नेपाललाई शैक्षिक हब बनाउन स्थानीयकरण र विश्वव्यापीकरण शिक्षाको सन्तुलन आवश्यक छ -पूर्वशिक्षामन्त्री भट्टराई

नेपाललाई शैक्षिक हब बनाउन स्थानीयकरण र विश्वव्यापीकरण शिक्षाको सन्तुलन आवश्यक छ -पूर्वशिक्षामन्त्री भट्टराई

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । पूर्वशिक्षामन्त्री विद्या भट्टराईले नेपाललाई शैक्षिक हबका रूपमा विकास गर्न स्थानीय तहमा आधारित शिक्षा र विश्वव्यापी नागरिक उत्पादन गर्ने शिक्षाबीच सन्तुलन आवश्यक रहेको बताएकी छन् ।

केन्द्रबिन्दु मिडिया प्रालिको आयोजनामा शुक्रबार भएको ‘तेस्रो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ कार्यक्रमअन्तर्गत ‘के नेपाल शैक्षिक हब बन्न सक्छ?’ विषयक प्यानल डिस्कसनमा बोल्दै उनले सो कुरा बताएकी हुन् ।

पूर्वशिक्षामन्त्री भट्टराईले अबको शिक्षा नीतिले विद्यार्थी बाहिर पठाउने मात्र नभई, विदेशी विद्यार्थी नेपाल भित्र्याउने र बाहिर गएका नेपालीहरूलाई पनि स्वदेश फर्कन प्रेरित गर्ने दिशामा बहस केन्द्रित हुनुपर्नेमा जोड दिइन् । उनका अनुसार, शैक्षिक हब बन्नका लागि विद्यालयहरूमा पर्याप्त विद्यार्थी, राम्रो शिक्षक र उत्कृष्ट नतिजा दिने क्षमता हुनुपर्छ।

“हामीसँग प्राकृतिक रूपमा उपलब्ध भएका कुराहरूलाई प्रविधिसँग कसरी जोड्ने भन्नेमा हाम्रो शिक्षा पुग्नुपर्छ,” उनले भनिन् ।

पूर्वमन्त्री भट्टराईले आफू मन्त्री हुँदा शिक्षामा सुधारका लागि व्यापक छलफल गरेको र हालको विधेयकमा कक्षा चारबाटै विषयगत शिक्षक राख्ने व्यवस्था गरिएको जानकारी दिइन् ।

शिक्षकहरूको गुणस्तर वृद्धि, पाठ्यक्रम परिमार्जन, दरबन्दी व्यवस्थापन र प्रविधिको अधिकतम प्रयोग अहिलेको आवश्यकता रहेको उनको भनाइ छ। “प्रविधिमा आधारित भएनौं भने हामी अन्तर्राष्ट्रिय शिक्षासँग प्रतिस्पर्धा गर्न सक्दैनौं,” उनले स्पष्ट पारिन् । मन्त्रालयसँग अहिले शिक्षा सुधारसम्बन्धी अध्ययन प्रतिवेदन रहेको र प्राप्त सुझावहरूलाई समितिले मन्त्रालयसम्म पुर्‍याउने प्रतिबद्धता पनि उनले व्यक्त गरिन् ।

Logo