काठमाडौं । नेपालको शिक्षा क्षेत्रमा स्थापित दुई प्रतिष्ठित संस्थाहरू केएमसी बागबजार र युरो स्कूल छाउनीको संयुक्त लगानीमा ज्ञानश्री स्कुल सञ्चालनमा आएको छ। काठमाडौंको नयाँ बानेश्वरस्थित लाखेचौर मार्गमा स्थापना गरिएको उक्त विद्यालयले शैक्षिक उत्कृष्टता र बालकेन्द्रित, प्रगतिशील शिक्षण पद्धतिलाई एउटै छानामुनि समेट्ने लक्ष्य लिएको छ।
विद्यालयको औपचारिक उद्घाटन समारोह आज भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा ठूलो संख्यामा विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूको उत्साहजनक उपस्थिति रहेको थियो। समारोह विद्यालय परिसरमै आयोजना गरिएको थियो।
केएमसी बागबजारले विगत २६ वर्षदेखि निर्माण गरेको शैक्षिक विरासत तथा उत्कृष्ट नतिजा र युरो स्कूलले अंगालेको अन्तर्राष्ट्रिय स्तरअनुरूपको शिक्षण पद्धति तथा नवप्रवर्तनलाई संयोजन गरी विद्यालय स्थापना गरिएको हो। क्याम्ब्रिजसम्बद्ध शैक्षिक प्रणालीमार्फत उच्च गुणस्तरको शिक्षा प्रदान गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रम विद्यालय व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष रामेश्वर अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो। अध्यक्ष अर्यालले आफ्नो मन्तव्यमा विश्वास व्यक्त गर्दै भने, “ज्ञानश्री एउटै संस्थामा शैक्षिक उत्कृष्टता र वास्तविक बालकेन्द्रित शिक्षण अनुभवलाई एकसाथ ल्याउने हाम्रो परिकल्पनाको प्रतिविम्ब हो।”
विद्यालयकी संस्थापक निर्देशक वाणी राणाले विद्यालयको उद्देश्य स्पष्ट पार्दै भनिन्, “यो विद्यालय आजका शिक्षार्थीहरूका लागि डिजाइन गरिएको हो—जहाँ जिज्ञासा, सिर्जनशीलता र आत्मविश्वासको विकास बलियो शैक्षिक आधारसँगै हुन्छ।”
यसैगरी, विद्यालयका प्रधानाध्यापक तथा संस्थापक अनिश ढकालले संयुक्त लगानीबाट विद्यार्थी तथा अभिभावकहरूले दुवै संस्थाका उत्कृष्ट पक्षहरू प्राप्त गर्ने उल्लेख गर्दै केएमसीबाट शैक्षिक मजबुती र युरो स्कूलबाट प्रगतिशील शिक्षण पद्धति प्राप्त हुने विश्वास व्यक्त गरे ।

उद्घाटन समारोहलाई जीवन्त, पारिवारिक तथा सहभागितामूलक उत्सवका रूपमा सञ्चालन गरिएको थियो। कार्यक्रममा बालबालिकाहरूका लागि अन्तरक्रियात्मक खेल, फेस पेन्टिङ, कला तथा शिल्प गतिविधिहरूका साथै अभिभावकहरूका लागि विद्यालय अवलोकन भ्रमणको व्यवस्था गरिएको थियो।

शैक्षिक दृष्टिकोण: उत्कृष्टता र प्रगतिशीलताको समागम
ज्ञानश्री स्कूलले राष्ट्रिय पाठ्यक्रमलाई क्याम्ब्रिज अन्तर्राष्ट्रिय शिक्षण पद्धतिसँग समन्वय गर्दै कार्यान्वयन गरेको छ। विद्यालयमा लागू गरिएको इनभर्स लर्निङ फ्रेमवर्क १,००० भन्दा बढी घण्टाको अनुसन्धानका आधारमा विकसित गरिएको हो। विद्यालयमा अनुसन्धानमा आधारित शिक्षण, सुक्राती संवाद, परियोजनामूलक अध्ययन तथा सहकार्यात्मक सिकाइ जस्ता आधुनिक विधिहरूलाई शिक्षाको आधारस्तम्भका रूपमा अंगालिएको छ।
कक्षा १ देखि नै विद्यार्थीहरू संरचित आलोचनात्मक चिन्तन कार्यक्रममा सहभागी हुनेछन् भने प्रारम्भिक तहमा खेलमा आधारित शिक्षण प्रणालीमार्फत जीवनोपयोगी सीपहरूको विकास गरिनेछ। हाल नर्सरीदेखि कक्षा ७ सम्म भर्ना खुला गरिएको छ।
नेतृत्व तथा व्यवस्थापन
विद्यालयको नेतृत्व अनुभवी तथा विशिष्ट शैक्षिक व्यक्तित्वहरूको टोलीले गरेको छ-
रामेश्वर अर्याल — अध्यक्ष, केएमसी शैक्षिक सञ्जाल
मनोज पराजुली — प्रबन्ध निर्देशक, युरो स्कूल छाउनी
डा. दुर्गाजङ्ग के.सी. — निर्देशक, केएमसी शैक्षिक सञ्जाल
सुरेन्द्र सुवेदी — अध्यक्ष, एमआईटी, कलेज प्रमुख एवम् डाइरेक्टर, केएमसी
वाणी राणा — शैक्षिक निर्देशक, प्रगतिशिल स्कुल संचालनमा सफल अनुभव, स्थापित पहिचान
सदीक्षा श्रेष्ठ — निर्देशक, अन्तराष्ट्रिय एवम् प्रगतिशील शिक्षण पद्दतिमा लामो शिक्षण अनुभव
अनिश ढकाल — प्रधानाध्यापक/निर्देशक ब्रिटिस शिक्षण पद्दतिमा लामो शिक्षण अनुभव
विद्यालयले सर्वाङ्गीण विकासका लागि विविध सहपाठ्य तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्नेछ। सामुदायिक सेवा, नृत्य, इनोभेसन हब, बाह्य शिक्षण, मेकर स्पेस, पठन तथा सामाजिक क्लब गरी सातवटा सिर्जनात्मक क्लबहरू सञ्चालनमा रहनेछन्।
त्यसैगरी, परियोजनामूलक सिकाइ, जिनियस आवर, सेवा शिक्षण, मेकर कार्यक्रम तथा कोडिङ जस्ता कार्यक्रमहरू पनि समावेश गरिएका छन्।
खेलकुद तथा कला क्षेत्रमा बास्केटबल, फुटबल, मिक्स्ड मार्सल आर्ट्स, एथलेटिक्स, जिम्न्यास्टिक्स, कला तथा प्रदर्शन कलाहरूको व्यवस्था गरिएको छ, जसले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व र आत्मअभिव्यक्ति सहित समग्र विकासमा सहयोग पुर्याउनेछ। साथै, संरचित करियर परामर्श तथा विश्वविद्यालय तयारी कार्यक्रममार्फत विद्यार्थीहरूलाई नेपाल तथा विदेशमा उच्च शिक्षा हासिल गर्न मार्गदर्शन प्रदान गरिनेछ।
आधुनिक पूर्वाधार
विद्यालयको भौतिक संरचना आधुनिक तथा विद्यार्थीमैत्री ढाँचामा निर्माण गरिएको छ। यहाँ प्रविधियुक्त कक्षाकोठा, आधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, संगीत तथा कला कक्ष, केन्द्रीय आँगन तथा सुरक्षित छतमा खेलकुद सुविधा उपलब्ध छन्।































प्रतिक्रिया