उपकप्तान पूजा महतो ‘वीरा एजुकेसन कन्सल्टेन्सी’को ब्रान्ड एम्बेसडर नियुक्त

उपकप्तान पूजा महतो ‘वीरा एजुकेसन कन्सल्टेन्सी’को ब्रान्ड एम्बेसडर नियुक्त

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान पूजा महतो ‘वीरा एजुकेसन कन्सल्टेन्सी’को ब्रान्ड एम्बेसडर बनेकी छन् । आइतबार काठमाडौंमा आयोजित एक विशेष समारोहमा वीरा एजुकेसन कन्सल्टेन्सीले पूजालाई उनको सक्रिय क्रिकेट जीवनको अवधिभरका लागि ब्रान्ड एम्बेसडरको रूपमा अनुबन्ध गरेको हो ।

कार्यक्रममा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द प्रमुख अतिथिका रूपमा उपस्थित थिए । साथै, रास्वपा सांसद तथा प्रवक्ता मनिष झा, नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका पूर्वप्रमुख प्रशिक्षक जगत टमाटा, इक्यानका अध्यक्ष शेषराज भट्टराई र नेपाल शैक्षिक परामर्श व्यवसायिक महासंघका अध्यक्ष राजेन्द्र बराल विशेष अतिथिका रूपमा सहभागी थिए ।

समारोहमा वीरा एजुकेसन कन्सल्टेन्सीकी अध्यक्ष तथा प्रबन्ध निर्देशक रेश्मा महर्जन र पूजा महतोले सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले नेपाली महिला खेलाडीहरूलाई मासिक न्यूनतम १५ हजार रुपैयाँको आर्थिक सहयोगले उनीहरूलाई आर्थिक बोझबाट मुक्त गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनले आगामी दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) भव्य रूपमा आयोजना हुने प्रतिबद्धता पनि व्यक्त गरे ।

यसैगरी रास्वपा सांसद मनिष झाले पूजाको सफलताको मुक्तकण्ठले प्रशंसा गर्दै यो अनुबन्धले नेपाली समाजमा परिवर्तनको सङ्केत गरेको बताए । उनले जनकपुरको सन्दर्भ जोड्दै ‘छोरीले जिन्स पाइन्ट लगाउँदा मिटिङ बस्नुपर्ने समाजमा’ यो अनुबन्धले नयाँ सोच र अवसरको ढोका खोलेको र महिलालाई अभिव्यक्ति स्वतन्त्रताको अवसर प्रदान गरियो भने पूजा जस्ता थुप्रै खेलाडीहरू जन्मिने पनि विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै पूजा महतोले आफ्नो क्रिकेट यात्रामा सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरिन् । वीरा एजुकेसनसँग जोडिन पाउँदा गर्व महसुस गरेको बताउँदै उनले भनिन्, “हाम्रो समाजमा ‘बेटी पढाऔं, बेटी बचाऔं’ भन्ने नारा छ, तर अब हामीले ‘बेटी पढाऔं, बेटी खेलाऔं’ भन्ने नयाँ नारा अघि बढाउनुपर्छ ।”

नेपाल शैक्षिक परामर्श व्यवसायिक महासंघका अध्यक्ष राजेन्द्र बरालले नेपाली क्रिकेट क्षेत्रका पारस खड्का, कलाकारहरू र अन्य विशिष्ट व्यक्तित्वहरूसँग शैक्षिक परामर्श संस्थाहरूको साझेदारीले खेलाडीहरूलाई आर्थिक र सामाजिक रूपमा सशक्त बनाउन योगदान पु-याएको बताए । उनले यस्ता सहकार्यले खेलाडीहरूलाई चिन्तारहित भएर देशका लागि खेल्ने प्रेरणा प्रदान गरेकोमा सन्तुष्टि व्यक्त गरे ।

इक्यानका अध्यक्ष शेषराज भट्टराईले इक्यानमा आबद्ध परामर्श संस्थाहरूले नेपाली खेलाडीहरूलाई अनुबन्ध गरी सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको उल्लेख गरे । उनले यस्ता पहलले खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु-याएको बताए ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका पूर्वप्रमुख प्रशिक्षक जगत टमाटाले पूजासँगको पहिलो भेटको सम्झना साझा गर्दै उनको समर्पण र मेहनतको प्रशंसा गरे। उनले पूजालाई नेपाली क्रिकेटलाई “पूजा” गरेर अघि बढाउन प्रेरित गर्दै भने, “तिमीले आफ्नो खेलमार्फत लाखौंको मन जितेकी छौ, र यो साझेदारीले तिमीलाई थप उचाइमा पु-याउनेछ ।”

वीरा एजुकेसन कन्सल्टेन्सीकी अध्यक्ष रेश्मा महर्जनले पूजालाई ब्रान्ड एम्बासडरको रूपमा अनुबन्ध गर्न पाउँदा आफूहरू निकै हर्षित भएको बताइन् । उनले भनेकी छन्, “पूजाको प्रेरणादायी व्यक्तित्व र उनको क्रिकेटप्रतिको समर्पणले हाम्रो संस्थाको मूल्य र मान्यतासँग मेल खान्छ । हामी उनलाई उनको क्रिकेट करियरको अन्त्यसम्म साथ दिनेछौं ।” रेश्माले यो साझेदारीले खेलकुद र शिक्षालाई जोड्ने एउटा बलियो सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिन् ।

वीरा एजुकेसन कन्सल्टेन्सी अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा स्थापित एक अग्रणी संस्था हो । विगत केही वर्षदेखि यो संस्थाले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई उच्चस्तरीय शैक्षिक र करियर परामर्श प्रदान गर्दै आएको छ । यो साझेदारीले वीरा एजुकेसनको सामाजिक उत्तरदायित्व र खेलकुदप्रतिको प्रतिबद्धतालाई थप उजागर गरेको छ ।

Logo