शैक्षिक परामर्शको नाममा ठगी, नागरिकताको दुरुपयोग र पासपोर्ट होल्ड गर्ने बढे -एसपी कविद कटुवाल

शैक्षिक परामर्शको नाममा ठगी, नागरिकताको दुरुपयोग र पासपोर्ट होल्ड गर्ने बढे -एसपी कविद कटुवाल

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कविद कटुवालले शैक्षिक परामर्शको नाममा भइरहेको ठगी, नागरिकताको दुरुपयोग र पासपोर्ट होल्ड गर्ने जस्ता गम्भीर आपराधिक क्रियाकलाप भैरहेको र यसलाई रोक्नका लागि सुरक्षा निकाय र शैक्षिक परामर्श व्यवसायीले सहकार्य गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

इक्यानद्वारा आयोजित ‘वाणिज्य विभागको अनुगमनः शैक्षिक परामर्श क्षेत्रमा सुधारका चुनौती र अवसर’ शीर्षक अन्तरक्रिया कार्यक्रममा बोल्दै एसपी कटुवालले अमुक व्यक्तिको नागरिकता दुरुपयोग गरेर संस्था दर्ता गर्ने, बैंक खाता खोल्ने र त्यसै आधारमा अमेरिका, क्यानडा वा बेलायत पठाइदिन्छु भनेर पासपोर्ट संकलन गर्ने गिरोह सक्रिय भएको खुलासा गरेका हुन् ।

उनले भने, ‘‘३–४ महिना समय लाग्छ भन्ने बहानामा विद्यार्थीहरूलाई झुलाइन्छ, पैसा असुलिन्छ र अन्ततः चेक दिइन्छ तर पछि संस्था बन्द गरी सम्बन्धित व्यक्तिहरू फरार हुने गर्दछन् । ’’

उनले यस्ता घटनाहरू नेपाल प्रहरीसमक्ष उजुरीको रूपमा आउने गरेको र अनुसन्धानबाट सम्बन्धित नागरिकताको ओनर नै अनभिज्ञ रहेको तथ्य फेला पर्ने गरेको बताए ।

त्यसैगरी नागरिकताको दुरुपयोग, पासपोर्ट लामो समय होल्ड गर्नु, शुल्कभन्दा बढी रकम असुल्नुलाई आपराधिक गतिविधिका रूपमा चित्रित गर्दै भने, ‘‘यसले शैक्षिक परामर्श क्षेत्रलाई नै बदनाम पार्ने खतरा छ।’’

एसपी कटुवालले नक्कली कागजात बनाउने र विद्यार्थी ठग्ने कार्यमा संलग्न संस्थामाथि प्रहरी गम्भीर भएर लाग्ने बताएका छन् । ‘‘शिक्षा मन्त्रालय, वाणिज्य तथा उपभोक्ता संरक्षण निकाय र अन्य नियमनकारी संस्थाहरूले कस्टमर ड्यु डिलिजेन्स (केवाइसी) प्रक्रिया कडाइका साथ लागू गर्नुपर्छ,’’ उनले भने ।

उनले सम्पत्ति शुद्धिकरणसम्बन्धी नियमनमा पनि शैक्षिक परामर्शदाताहरूको भूमिका महत्वपूर्ण हुने बताउँदै आवश्यक परे उनीहरूको विवरणसमेत सफ्टवेयरमा समावेश गर्नुपर्ने बताएका छन् ।

शैक्षिक परामर्श क्षेत्रमा भइरहेको विकृति र विसंगति हटाउन प्रहरीको स्पष्ट र कठोर हस्तक्षेप अपरिहार्य भएको उनकाे भनाइ छ ।

Skip This
Skip This
Logo