हेराल्ड ल स्कुल काठमाडौंमा कर्णाली कानुन विद्यार्थी समाजको अन्तरकलेज कानुन क्विज सम्पन्न

हेराल्ड ल स्कुल काठमाडौंमा कर्णाली कानुन विद्यार्थी समाजको अन्तरकलेज कानुन क्विज सम्पन्न

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । काठमाडौंको बसुन्धरास्थित हेराल्ड ल स्कुलमा शनिबार कर्णाली कानुन विद्यार्थी समाजको आयोजनामा “प्लस टु स्तर अन्तर कलेज स्तरीय कानून क्विज प्रतियोगिता” भव्य रूपमा सम्पन्न भएको छ।

काठमाडौं उपत्यकामा प्लस टु तहमा कानुन विषय अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरिएको उक्त प्रतियोगितामा विभिन्न १२ वटा कलेजका टिमहरूको सहभागिता रहेको थियो। समाजले स्थापना कालदेखि नै कानुनका विद्यार्थीहरूमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यसहित विविध रचनात्मक कार्यक्रमहरू गर्दै आएको छ, र सोही उद्देश्यअनुरूप यस प्रतियोगिताको आयोजना गरिएको हो।

हेराल्ड ल स्कुल काठमाडौंमा कर्णाली कानुन विद्यार्थी समाजको अन्तरकलेज कानुन क्विज सम्पन्न

कार्यक्रमको उद्घाटन प्रमुख अतिथिको रूपमा नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजय प्रसाद मिश्रले गरेका थिए । उद्घाटन मन्तव्यमा उनले कर्णाली प्रदेशमा कानुनी सचेतनाको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै, त्यहाँ अझै पनि अलिखित कानुन, प्रचलित प्रथा तथा परम्पराहरूको प्रभाव रहेकोले ती गलत अभ्यासको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

साथै, उनले पछिल्लो समय कानुनका विद्यार्थीहरूमा घोडाको जस्तो परिश्रम र सन्यासीको जस्तो आचरण कमी हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै, प्रविधिको विकास र एआईको प्रभावले यस क्षेत्रमा असर पारेको बताए ।

कार्यक्रमकै अवसरमा हेराल्ड ल स्कुलले अबदेखि कानुन विषयमा स्नातक तहको औपचारिक अध्यापन सुरु गर्ने घोषणा समेत गरेको छ। अब जुनसुकै विषयमा प्लस टु तह सकेपछि विद्यार्थीहरूले हेराल्ड ल स्कुलमा स्नातक तहको कानुनी शिक्षा हासिल गर्न सक्नेछन्, जसले कानुनी पेसाका लागि योग्य जनशक्ति तयार पार्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

दुई चरणमा सञ्चालन भएको प्रतियोगिताको अन्तिम परिणाम अनुसार, हिमालयन व्हाइट हाउस इन्टरनेसनल कलेज प्रथम, ट्रिटन कलेज द्वितीय र ऋत एकेडेमी तृतीय स्थानमा रहेका थिए। ती टिमहरूले क्रमशः रु १५,०००, १०,००० र ५,००० नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए। साथै, सहभागी सबै टिम र स्वयंसेवकहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

विजेता टिमहरूलाई बधाई दिँदै काठमाडौं बार एसोसिएसनका सदस्य अधिवक्ता राम बहादुर शाहीले विद्यार्थीहरूमा कानुनी चेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरू अपरिहार्य रहेको धारणा व्यक्त गरे ।

कर्णाली कानुन विद्यार्थी समाजकी अध्यक्ष रेखा मल्लले समापन मन्तव्य दिँदै कार्यक्रम सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन । साथै, उनले समृद्ध कर्णालीका लागि कानुनी साक्षरतालाई संस्थाको मूल उद्देश्यका रूपमा अगाडि सारेको बताउँदै, विरेन्द्रनगर, जाजरकोट लगायतका स्थानहरूमा यसअघि सम्पन्न कार्यक्रमहरूको निरन्तरतास्वरूप राजधानीमा “प्लस टु स्तर अन्तर कलेज कानुन क्विज प्रतियोगिता” आयोजना गरिएको जानकारी दिइन ।

कार्यक्रमको सञ्चालन महासचिव मिलन शाहीले गरेका थिए भने उपाध्यक्ष डिबी भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

Logo