काठमाडौं । करुणामय मानव विकास संघले विभिन्न क्षेत्रका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।
संघले असार ६ गते बनेपाको जनज्योती माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै लगभग ८७ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो । कलेज तथा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिसँगै संघले विद्यार्थीहरुलाई पाठ्यसामग्री पनि वितरण गरेको छ ।
कार्यक्रममा संघका सदस्य नविन मानन्धरले संघले यो भन्दा अगाडि माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई मात्र छात्रवृत्ति वितरण गर्दै आएको जानकारी दिए । यद्यपी हाल भने संघले विश्वविद्यालय अध्ययनरत विद्यार्थीलाई समेत छात्रवृत्ति र पाठ्यसामग्री वितरणलगायतका सामग्री वितरण गरेको उनको भनाई छ ।
संघका अध्यक्ष सिद्धिगोपाल मानन्धरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा इमेज टेलिभिजनका महाप्रबन्धक रघुवरभक्त मानन्धर, वरिष्ठ साहित्यकार मोहन दुवाललगायतका अन्य विशिष्ठ व्यक्तिहरुको सहभागिता रहेको थियो ।
वि.सं. २०६२ सालमा स्थापना भएको संघले विभिन्न कार्यक्रममार्फत् शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । संघले सामाजिक सद्भाव कायम राख्दै शिक्षालाई आत्मनिर्भरताको मुल पाटो मान्दै विगत २० वर्षदेखि सामाजिक कार्यहरु गर्दै आएको छ ।































प्रतिक्रिया