शिक्षामा राजनीति घुसेर राज्य बिग्रिँदैछ, सुधार अभियानको थालनी नयाँ शिक्षा ऐनबाट हुन्छः सभापति थापा

शिक्षामा राजनीति घुसेर राज्य बिग्रिँदैछ, सुधार अभियानको थालनी नयाँ शिक्षा ऐनबाट हुन्छः सभापति थापा

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले समितिले शिक्षा सुधारको लागि विधेयक ल्याउनमा प्रतिवद्ध रहेको बताए र सबै सदस्यहरु सकारात्मक भए पनि केहि सदस्यहरुको फरक मत रहेको पनि बताएका छन् ।

उनले भने, ‘‘समितिले शिक्षा सुधारको लागि ऐन ल्याउने अडान लिएको छ । समितिका २७ जना सदस्यमध्ये २६ को स्पष्ट अडान हो । हामी विद्यालय शिक्षालाई सुधार गरेर अगाडि बढ्ने कुरामा प्रतिबद्ध छौं । ’’

विद्यालय शिक्षाको रूपान्तरणबाट नै देशको समग्र सुधार सम्भव हुन्छ । उनले वर्तमान समयलाई शिक्षा सुधारका लागि निर्णायक समय भन्दै आफू र आफ्नो समितिले त्यसका लागि स्पष्ट अडान लिएको जिकीर गरे । उनका अनुसार अहिलेको विद्यालय शिक्षा विधेयक समितिमा छलफलको चरणमा छ । केही विषयमा मतभेद भए पनि समितिले समग्र उद्देश्यलाई नछाड्ने निर्णय गरेको छ ।

उनले भने, ‘विगत २८ वर्षको शिक्षालाई विस्थापन गरेर नयाँ शिक्षाको रुपान्तरणकारी अवस्था ल्याएर अगाडि बढ्ने सोच हामीसँग छ । विधेयक पासमा अलिकति समय त दिनुपर्छ, त्यो समय माग्नेलाई पनि समस्या समाधान गर्ने अवसर दिनुपर्छ भन्ने हाम्रो सोच हो ।’

उच्च शिक्षाको वर्तमान अवस्थाबारे पनि उनले गम्भीर चिन्ता व्यक्त गरे । ‘गुणस्तर खस्किएको छ, निजी विद्यालयमा पढाउनेका छोराछोरी अमेरिका–युरोप जान्छन् । तर सामुदायिक विद्यालयतिर फर्किंदैनन् । उच्च शिक्षामा प्राध्यापक छैनन्, विद्यार्थी छैनन् ।’ उनले भने ।

शिक्षामा राजनीतिक हस्तक्षेपले अझै समस्या थपिएको बताउँदै थापाले भने, “विश्वविद्यालयमा ताला लगाउनेलाई कारबाही गर्ने कानुनी प्रावधान छैन । शिक्षा जस्तो संवेदनशील क्षेत्र राजनीतिले ध्वस्त पार्न थालेको छ । हामीले शिक्षा क्षेत्रबाटै राजनीतिकीकरण अन्त्य गर्ने अभियान सुरू गरेका छौं ।”

थापाले शैक्षिक हबबारे भइरहेका घोषणाहरू केवल भाषण र कागजमा सीमित रहेको भन्दै त्यसको सार्थकता खोज्न आग्रह गरे । “२०७४ सालदेखि धेरै पालिकाहरूले शैक्षिक हब घोषणा गरे—मझगढी, मंगाई, बिरेन्द्रनगर, काठमाडौं, ललितपुर तर त्यो घोषणाबाहेक काम खासै केही छैन,” उनले भने।

शैक्षिक हबको लागि कानुनी संरचना र पूर्वाधार विकास अनिवार्य रहेको बताउँदै उनले स्पष्ट गरे, “हामीसँग २०७६ को शिक्षा नीति छ । २०७५ मा अनिवार्य तथा निशुल्क शिक्षा ऐन बनिसकेको छ । अहिले विद्यालय शिक्षा ऐनको विधेयक तयार छ र समितिमा छलफल भइरहेको छ । संविधानले शिक्षालाई मौलिक हकको रूपमा लिएको छ, र विद्यालय शिक्षासम्मको जिम्मेवारी स्थानीय पालिकालाई दिइएको छ ।”

उनले शिक्षा सुधारको लागि नीति, बजेट, र राज्यको कठोर प्रतिबद्धता आवश्यक रहेको स्पष्ट पारे । ‘देश सुधार गर्न चाहनुहुन्छ भने शिक्षा सुधार गर्नुहोस् । सार्वजनिक विद्यालय सुधार्न सकियो भने नेपालका अरु विद्यालय पनि सुध्रिन्छन् अहिलेको प्रवृत्तिले हामीलाई अगाडि बढ्न दिंदैन । शिक्षामा सुधार आयो भने देश सुध्रिन्छ। शिक्षा बिग्रियो भने राज्य पनि बिग्रिन्छ ।’ थापाले भने ।

Logo