काठमाडौं । शिक्षासेवी उमेश श्रेष्ठ ‘प्रोज्ज्वल नक्षत्र सम्मान, २०८२’बाट सम्मानित भएका छन् ।
केन्द्रबिन्दु डटकमले शुक्रबार आयोजना गरेको तेस्राे संस्करणको ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’मा शिक्षा क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै शिक्षासेवी श्रेष्ठलाई यो प्रतिष्ठित उपाधि प्रदान गरिएको हो।
आफ्नै लगनशीलता, दूरदृष्टि र पौरखका माध्यमबाट शिक्षा तथा स्वास्थ्यजस्ता आधारभूत क्षेत्रहरूमा श्रेष्ठले उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् ।
भोजपुरबाट काठमाडौंसम्मको यात्रामा, आज देशका अग्रणी शिक्षण संस्थामध्येको एक लिटिल एन्जल्स एजुकेशन ग्रुपका संस्थापक अध्यक्ष रहेका श्रेष्ठले उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन)को कमाण्ड सम्हालिसकेका छन् ।
साथै पूर्वराज्यमन्त्री एवं प्रतिनिधिसभा सदस्यको रूपमा उनी शिक्षा तथा स्वास्थ्यसम्बन्धी विभिन्न नीति निर्माण प्रक्रियामा सहभागी भएर योगदान दिएका छन् ।
सम्मानित भएपछि श्रेष्ठले यो प्रतिष्ठित अवार्ड प्राप्त गर्न पाउँदा आफू अत्यन्तै खुशी र गौरवान्वित महसुस गरेको बताए । उनले यो सम्मानले आफूलाई शिक्षा क्षेत्रमा अझ बढी सक्रिय भएर लाग्न प्रेरणा मिलेको बताए ।
केन्द्रबिन्दु प्लस टु एक्सिलेन्स एजुकेसन अवार्डले शिक्षा क्षेत्रमा योगदान गर्ने व्यक्ति तथा शैक्षिक संस्थाहरूलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । श्रेष्ठजस्ता शिक्षासेवीको सम्मानले नयाँ पुस्तालाई पनि शिक्षाको विकासमा लाग्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।
यस अवार्ड समारोहमा शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरू, नीति निर्माताहरू, देशभरका उत्कृष्ट संस्थागत तथा सामुदायिका विद्यालयका विद्यार्थी, शिक्षकहरु, र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति थियो।































प्रतिक्रिया