सम्पन्न भएको हो ।
सम्मेलनमा नेपाल र भारतबाट करिब १५० भन्दा बढीको सहभागिता रहेको थियो । जसमा युवा अनुसन्धानकर्ताहरू, उदाउँदा विद्वानहरू, पीएचडी स्कलरहरू, प्राध्यापकहरू तथा शैक्षिक क्षेत्रका अग्रणी व्यक्तिहरूको सक्रिय उपस्थिति रहेको थियो । सम्मेलनले शैक्षिक संवादलाई थप सशक्त बनाउने विश्वास गरिएको छ ।

यस सम्मेलनमार्फत एमआइटीले १३ वटा सम्झौतापत्र हस्ताक्षर गरेको छ । जसमा नेपालको तर्फबाट मोडल इन्टिच्युट अफ टेक्नालोजी र नोबेल एकेडेमीका साथै भारतका प्रतिष्ठित शैक्षिक संस्थाहरू समावेश छन् । यी सम्झौताहरूले स्रोतहरू साझेदारी, क्षमता विकास, तथा पारस्परिक चासोका क्षेत्रमा सहकार्यको बाटो खोल्ने विश्वास गरिएको छ ।
































प्रतिक्रिया