प्रिमियर इन्टरनेसनल स्कुलमा कला प्रदर्शनीदेखि खेलकुदसम्मका गतिविधि सम्पन्न

प्रिमियर इन्टरनेसनल स्कुलमा कला प्रदर्शनीदेखि खेलकुदसम्मका गतिविधि सम्पन्न

केन्द्रबिन्दु
141
Shares

काठमाडौं । प्रिमियर इन्टरनेसनल आइबी कन्टिन्युम स्कुलले विद्यार्थीहरूको चौतर्फी विकासलाई लक्षित गर्दै विविध कार्यक्रमहरू सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय बकालोरियट शिक्षण पद्धतिअनुसार “सिर्जना गरौँ र समुदायमा योगदान दिऔँ” भन्ने मूल मर्मका साथ आयोजित यी कार्यक्रमहरूले विद्यार्थीमा नेतृत्व, उद्यमशीलता र सामाजिक उत्तरदायित्वको भावना प्रवर्द्धन गरेका छन्।

साताको सुरुआत ‘एक्सप्रेसन्स – २०२५’ भिज्युअल आर्ट्स एक्जिविसनबाट भएको थियो। अर्ली इयर्सदेखि एमवाइपी ४ सम्मका विद्यार्थीहरूले तयार पारेका चित्रकला, मूर्तिकला र मिक्स मिडियाका कलाकृतिहरू प्रदर्शनीमा राखिएका थिए।

प्रदर्शनीमा संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्य र दैनिक जीवनका सीपहरूलाई कलामार्फत जीवन्त रूपमा उतारिएको थियो। कार्यक्रममा कलाकार कोशल हमाल र शिवांगीनी राणाको विशेष उपस्थिति रहेको थियो भने विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रदर्शनीको अवलोकन गरेका थिए।

विद्यार्थीहरूमा आर्थिक साक्षरता र व्यवस्थापकीय सीप विकास गर्न ‘पीवाइपी बजार’ आयोजना गरिएकाे थियाे । साना विद्यार्थीहरूले कल्पनाशक्ति प्रयोग गरी पुनःप्रयोग गरिएका सामग्रीबाट वस्तुहरू निर्माण गरेका थिए भने माथिल्ला कक्षाका विद्यार्थीहरूले मूल्य निर्धारण, मार्केटिङ र नाफा-नोक्सानको वास्तविक बजार अनुभव बटुलेका थिए।

विशेष गरी पीवाइपी-३ का विद्यार्थीहरूले कार्यक्रमको योजना र व्यवस्थापनको नेतृत्व सम्हालेका थिए। साथै, एमवाइपी, डिपी र एनइबीका विद्यार्थीहरूले सामाजिक कामका लागि कोष जुटाउने उद्देश्यले स्टलहरू सञ्चालन गरी मानवीय सहानुभूति र जिम्मेवारीको परिचय दिएका थिए।

सिर्जनशीलतासँगै शारीरिक तन्दुरुस्तीलाई जोड्दै विद्यालयले ‘एन्युअल स्पोर्ट्स गाला २०८२’ पनि सम्पन्न गरेको छ । प्रि-स्कुलदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूले एथलेटिक्स, रिले दौड, फुटसल र बास्केटबल जस्ता खेलहरूमा उत्साहजनक सहभागिता जनाए। खेलकुदका माध्यमबाट अनुशासन, टिम वर्क र धैर्यता सिकाउने उद्देश्य राखिएको यस प्रतियोगितामा तेक्वान्दो प्रदर्शन र सांगीतिक प्रस्तुतीहरूले थप आकर्षण थपेका थिए।

सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता झल्काउँदै विद्यालयले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम पनि आयोजना गरेकाे थियाे । अभिभावक, शिक्षक र शुभेच्छुकहरूको सक्रिय सहभागितामा सम्पन्न यस कार्यक्रमसँगै विद्यार्थीहरूले विभिन्न कार्यक्रमअन्तर्गत रकम संकलन पनि गरे। आइबीडीपी विद्यार्थीहरूले सीएस (क्रिएटिभ, एक्टिभिटी, सर्भिस) अन्तर्गत, एमवाइपी विद्यार्थीहरूले सर्भिस एज एक्सन परियोजनाका लागि र एनइबी विद्यार्थीहरूले आफ्ना म्यानेजमेन्ट फेयर परियोजनाका लागि रकम संकलन गर्दै समाजप्रति जिम्मेवार नागरिक बन्ने अभ्यास गरे। यी सबै प्रयासहरूले सिकाइलाई केवल ज्ञानमा सीमित नराखी व्यवहारमा उतारिएको स्पष्ट देखाएकाे थियाे ।

एकै दिन कला, उद्यम, खेल र सेवालाई एकसाथ जोडेर आयोजना गरिएका यी गतिविधिहरूले प्रिमियर इन्टरनेसनल आइबी कन्टिन्युम स्कुलको समग्र र मूल्य–आधारित शिक्षण दृष्टिकोणलाई सशक्त रूपमा प्रस्तुत गरेको छ। यस्ता एकीकृत अनुभवमार्फत विद्यालयले सबै तहका विद्यार्थीहरूलाई आफ्नो सिकाइको जिम्मेवारी लिन, उद्देश्यसहित काम गर्न र समाजमा सकारात्मक योगदान दिन प्रेरित गरिरहेको छ।

Logo