काठमाडौं । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत वाग्लेले सरकारको हालको शैक्षिक नीतिले देशमा दक्ष जनशक्ति उत्पादन गर्नुभन्दा विद्यार्थीलाई विदेश पलायनमा प्रोत्साहन गरिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
शुक्रबार आयोजित ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ कार्यक्रममा बोल्दै उनले सरकारले आईटी शिक्षा र एआई (कृत्रिम बुद्धिमत्ता) जस्ता आधुनिक तथा भविष्यमुखी शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिएका हुन् ।
उपकुलपति वाग्लेले समय परिवर्तनसँगै शिक्षा नीतिमा पनि परिवर्तन आउनुपर्नेमा सरकार चुकेको बताए । उनका अनुसार विश्वविद्यालय किन खोल्ने, कसरी खोल्ने र केका लागि खोल्ने भन्ने विषयमा अध्ययन नै भएको छैन, जसले गर्दा विश्वविद्यालयहरूले कस्ता विद्यार्थी उत्पादन गर्ने भन्नेमा स्पष्टता छैन।
उनले छात्रवृत्तिमा मेडिकल शिक्षा पढाएर ठूलो संख्यामा डाक्टर उत्पादन गरिए पनि उनीहरूलाई विदेश पठाउने वातावरण बनेकोमा असन्तुष्टि व्यक्त गरे । “१२ हजार डाक्टर उत्पादन गर्ने तर १० हजार डाक्टरलाई विदेश पठाउने वातावरण बनेको छ,” उनले भने ।
उपकुलपति डा. वाग्लेले एआई, हाइड्रोपावर र कृषि अध्ययन गर्ने विद्यार्थीले छात्रवृत्ति पाउनुपर्नेमा जोड दिँदै सरकारले जुन विधामा लगानी गर्दा विद्यार्थीलाई सजिलै विदेश पठाउन सकिन्छ, त्यही विधालाई प्रोत्साहन गरिरहेको आरोप लगाए । उनले नेपाललाई शैक्षिक हब बनाउने कुरा गरिरहँदा विदेशी विद्यार्थी ल्याएर पढाउने नीति नै नभएकोमा पनि सरकारको आलोचना गरे ।
“चाइना जस्तो देशका १२ वटा विश्वविद्यालयले नेपाली विश्वविद्यालयमा विद्यार्थी पठाउन तयार छन्, तर सरकारसँग यस विषयमा कुरा गर्दा चासो देखाउँदैनन् अनि नेपाललाई शैक्षिक हब बनाउन सकिन्छ भनेर मात्र हुन्छ र?” उनले प्रश्न गरे ।
उनले डाक्टर पढाउने कुरा छोडेर कम्तीमा स्वतन्त्र रूपमा नर्सिङ पढाउनका लागि पनि विदेशी विद्यार्थी ल्याउन सक्नुपर्नेमा जोड दिए ।





























प्रतिक्रिया