रुपिज इन्टरनेशनल स्कूलमा अन्तर्राष्ट्रिय योग दिवस विशेष कार्यक्रम सम्पन्न

रुपिज इन्टरनेशनल स्कूलमा अन्तर्राष्ट्रिय योग दिवस विशेष कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
177
Shares

काठमाडौं । रुपिज इन्टरनेशनल स्कूलले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा योगाको विशेष कार्यक्रम आयोजना गरेको छ ।

योगाले मन र मस्तिष्कलाई सन्तुलन राख्न सहयोग गर्दछ, यसैलाई मध्यनजर गर्दै स्कूलले योगा कार्यक्रमको आयोजना गरेको हो । स्कूलले स्थापना कालदेखि नै विद्यालयको शैक्षिक पाठ्यक्रममा योगलाई समेट्दै आइरहेको छ ।

सन् १९८२ मा स्थापना भएको रुपिज इन्टरनेशनल विगत ४४ वर्षदेखि योगलाई केवल योग दिवसको दिन मात्र नभई, विद्यालयले नियमित कक्षा तालिकामै योग अभ्यास समावेश गर्दै विद्यार्थीहरूलाई योगप्रति सजग र सक्रिय बनाउँदै आएको छ ।

स्कूलकी कोअर्डिडिनेटर गिता पुरीका अनुसार स्कूलमा विद्यार्थीहरु योगलाई निकै ध्यानपूर्वक अभ्यास गर्ने गरेका छन् । उनले भनिन्, ‘योगले शरीर र मनको सन्तुलन कायम राख्दछ । हामी मानसिक रूपमा बलियो नभएसम्म जीवनमा सन्तुलन सम्भव हुँदैन । आजको तनावपूर्ण युगमा हरेक व्यक्तिले योगलाई जीवनशैलीमा समावेश गर्न आवश्यक छ ।’

स्कूलकी योगा शिक्षक जयन्ती महर्जनले कार्यक्रममा विभिन्न योग अभ्यास गरेको जानकारी दिइन् । ‘मेरो लागि योग भनेको शरीर, मन, आत्मा र श्वासको एकता हो । आजको पुस्तामा योगलाई मुख्य रूपमा शारीरिक व्यायाम र स्वास्थ्यसँग जोडिन्छ । तर वास्तवमा योग केवल शारीरिक स्वास्थ्यसम्म सीमित छैन । योगले राम्रो मानसिक स्वास्थ्य, भावनात्मक सन्तुलन, सामाजिक अवस्था र आध्यात्मिक अवस्था समेत समेट्छ ।’ उनले भनिन् ।

‘योग अनुशासन हो, जीवनशैली हो, हामीले के खान्छौं, कसरी हिँड्छौं, कसरी काम गर्छौं, त्यो सबै योग हो । त्यसैले योगलाई विश्वभर प्रवद्र्धन गर्नुपर्छ, जनमानसमा योगबारे जागरुकता फैलाउनुपर्छ ।’ योग शिक्षक महर्जनले भनिन् ।

त्यसैगरी विद्यार्थीले पनि योग सेसन निकै फलदायी भएको बताएका छन् ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सञ्जय महर्जन र रूप नारायण श्रेष्ठको उपस्थिती रहेको थियो । उनीहरुले विद्यार्थीहरूका लागि विशेष योग सत्र सञ्चालन गरेका थिए । विद्यार्थीहरूले उक्त सत्रमा सक्रिय सहभागिता जनाउँदै विभिन्न योग अभ्यासहरू गरेका थिए ।

कार्यक्रममा रुपिज इन्टरनेशनल स्कूलका विद्यार्थी मात्र नभई केन्द्रीय विद्यालय र आइडल मोडेल स्कूलका विद्यार्थीहरुको पनि उत्साहजनक सहभागिता रहेको थियो ।

साना बालबालिकाहरूले कार्यक्रममा पिरामिड निर्माण, योग मुद्राहरू प्रदर्शन गरे भने जुनियर तथा सिनियर विद्यार्थीहरूले समेत योग कला प्रस्तुत गरे । अन्य विद्यालयका विद्यार्थीहरूले पनि आ–आफ्नो प्रस्तुति दिएर कार्यक्रमलाई आकर्षक बनाएका थिए ।

Skip This
Skip This
Logo