काठमाडौं । वास्तविक जीवन किताबको पानामा मात्र सीमित नहोस् भन्ने उद्देश्यका साथ मनास्लु वर्ल्ड कलेजले आफ्नै विद्यार्थीहरूको मुख्य आयोजनामा भव्य फुड फेस्टिभल आयोजना गरेको छ ।
होटल म्यानेजमेन्ट कोर्समा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरूले कलेजकै प्रांगणमा नै स्टल व्यवस्थापनदेखि खाना पकाउने र सर्भ गर्ने कामसम्म आफैं गरेका थिए । यो कार्यक्रममा अन्य विभिन्न बीएचएमका कलेज तथा स्कुलका विद्यार्थीहरूले पनि स्टल राखेर सहभागिता जनाएका थिए भने आगन्तुकहरूले विभिन्न स्वादिष्ट परिकारहरूको मजा लिनुका साथै सांस्कृतिक कार्यक्रम र ब्याण्ड म्युजिकको पनि आनन्द लिएका थिए ।
कलेजका प्रिन्सिपल राजन श्रेष्ठले यो फुड फेस्टिभल ‘सिरिज वान’ को रूपमा आयोजना गरिएको बताउँदै यसको मुख्य उद्देश्य होटल म्यानेजमेन्टप्रति रुची राख्ने विद्यार्थीहरूलाई व्यावहारिक प्लेटफर्म उपलब्ध गराउनु रहेको उल्लेख गरे ।
यो पढेर सबै सेफ बन्ने होइनन्, तर आफ्नो घरमा वा फिल्डमा आवश्यक पर्ने सीप सिकून् भन्ने उदेश्य रहेको उनले बताए । ‘विद्यार्थीहरूले बाहिर स्पोनसर खोजेर स्टलको सबै खर्च आफैं व्यवस्थापन गरेका छन् । हामीले आवश्यक परेको बेला मात्र सहयोग गरेका छौं। विशेष क्रेडिट विद्यार्थीहरूलाई नै जान्छ । यस्तो सिरिज हामी १०० औंसम्म पुर्याउने लक्ष्य राखेका छौं ।’

त्यस्तै, कलेजका होटल म्यानेजमेन्टका लेक्चरर रोविन श्रेष्ठले नेपालभरि नै प्लस टु तहमा यस्तो कार्यक्रम दुर्लभ रहेको र यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
सन् २००९ देखि प्लस टु तहमा पढाउँदै आएका श्रेष्ठका अनुसार बीएचएम कलेजहरूमा फुड फेस्टिभल सामान्य हो, तर कक्षा ११–१२ मा यो नेपालमै कमै हुने गरेका छन् । आफैं पढाएका विद्यार्थीहरूले आफैं पकाएर सर्भ गर्दा आफू अत्यन्त उत्साहीत भएको उनको भनाइ छ ।

यस्तै, होटल म्यानेजमेन्ट फ्याकल्टीकै शिक्षिका रोजी श्रेष्ठले पनि यो कार्यक्रम ११ र १२ दुबैको कक्षाको कोर्समा नै समेटिएको बताइन् । उनले कक्षामा पढाइरहेका कुरालाई व्यवहारमा उतार्न यो फेस्टिभल आयोजना गरेका बताइन् ।
कार्यक्रमको मुख्य आयोजक तथा हस्पिटालिटी क्लबका अध्यक्ष तथा कक्षा १२ का विद्यार्थी मनीष अधिकारिले एक वर्षअघिदेखि नै योजना बनाइएको यो फेस्टिबलमा सबै साथीहरू अत्यन्त खुसी रहेको बताए । उनले भनेका छन्, ‘हामीले धेरै मेहनत गर्यौं। स्टल राख्ने सबैलाई धन्यवाद । कलेजले यति ठूलो प्लेटफर्म दिएकोमा हामी सबै खुसी छौं । सबैको मन पढाइमा मात्र हुँदैन, एक्स्ट्रा एक्टिभिटीमा पनि हुन्छ । हाम्रो कलेजले त्यसैलाई प्राथमिकता दिएको छ । अन्य कलेजहरूले पनि यस्तो प्लेटफर्म दिनुपर्छ ।’

कलेजले विभिन्न क्लबहरू गठन गरेर विद्यार्थीहरूलाई व्यावहारिक शिक्षा दिने नीति लिएको छ । मनास्लु हस्पिटालिटी क्लबको संयोजनमा सम्पन्न यो फेस्टिभलले विद्यार्थीहरूमा आत्मविश्वास मात्र होइन, भविष्यमा होटल म्यानेजमेन्ट क्षेत्रमा करियर बनाउन बलियो आधार पनि प्रदान गरेको छ । कलेज प्रशासन र विद्यार्थी दुवै पक्षले यस्ता कार्यक्रमले किताबी ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्ने बताएका छन् ।





























प्रतिक्रिया