काठमाडौं । नेपालको मन्टेश्वरी शिक्षा क्षेत्रमा एक अग्रणी संस्थाको रूपमा चिनिएको मन्टेश्वरी किन्डर वर्ल्डको २५औं ग्र्याजुएसन सफलतापूर्वक सम्पन्न भएको छ । यो समारोह विशेष गरी कक्षा १, २ र ३ का स्नातक विद्यार्थीहरूको दीक्षान्त र अभिभावक दिवसको उपलक्ष्यमा आयोजना गरिएको थियो ।
मन्टेश्वरी किन्डर वर्ल्डकी निर्देशक पवित्रा लिम्बुले समारोहमा उपस्थित सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थीहरूलाई स्वागत गरेकी थिइन् । कार्यक्रममा बोल्दै उनले बच्चाहरूले मिठो परिचय दिएर बोलाउँदा आफूलाई सधैं गर्व र खुसी महसुस हुने गरेको बताइन् ।
संस्थाको २५ वर्षे यात्रा र सामाजिक उत्तरदायित्व सहज नभएको उनकाे भनाइ छ । उनले प्रिमियर फाउन्डेसनमार्फत विपन्न बालबालिकाहरूका लागि शिक्षा पहुँचयोग्य बनाउने योजना बनाइरहेको बताएकी छन् ।
समारोहमा उनले प्रिमियर फाउन्डेसनमार्फत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूबारे जानकारी दिएकी थिइन् । ‘तातो खाना’ कार्यक्रमअन्तर्गत हरेक आइतबार निःशुल्क खाना वितरण भइरहेको छ, र अब खाजा कार्यक्रम पनि सुरु गर्ने योजना रहेको उनको भनाइ छ ।

विपन्न तथा आवश्यक परेका बालबालिकाहरूका लागि छात्रवृत्ति, शिक्षण सामग्री, पाठ्यपुस्तक र निःशुल्क शिक्षक तालिम प्रदान गरिँदै आएको छ । २५ वर्षको यो यात्रा द्वन्द्वको समयमा सुरु भएको थियो, तर अभिभावकहरूको अटुट विश्वास र साथले यो सम्भव भएको उनले बताएकी छन् ।
त्यस्तै, कार्यक्रममा बोल्दै मन्टेश्वरी किन्डर वर्ल्डका प्रबन्ध निर्देशक बसन्त थापाले मन्टेश्वरी शिक्षणको महत्वलाई जोड दिँदै मन्टेसरीमा पढ्ने बालबालिकाहरू ठूला भएपछि उनीहरू एकदमै उच्च रचनात्मकता विद्यार्थी भएर देखिने बताएका छन् । विदेशमा पनि यस्तै विधिबाट बालबालिकालाई सिकाइने भएकाले, उनीहरूको जिज्ञासा र स्वतन्त्र सोचलाई मजबुत बनाउने उनको विश्वास छ ।

उनले जब बच्चाहरूले पहिलो दिनदेखि नै ‘यो के हो, किन हो, कसरी हो ?’ भनेर सोध्न थाल्छन्, यो जिज्ञासा नै सच्चा सिकाइको आधार रहेको उनको भनाईं छ । उनले आफ्ना शिक्षकहरूको मिहिनेत अविश्वसनीय रहेको भन्दै शाखा संयोजक, शिक्षक, सहायक शिक्षक, सचिव, यातायात र सहयोगी कर्मचारी सबैलाई हार्दिक धन्यवाद दिए ।
सन् २००२ मा स्थापना भएको मन्टेश्वरी किन्डर वर्ल्ड अहिले नेपालको पहिलो र सबैभन्दा ठूलो मन्टेश्वरी प्रि–स्कूल बनेको छ । अहिले यसका पाँच शाखाहरू सञ्चालनमा छन् र ७०० भन्दा बढी बालबालिकाहरू यहाँ अध्ययनरत रहेका छन् । नेपाल मन्टेश्वरी ट्रेनिङ सेन्टरले सञ्चालन गर्ने यो चेनले मन्टेश्वरी दर्शनमा आधारित शिक्षा प्रदान गर्दै आएको छ ।































प्रतिक्रिया